‘डिजिटल’ बन्दै बागमती प्रदेश

सवारी राजस्व अब अनलाइनबाट


नेपाल समाचारपत्र, हेटौंडा  । 

बागमती प्रदेश सरकारले यातायात क्षेत्रको विद्युतीय माध्यमबाट सेवाप्रवाह तथा राजस्व भुक्तानी नियमावली जारी गरी यातायात व्यवस्था सूचना प्रणाली ९ट्रान्सपोर्ट म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम टीएमआईएस शुक्रबारदेखि कार्यान्वयनमा ल्याएको छ । उक्त प्रणाली कार्यान्वयनमा ल्याउने बागमती पहिलो प्रदेश हो ।

भौतिक योजना मन्त्रालयले सवारीको अनलाइन प्रविधिबाट राजस्व भुक्तानी गर्न तयार गरेको यातायात व्यवस्थापन सूचना प्रणालीको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा मुख्यमन्त्री पौडेलले हेटौंडाका सेवाग्राही चिन्तामणि फुयाँलको मोटरसाइकलको उक्त प्रणालीमार्फत् राजस्व तिरेर यातायात व्यवस्थापन सूचना प्रणाली शुभारम्भ गर्नुभएको थियो । डिजिटल बागमती भनेअनुसार नै प्रदेश सरकार अगाडि बढेको देखिएको छ । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले २ वर्षअघि घोषणा गरेको ‘डिजिटल प्रदेश’ ले हाल गति लिन थालेको बताउनुभयो । मुख्यमन्त्री पौडेलले उक्त अभियान सफल भएपछि राजस्व वृद्धि हुुनुका साथै सेवाग्राहीको समय वचत एवम् पारदर्शी पनि हुने दाबी गर्नुभयो ।

प्रदेश सरकारको आर्थिक स्रोतको मेरुदण्डका रुपमा रहेको यातायात क्षेत्रलाई व्यवस्थित गर्न यस कार्यले सहयोग पु-याउने उहाँले बताउनुभयो । ‘सेवाग्राहीले पाउने दुःखकष्ट अब अन्त्य हुनेछ,’ उहाँले भन्नुभयो–गुमिरहेको राजस्व वृद्धिलाई पनि यस कार्यले सहयोग पु-याउने छ ।यातायात क्षेत्रलाई सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, व्यवस्थित एवम् विश्वसनीय बनाउन सवारीसधानको विवरणहरु डिजिटलाइजेसन गर्ने तथा अनलाइन सेवा प्रदान गरी सेवाप्रवाहलाई सेवाग्राहीमैत्री बनाउने सरकारको नीति लिइएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले यातायातसम्बद्ध सबै कर अब अनलाइनमा उपलब्ध इवालेट र बैंकिङ एपबाट तिर्न सकिनेबताउनुभयो । यसले ब्लुबुक नवीकरणलगायतका काम गर्न राजस्व तिर्न लाइनमा बस्नुपर्ने बाध्यता हटाउने उहाँले बताउनुभयो ।बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले बागमती प्रदेशमा दर्ता भएका सवारीको अनलाइन प्रणालीबाट राजस्व संकलन गर्ने उद्धेश्यले उक्त प्रणाली शुरु गरिएको जनाइएको छ । उक्त प्रणालीले कर निर्धारण गर्ने, इम्बोस्ड नम्बर प्रणाली, सवारी बिमा पहिचानलगायत कार्य सहज बनाएर कर प्रणालीमा सहजता आउने जनाइएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत् यातायात व्यवस्थापन तथा सेवा कार्यालय गरी ६ कार्यालयबाट यस प्रणालीमार्फत् सेवा लिन सकिने छ ।

प्रदेश सरकारको यातायात कार्यालयको वेबसाइटमा गएर यातायात सम्बन्धि सबै काम गर्न सकिने छ । अनलाइन भेटघाट, सवारी नामसारी, सवारी बिमा, आफूले तिर्नुपर्ने करको जानकारी त्यहींबाट पाउन सकिनेछ । अनलाइनबाट कर तिर्दा र बिमा गर्दा प्राप्त क्युआर कोर्ड सवारीसाधनमा टाँसेर वा बोकेर हिँड्न सकिनेछ । ट्राफिक प्रहरीले त्यही क्युआर कोर्ड प्रयोग गरेर सवारी चेक गर्न सक्नेछन् । मन्त्रालयको वेबसाइट र नागरिक एप प्रयोग गरेर सवारी सम्बन्धि सबै किसिमका कर तिर्न सकिने जनाएको छ भने सवारीधनीले सूचना प्रणालीमा आफूले प्रयोग गर्दै आएको सवारीसाधनको तिर्नुपर्ने कुनै प्रकारको करको विवरण हेर्न र भुक्तानी गर्न सक्नेछन् ।कर भुक्तानीका लागि डेबिट कार्ड तथा क्रेडिट कार्ड, मोबाइल वालेट, ईबैंकिङ जस्ता डिजिटल सेवा प्रदायकमार्फत् गर्न सकिने यातायात व्यवस्था कार्यालय हेटौंडाले जनाएको छ । यसले यातायात कार्यालयमा हुने भीडका साथै आर्थिक चलखेल रोकिने यातायात कार्यालयको विश्वास छ ।देशभरमध्ये बागमती प्रदेशमा करिब ४७ प्रतिशत् साधन दर्ता भएका छन् । प्रदेशमा आर्थिक वर्ष २०७५-६ मा १४ लाख २९ हजार १ सय ६९ सवारी दर्ता भएकोमा आव २०७६-७७ मा ९३ हजार ५ सय ७७ दर्ता भए । आव २०७७-०७८ मा १ लाख २४ हजार ३ सय ५ सवारीसाधन प्रदेशमा दर्ता भएको यातायात कार्यालयले जनाएको छ ।