नेपालगन्जमा कोठा भाडा लिएर भारतीय पत्रकारको ब्राउनसुगर कारोबार


कुमार श्रेष्ठ, बाँके

भारतीय नागरिकले नेपालगन्जमा कोठा भाडामा लिएर लागूऔषध ब्राउनसुगरको कारोबार गर्ने गरेको खुलासा भएको छ । भारतमा सहजै पाइने लागूऔषध ब्राउनसुगरलाई भारतीय नागरिकले नेपालगन्जमा कोठा भाडामा लिएर बिक्री–वितरण गर्ने गरेको खुलेको हो । यस्तो धन्दामा लाग्ने एक भारतीय पत्रकार रहेका छन् भने अर्का नेपालगन्जमा सुन पसलमा काम गर्ने व्यक्ति छन् ।

पत्रकारको परिचयपत्र भएपछि नाकामा आवत–जावत गर्न सहज हुने गर्दछ । पत्रकारलाई प्रहरीले जाँच गरेको पाइँदैन । पत्रकारको आवरणमा नेपालगन्जमा कोठा भाडामा लिएर ब्राउनसुगरको कारोबार गर्ने उत्तर प्रदेश बहराइच जिल्लाका २८ वर्षीय मो. सलमान खान रहेका छन् । उनीसँग दिल्ली क्राइम राष्ट्रिय पत्रिकाको परिचयपत्र रहेको छ । भारत लखनउका मुस्तकिम सिद्धिकी उनका कारोबारी साथी हुन् । उनीहरुले नेपालगन्जका आजाद कवडियामार्फत बिक्री गर्दै आएका थिए ।खान र सिद्धिकी नेपालगन्जको कोरियनपुरमा कोठा भाडामा लिएर बस्थे । कोठामा एसी जडान गरेर बडो ठाँटले बसेका थिए । कोठामै ब्राउनसुगर तौलिने व्यवस्था गरिएको थियो । ब्राउनसुगर तौलिने डिजिटल तराजु साथमै राखेका थिए । ग्राहकलाई जति चाहिन्छ उनीहरुले त्यहीं तौलिएर दिने गर्दथे । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले तीन महिनाको प्रयासपछि उनीहरुलाई पक्राउ गरेको छ । उनीहरुको कोठाबाट ४३ ग्राम १ सय ५० लिमिग्राम ब्राउनसुगर बरामद भएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।

भारतबाट प्रतिग्राम १ हजार ५ सय रुपियाँमा किनेर ल्याउने ब्राउनसुगर नेपालगन्जमा ३ देखि ४ हजारमा बिक्री हुने गर्दथ्यो । पत्रकारको परिचयपत्र भएका खान र नेपालगन्जको सुन पसलमा काम गर्ने सिद्धिकीले नाकाबाट सहजै ब्राउनसुगर पास गर्ने गर्दथे । नेपालगन्जमा कवडियामार्फत अम्मलीकहाँ पुग्दथ्यो ।लागूऔषध ‘च्यानल’मार्फत कारोबार हुने गर्दछ । एक जनाले नाका कटाउने, अर्कोले ग्राहकसँग डिल गर्ने र तेस्रो व्यक्तिले लागूऔषध पु-याउने गरेको पाइन्छ । दुई÷तीनवटा च्यानल पार गरेर मुख्य मान्छेसमक्ष पुग्न प्रहरीलाई गाह्रो हुने गरेको छ । यी तीन जनालाई पक्राउ गर्दा ग्राहकले १ लाख ३५ हजार रुपियाँ शो गरेपछि बल्ल उनीहरुले विश्वास गरेका थिए । र, आफ्नो अड्डामा पु-याएका थिए ।सीमामा पर्ने भएकाले नेपालगन्जमा लागूऔषधको अधिक कारोबार हुने गरेको छ । यो कुरा नेपाल र भारतीय प्रहरीलाई थाहा छ । दुई देशका अधिकारीहरुको बैठकमा यो समस्या नियन्त्रण गर्ने कुरा मुख्य बुँदा हुने गर्दछ । भारतको सीमावर्ती शहर रुपैडिहा आसपासमा व्यापकरूपमा ब्राउनसुगरको कारोबार भइरहेको नेपाली अधिकारीको बारम्बारको अनुरोधपछि दुई हप्ताअघि मात्रै भारतीय प्रहरीले रुपैडिहाबाट दुई किलो ब्राउनसुगर बरामद गरेको थियो ।

सीमावर्ती शहर नेपालगन्ज ब्राउनसुगर कारोबारको केन्द्रविन्दु मानिन्छ । यहाँबाट आसपासका जिल्ला मात्रै होइन, काठमाडौं र पोखराजस्ता ठूला शहरमा ब्राउनसुगर सप्लाई हुने गर्दछ । अहिले पक्राउ परेका व्यक्तिले भने नेपालगन्ज र आसपासका व्यक्तिलाई ब्राउनसुगर बेच्ने गरेको लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी निरीक्षक प्रकाश केसीले जानकारी दिनुभयो ।नेपालगन्ज नाकामा चौबीसै घण्टा लागूऔषध नियन्त्रण ब्युरोको टोली खटिएको छ । उसको काम भनेकै लागूऔषध कारोबारीको निगरानी गर्नु रहेको छ । त्यसका बाबजुद भारतबाट नेपालगन्जमा ब्राउनसुगर भित्रिरहेको छ । खुला नाका र थोरै सामान हुने भएकाले जहाँतहीं लुकाएर ल्याउने गरेको पाइएको छ । यी दुई भारतीयले प्रायः रिक्साबाट नै ब्राउनसुगरको ओसारपसार गरेको खुलेको छ ।लागूऔषध नियन्त्रण ब्युरो र बाँके प्रहरीले २७ दिनमा ९४ ग्राम १ सय ८० मिलिग्राम ब्राउनसुगर, २ लिटर ६ सय मिलिलिटर कोरेक्स, ३ सय ३० ट्याब्लेट नाइट्रोजेपामसहित १९ जनालाई नियन्त्रणमा लिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।लागूऔषध नियन्त्रण ऐन–२०३३ को दफा १४ (छ २) बमोजिम अहिले पक्राउ परेका व्यक्तिको हकमा १० वर्षदेखि १५ वर्ष कैद र ७५ हजारदेखि २ लाखसम्म जरिवानाको व्यवस्था रहेको छ ।

तीन लागूऔषध कारोबारी समातिए

नेपालमा बसेर अन्तर्राष्ट्रिय गिरोहलाई लागूऔषध सप्लाइ गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पकनाजोलस्थित एक होटलमा बस्दै आएका मुकुन्द खड्का, मन गुरुङ, रमेशबहादुर राना र एकराज गुरुङलाई १ करोड ५० लाख बराबरको ५ सय ग्राम कोकिन र २ किलो ४ सय ग्राम सुनसहित पक्राउ गरेको छ ।लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका खड्का, राना र गुरुङले लामो समयदेखि नेपालमा बसेर लागूऔषध कोकिनको कारोबार गर्ने गरेको सुराकी पाएपछि उनीहरुको खोजीमा जुटेको प्रहरी टोलीले उक्त लागूऔषध र सुन बरामद गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो ।