कांग्रेसको महाधिवेशनको मिति सर्ने

देशभरको वडा अधिवेशन स्थगित


मधुसूदन रायमाझी, काठमाडौं । 

नेपाली कांग्रेसको महाधिवेशनको सर्ने भएको छ । पार्टीले वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेसँगै पार्टीको घोषित महाधिवेशनको मिति पनि प्रभावित हुने भएको हो । यसअघि देशभर वडा अधिवेशन साउन १२ गतेका लागि तोकिए पनि दुई दिन बाँकी रहँदा अन्तिम समयमा आएर स्थगित भएको छ । पार्टीका नेता–कार्यकर्ता वडा अधिवेशनका लागि जुटिरहेका बेला क्रियाशील सदस्यता विवादका कारणले गर्दा अर्को कार्यतालिका सार्वजनिक नहुँदासम्मका लागि स्थगित भएको हो ।

शनिबार प्रधानमन्त्रीको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वडा अधिवेशन कहिले गर्ने भन्ने विषयमा पछि निर्णय हुने जानकारी दिनुभयो । उहाँकाअनुसार वडा अधिवेशनको कार्यतालिका प्रभावित भएपछि भदौ १६ देखि शुरू हुने केन्द्रीय महाधिवेशनका बारेमा कुनै निर्णय भएको छैन । वडा अधिवेशन स्थगन भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका पनि प्रभावित हुने भएको छ ।कांग्रेसले यसअघि १२ साउनमा वडा अधिवेशन, १६ साउनमा स्थानीय तहको अधिवेशन, २० साउनमा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । त्यसै गरी, कांग्रेसले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन साउन २३ मा, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ मा, प्रदेश अधिवेशन भदां १ र २ र केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ सम्ममा हुने कार्यतालिका सार्वजनिक गरेको थियो ।

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले अहिलेसम्म समितिले गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो । समितिले १२ साउनमा सदस्यताको अन्तिम सूची सभापति देउवालाई बुझाउने भएको छ । सभापति देउवाले हस्ताक्षर गरेपछि क्रियाशील सदस्यताको सूची केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरिनेछ । त्यसपछि निर्वाचन समितिले देशभरका सबै वडामा निर्वाचन अधिकृत खटाउनेछ ।क्रियाशील सदस्यले नै वडा समिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्नेछ । कांग्रेसको विधानमा क्षेत्रीय प्रतिनिधिले जिल्ला नेतृत्वका साथै केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने व्यवस्था छ । कांग्रेसमा १४औं महाधिवेशनमा ८ लाख ५० हजार बढी क्रियाशील सदस्य रहेका छन् ।क्रियाशील सदस्यताको विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीका नेता कार्यकर्ता केही दिनदेखि धर्नामा बसेका छन् । समितिले प्रतिवेदन तयार गरिसकेको अवस्थामा पनि धर्ना रोकिएको छैन । बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले पार्टी कार्यालयमा जारी धर्ना र अनशनको सम्बोधन गर्न निर्देशन दिनुभएको छ । उहाँले पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वसहमहामन्त्री डा. रामशरण महतलाई धर्नामा बसेकासँग वार्ता गर्ने जिम्मेवारी दिनुभएको छ ।
१० हजार क्रियाशील सदस्यता विवादमा

पार्टीको घोषित कार्यतालिकाअनुसार देशभरबाट आएको क्रियाशील सदस्यमध्ये हालसम्म ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्यहरूको नाम पार्टीले बनाएको सफ्टवेयरमा इन्ट्री भइसकेको छ । विगतको महाधिवेशनमा झै आगामी १४आंै महाधिवेशनमा पनि क्रियाशील सदस्यताको विवाद चर्किएको छ । क्रियाशील सदस्यता विवाद जिल्लादेखि पार्टी केन्द्रीय कार्यालयसम्म आइपुगेको छ ।क्रियाशील सदस्यतामा देखिएको विवादकै कारण पार्टी केन्द्रीय कार्यालयमा नेता कार्यकर्ता धर्नामै बसेका छन् । पार्टी कार्यालयमा नेता–कार्यकर्ता धर्ना बसेपछि पार्टी कार्यालयमा बस्नुपर्ने बैठक सभापतिको निजी निवासमा बसेको छ । विवाद चर्किएपछि पार्टीले गठन गरेको क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन पनि तयार गरिसकेको छ । समितिले भदौ १२ गते पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने भएको छ । प्रतिवेदन बुझाएसँगै क्रियाशील सदस्यताको विवादको अन्तिम टुंगो लाग्ने भएको छ ।

क्रियाशील सदस्यता छानबिन समितिका सदस्य प्रदीप पौडेलले विवाद भएका सदस्यताको विषयमा छानबिन गरेर प्रतिवेदन तयार पारिएको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले हाम्रो काम सकिसकेका छौं, अब पार्टीले विवाद टुंगो लगाउँछ ।’ पौडेलका अनुसार करिब १० हजार क्रियाशील सदस्यको विवाद रहेको छ । नयाँ सदस्य र नवीकरणमै उजुरी आएपछि समितिले छानबिन गरेको बताउँदै उहाँले यसअघि नै टुंगो लगाउन खोजिए पनि अन्तिम समयमा थप उजुरी आएकाले केही समय लागेको बताउनुभयो । पार्टीले समितिलाई असार २० गतेभित्र नै प्रतिवेदन बुझाउन समय दिएको थियो । सप्तरी, सिन्धुपाल्चोक, रसुवा, सर्लाही निर्वाचन क्षेत्र ४, धनुषा, महोत्तरीलगायतको जिल्लामा क्रियाशील सदस्यताको विवाद रहेको छ ।