३२औं ग्रीष्मकालीन ओलम्पिक आजबाट शुरू



कविरस शर्मा, काठमाडौं । 

विश्व खेलकुदको महाकुम्भ अर्थात् ओलम्पिकको ३२औं संस्करणको औपचारिक उद्घाटन शुक्रबारबाट साँझबाट शुरू हुँदैछ । जापानको राजधानी टोक्योस्थित ओलम्पिक स्टेडियममा नेपाली समयअनुसार पौने ५ बजेबाट ओलम्पिकको औपचारिक उद्घाटनका कार्यक्रमहरू शुरू हुनेछ । ओलम्पिकको इतिहासमा पहिलोपटक दर्शकबिना ओलम्पिक हुने भएको छ । ओलम्पिकको जुन रौनक हुनुपर्ने थियो, यसपटक भने त्यसमा कमी आउने पक्का छ । भावनाको एकता भन्ने नारा दिइएको यसपटकको ओलम्पिकको उद्घाटन समारोह अरू संस्करणको भन्दा निकै फरक हुनेछ । यसपटकको उद्घाटनमा अरू बेलाको जस्तो भिडभाड र ठूलो तामझाम नहुने बताइएको छ । उद्घाटन कार्यक्रम छोटो तर, निकै आकर्षक हुने बताइएको छ । उद्घाटन समारोहमा १५ देशको शीर्ष नेताहरूले सहभागिता जनाउनेछन् । उक्त समारोहमा कम्तिमा एक हजार जनाले मात्र सहभागिता जनाउनेछन् । कोभिडको त्रासलाई न्यूनीकरण गर्नका लागि कम संख्यामा पाहुनालाई सहभागिता गराउने योजना बनाइएको हो ।

उद्घाटन समारोहमा करिब ७० क्याबिनेटस्तरका अफिसियल र केही विशिष्ट व्यक्तिले सहभागिता जनाउने छन् । विश्वका केही देशका नेताहरूले टोक्यो ओलम्पिकमा उपस्थित हुने वचन दिइसकेकाले पनि उनीहरू त्यहाँ पुग्ने भएका हुन् । जसमा फ्रेन्च राष्ट्रपति इमानुयल मार्कोन, मंगोलियाका प्रधानमन्त्री, अमेरिकी फस्र्ट लेडी रहेका छन् । उद्घाटन समारोहमा हरेक देशबाट मात्र ६ जना अफिसियलले मार्चपासमा जान पाउनेछन् । खेलाडीको हकमा हद नतोकिए पनि धेरै देशका सीमित खेलाडी मात्र मार्च पासमा जाने सम्भावना रहेको छ ।
कोरोना संक्रमण दरमा वृद्धि भइरहँदा पनि यसपटक एघार हजारभन्दा बढी खेलाडी ओलम्पिकमा सहभागी हुँदैछन् । ओलम्पिकको औपचारिक उद्घाटन शुक्रबारबाट मात्र शुरू हुने भए पनि फुटबल र सफ्टबल गरी दुईवटा खेल भने बुधबारबाट नै शुरू भइसकेका छन् ।
यसपटकको ओलम्पिक कोभिड त्रासका कारण नराम्रोसँग प्रभावित भएको छ । केही खेलाडी तथा कर्मचारीमा संक्रमण देखिँदा अझै पनि प्रतियोगिता सफलरूपमा हुन्छ भन्नेमा अन्योलता कायमै छ । २०२० मा नै हुनुपर्ने ओलम्पिक कोरोना महामारीकै कारण एक वर्ष पछि हुन लागेको हो । तर, कोरोनाले अहिले पनि आयोजकलाई चुनौती थप्ने काम गरिरहेको छ । भेन्युमै एक खेलाडीसहित चार जनामा कोरोना देखिएपछि आयोजकलाई झनै चिन्ता बढेको छ ।

आयोजक समितिले पनि कोभिडका कारण प्रतियोगिता बीचमा नै रोकिन सक्ने सम्भावनालाई रहेको पनि बताइसकेका छन् । यस्तैमा उद्घाटनभन्दा अघिल्लो दिन मात्र ओलम्पिकको उद्घाटन समारोहका निर्देशकलाई बर्खास्त गरियो । त्यस्तै, जापानी पूर्वप्रधानमन्त्री सिन्जी आवे पनि उद्घाटनमा सहभागी नहुने भएका छन् । जसका कारण यतिबेला आयोजकलाई दबाब झन् बढेको छ । कोभिडको असर बाँकी नै रहेकाले मुख्य प्रायोजक टोयोटाले पनि प्रचार प्रसारबाट हात झिकेको छ ।अर्कोतिर जापानमा कोरोना संक्रमित हुनेहरूको ग्राफ पनि बिस्तारै उकालो लागिरहेको छ । जसका कारण धेरै जापानी नागरिकले ओलम्पिकलाई कोरोना निम्त्याउने कारण भन्दै विरोध गरिरहेका छन् । त्यहाँका नागरिकहरूले ओलम्पिक दुर्घटनाको ठूलो कारण बन्नसक्ने भन्दै विरोध गरिरहेका छन् । जापानको एउटा चर्चित पत्रिकाले पछिल्लोपटक गरेको एक सर्वेक्षणअनुसार ६७ प्रतिशत जापानीले ओलम्पिक आयोजनाप्रति असमर्थन जनाएको तथ्याङ्क सार्वजनिक गरेको थियो । नागरिक तहबाट विश्वास गुमाएपछि टोक्यो ओलम्पिकको मुख्य प्रायोजक कम्पनीले पनि ओलम्पिक खेल सम्बन्धित टेलिभिजन विज्ञापन प्रसारण नगर्ने भएको छ ।

त्यतिमात्र होइन, जनताको सहमतिबिना हुन लागेको यो प्रतियोगिताबारे आफूले बुझ्न नसकेको टोयोटाले बताएको छ । त्यस्तै, ओलम्पिक इतिहासकै सशक्त राष्ट्र रसिया भने यसपटक डोपिङ प्रकरणका कारण प्रतिबन्धमा परेकोले ओलम्पिकमा देशका रूपमा सहभागी हुने छैन । ओलम्पिकमा रसियाको राष्ट्रिय झन्डा फहराइने छैन र राष्ट्रिय गान बजाइने छैन । रसियाका खेलाडीले रसियाली ओलम्पिक कमिटीको झन्डामुनि प्रतिस्पर्धा गर्नेछन् ।

ओलम्पिकमा नेपाल

नेपालले सन् १९६४ मा जापानको राजधानी टोक्योमा सम्पन्न १८औं ग्रीष्मकालीन ओलम्पिक प्रतियोगितामा औपचारिक रूपमा पहिलोपटक सहभागिता जनाएको हो । उक्त ओलम्पिकमा नेपालबाट चारजना बक्सिङ र दुईजना धावक गरी जम्मा ६ जना खेलाडीहरूले भाग लिएका थिए ।हुनत नेपालले सन् १९५२ को हेलसिन्की ओलिम्पिकमा पहिलोपटक भाग लिएको अपुष्ट कुरा चर्चामा आउने गरेको छ । जसमा कृष्णबहादुर बर्मा र नरशमशेर जबराले सहभागिता जनाएका थिए पनि भनिन्छ ।

त्यस्तै, सन् १९६० को रोम ओलम्पिकमा पनि नेपालबाट एकजना पर्यवेक्षकलाई पठाइएको भनिन्छ । तर यी दुवै ओलम्पिकमा नेपाल सहभागी भएको कुरालाई पुष्टि गर्ने आधार भने भेटिँदैन ।सन् १९६२ मा नेपालमा ओलम्पिक कमिटीको गठन भएको थियो भने सन् १९६३ को नोभेम्बर १ मा मात्र त्यसले अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । त्यसपछि भने ओलम्पिकमा नेपालको औपचारिक यात्रा शुरू भएको हो । सन् १९६४ को अक्टोबर १० देखि २४ सम्म जापानको टोक्योमा सम्पन्न भएको १८औं टोक्यो ओलम्पिकमा नेपालबाट ६ जना खेलाडीहरूले सहभागिता जनाएका थिए । ती खेलाडीहरूमध्ये नेपाली सेनाबाट म्याराथन धावकमा भुपेन्द्र बहादुर सिलवाल र गंगा बहादुर थापा थिए । त्यस्तै, चार जना बक्सरहरू सबै ब्रिटिस सेनामा कार्यरत नेपालीहरू थिए । जसमा भीमबहादुर गुरुङ, नामिसिंह थापा, ओमप्रसाद पुन र रामप्रसाद गुरुङ थिए । उनीहरू सबै हङकङबाट टोक्यो गएका थिए र टोक्योबाट हङकङ नै फर्किएका थिए । त्यतिबेला ओलम्पिक प्रतियोगितामा नेपालले औपचारिकरूपमा पहिलोपटक सहभागिता जनाएको अवसरमा नेपाल सरकारले हुलाक टिकटसमेत जारी गरेको थियो ।सन् १९६४ मा जापानको टोक्योमा भएको ओलम्पिकमा डेब्यु गरेको नेपालले १९६८ मा बाहेक लगातार प्रतिस्पर्धा गर्दै आएको छ । नेपालले विगत पाँच दशकदेखि ओलम्पिकमा सहभागिता जनाउँदै आएको छ ।

अहिलेसम्म नेपालले ओलम्पिक प्रतिस्पर्धा भाग लिए पनि कुनै पदक जित्न नसकेको तथ्याङ्क रहेको छ । सन् १९६४ यता नेपालले अहिलेसम्म १३ पटक ओलम्पिकमा सहभागिता जनाइसकेको छ । आसन्न ओलम्पिक भने नेपालको १४औं सहभागिता हो । सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सोलमा सम्पन्न ओलम्पिकमा नेपालका विधान लामाले पदक जितेका थिए । तर, त्यो बेला तेक्वान्दोलाई प्रदर्शनी खेलमा राखिएकोले उनको पदकले मान्यता पाएन । त्यसयता सन् २००४ को एथेन्स ओलम्पिकमा नेपालबाट चर्चित तेक्वान्दो खेलाडी संगीना वैधले खुला प्रतिस्पर्धामार्फत छनोट भएर पहिलो पटक ओलम्पिक खेल्ने इतिहास रचेकी छन् ।नेपालबाट सन् १९८८ को सोल ओलम्पिकमा सबैभन्दा बढी १८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यस्तै सन् १९७६ को मोन्ट्रेल ओलम्पिकमा भने एक जना मात्र सहभागी थिए । ओलम्पिकमा केही नेपाली खेलाडीले एकभन्दा बढी पटक सहभागिता जनाएका छन् । जसमा म्याराथन धावक वैकुण्ठ मानन्धर अगाडि छन् । उनले लगातार चारपटक ओलम्पिकमा प्रतिस्पर्धा गरेका छन् । मानन्धरले १९७६ मोन्ट्रेल ओलम्पिकदेखि १९८८ सोल ओलम्पिकसम्म लगातार चारपटक प्रतिस्पर्धा गरेका थिए । सन् १९७६ मा उनी ओलम्पिकमा सहभागी हुने एक्लो नेपाली खेलाडीसमेत थिए ।त्यस्तै, हरिबहादुर रोकाया र पौडी खेलाडीद्वय प्रसिद्धजंग शाह र गौरिका सिंहले समान दुई–दुईपटक ओलम्पिकमा सहभागिता जनाउने अवसर पाएका छन् । हरिबहादुर सन् १९८८ को सोल ओलम्पिकमा एथ्लेटिक्सतर्फ मध्यम दुरीको तीन इभेन्ट्मा दौडिएका थिए भने सन् १९९२ को बार्सिलोना ओलम्पिकमा म्याराथन दौडिएका थिए । प्रसिद्धले २००८ को बेइजिङ ओलम्पिक र २०१२ को लन्डन ओलम्पिकमा सहभागिता जनाएका थिए भने गौरिकाले २०१६ को रियो ओलम्पिक र अहिले टोक्योमा भाग लिंदै छिन् ।

टोक्यो ओलम्पिकमा नेपाल

टोक्यो ओलम्पिकमा नेपालबाट चार खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । अनिवार्य कोटाअनुसार पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सका सरस्वती चौधरीका साथै वाइल्ड कार्डबाट छानिएका सुटिङ खेलाडी कल्पना परियार र जुडोकी सोनिया भट्टले टोक्योमा प्रतिस्पर्धा गर्दैछन् ।यसअघि एथ्लेटिक्सअन्तर्गत म्याराथन धावक गोपीचन्द्र पार्कीले ओलम्पिक खेल्ने पक्का भए पनि अन्तिम समयमा उनको ठाउँमा सरस्वती जापान पुगेकी हुन् । टोक्यो ओलम्पिकका लागि नेपाल ओलम्पिक कमिटीले १२ खेलाडीको नाम वाइल्ड कार्डको लागि सिफारिस गरेको थियो । त्यसमध्ये दुई खेलाडीले मात्र यसपटक अवसर पाएका हुन् । टोक्यो ओलम्पिकमा पुगेकी गौरिका सिंहको यो लगातार दोस्रो ओलम्पिक सहभागिता हुनेछ । यसअघि उनले ब्राजिलमा २०१६ मा भएको रियो ओलम्पिकमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी रियो ओलम्पिककै सबैभन्दा कान्छी खेलाडी बन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएकी थिइन् । टोक्यो ओलम्पिकमा यसपटक नेपालबाट जाने पाँच जनामध्ये चार महिला खेलाडी छन् । त्यस्तै, एलेक्स शाह एक मात्र पुरुष प्रतिस्पर्धी हुन् । उनले पनि पुरुष पौडीमा प्रतिस्पर्धा गर्नेछन् ।

गौरिका सिंह (पौडी)

१८ वर्षीया गौरिका सिंह नेपालको प्रतिनिधित्व गर्दै विभिन्न प्रतियोगितामा चर्चा बटुल्न सफल पात्र हुन् । यसपटक पनि ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने मौका उनले पाएकी छन् । लन्डनमा प्रशिक्षण लिँदै आएकी उनले लामो समय नेपालको नाम देशविदेशमा फैलाउँदै आएकी छन् । सागको ३५ वर्षे इतिहासमा एकै विधामा चारवटा स्वर्ण हात पार्ने गौरिका पहिलो खेलाडी हुन् । आठ वर्षको उमेरमा पौडीमा करिअर शुरू गरेकी गौरिकाले एकपछि अर्को गर्दै सफलता हात पार्दे आएकी छन् । सन २०१९ मा नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा चारवटा स्वर्ण जितेपछि उनलाई गोल्डेन गर्ल, जलपरीजस्ता उपनामहरू दिइएको छ ।

लन्डनमा बस्दै ओलम्पिकको तयारी गर्दै आएकी गौरिकाले २०१६ मा ब्राजिलमा भएको ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । अब उनले यस पटक कस्तो प्रदर्शन गर्ने हुन् भन्ने निकै चासोको विषय बनेको छ । उनले यस वर्षको ओलम्पिकमा एलेक्स शाहसँगै संयुक्तरूपमा नेपालको झन्डा बोक्ने पनि तय भएको छ । ओलम्पिकले यो वर्ष एकजना पुरुष र एक महिलाले सम्बद्ध राष्ट्रको झन्डा बोक्ने निर्णय गरेपछि नेपालको झन्डा दुवै खेलाडीले बोक्ने निश्चित भएको हो ।

सोनिया भट्ट (जुडो)

जुडोकी खेलाडी सोनिया भट्टले ‘वाइल्ड कार्ड’ बाट ओलम्पिक खेल्ने मौका पाएकी हुन् । उनलाई प्रशिक्षक सूर्यनारायण श्रेष्ठले ओलम्पिक तयारी गराएका हुन् । उनले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ४८ केजीमुनि तौल समूहमा कांस्यपदक जितेकी थिइन् । उनी नेपालका लागि जुडोमा विश्व च्याम्पियनसिपमा पहिलो बाउट जित्ने खेलाडी पनि हुन् । उनले २०१९ मा मोरोक्कोमा भएको विश्व जुडो च्याम्पियनसिपमा ४८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । उक्त खेलमा मोजाम्बिककी खेलाडीलाई पराजित गर्दै इतिहास रचेकी थिइन् ।
टोक्यो ओलम्पिकमा सोनियाले पहिलो चरणमा रसियाकी डोल्गोभा इरिनासँग खेल्ने भएकी छिन् । सोनियाकी प्रतिद्वन्द्वी इरिना विश्व वरीयतामा नवौं स्थानमा छिन् भने सोनिया विश्व वरीयतामा १ सय २७ औं स्थानमा छिन् । सोनियाले जुलाई २४ मा प्रतिस्पर्धा गर्नेछिन् । १३औं सागपछि भने उनी पुलिस क्लब एकेडेमीमा प्रशिक्षण गरिरहेकी थिइन् । हालै उनी पुलिस क्लबमा आबद्ध पनि भएकी छन् ।

कल्पना परियार (सुटिङ)

नेपाली सेनाकी खेलाडी कल्पना परियारले यसपटक ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै छिन् । उनले वाइल्ड कार्डबाट ओलम्पिक खेल्न पाएकी हुन् । कल्पनाले ओलम्पिकमा एक सय मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । उनी ओलम्पिक छात्रवृत्तिअन्तर्गत रहेर प्रशिक्षण गर्दै आएका हुन् । उनीलाई प्रशिक्षक असिम यादव गुरुङले प्रशिक्षण गराएका हुन् ।
उनले यसअघि एसियन गेम्स, एसियन च्याम्पियनसिप, दक्षिण एसियाली खेलकुदमा प्रतिस्पर्धा गरिसकेकी छन् । हालसम्म नेपालका तर्फबाट सातजना खेलाडीले सुटिङमा प्रतिस्पर्धा गरिसकेका छन् । कल्पना भने आठौं खेलाडीका रूपमा ओलम्पिकमा उत्रने भएकी हुन् ।

सरस्वती चौधरी (एथ्लेटिक्स)

त्रिभुवन आर्मी क्लबकी खेलाडी सरस्वती चौधरीले अन्तिम अवस्थामा आएर ओलम्पिक खेल्ने मौका पाएकी हुन् । एथ्लेटिक्सकै गोपीचन्द्र पार्कीको नाम अन्तिम समयमा काटिएपछि सरस्वती जापान पुगेकी हुन् । उनले एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । स्कुले जीवनदेखि नै उनी दौडमा सहभागी हुन थालेकी हुन् । उनी २०७० सालपछि भने व्यावसायिकरूपमा दौडिन थालेकी हुन् । क्षेत्र, राष्ट्र हुँदै उनले अब अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खेल्ने तय भएको हो ।पहिले एपीएफ क्लबमा आबद्ध भएकी उनले २०१९ को वल्र्ड च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी हुन् । विभागीय टोलीमा समावेश भएपछि भने उनको प्रदर्शनमा निकै सुधार आएको छ । उनी २०७२ सालमा एपीएफमा आबद्ध भएकी हुन् । त्यहाँ दुई वर्ष बसिन् । २०७४ सालमा भने उनी त्रिभुवन आर्मी क्लबमा आबद्ध भइन् । उनले १२औं र १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पनि सहभागिता जनाइसकेकी छन् ।

नेपाली खेलाडीको खेल तालिका

टोक्यो ओलम्पिक २०२० को उद्घाटन भएको भोलिपल्ट अर्थात् २४ जुलाईमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जुडोमा सोनिया भट्ट र सुटिङमा कल्पना परियारले नेपालको चुनौती पेश गर्नेछन् । सोनियाले महिला ४८ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन् । उनको तौल समूहको खेल दिउँसो २ः१५ बजेदेखि शुरू हुनेछ । पहिलो चरण पार गरे लगातार खेलको अन्य चरण त्यसै दिन हुनेछ । त्यस्तै सुटिङकी कल्पनाले पनि महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । उनको खेल बिहान ११ः१५ बजेदेखि शुरू हुनेछ । छनोट चरण पार गरे अन्तिम चरण साँझ नै हुनेछ ।२७ जुलाईमा नेपाली पौडी खेलाडी एलेक्स शाहले पुरुष एक सय मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछन् । उक्त इभेन्ट्स रातको १०ः१५ बजेपछि शुरू हुनेछ ।

हिट चरण पार गर्न सकेमा २८ जुलाईमा अर्काे खेल तथा त्यसमा पनि सफल भएमा २९ जुलाईमा हुने फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, २८ जुलाईमा जलपरी गौरिका सिंहले महिला एक सय मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन् । उनको हिट चरण रातको १०ः१५ बजेपछि शुरू हुनेछ । हिट चरण पार गरेमा २९ र ३० जुलाईमा उक्त इभेन्ट्सको अर्को चरणहरूमा प्रतिस्पर्धा गर्नेछिन् ।३० जुलाईमा एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले महिला एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । खेल दिनको ३ बजेपछि शुरू हुनेछ । यो टोक्यो ओलम्पिकमा नेपालका लागि अन्तिम चुनौती हुनेछ । हिट चरण पार गर्न सकेमा जुलाई ३१ मा हुने उक्त इभेन्ट्सको सेमिफाइनल र फाइनलमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्