रोबेनद्वारा फुटबलबाट सन्न्यास


लन्डन, (एजेन्सी) ।

 नेदरल्यान्ड्सका लेजेन्ड फुटबलर आर्जेन रोबेनले सक्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका छन् ।जर्मन क्लब बार्यन म्युनिखका पूर्वखेलाडी रोबेनले खेल जीवन अन्त्य गरेको घोषणा गरेका हुन् । रोबेनले एक प्रेस विज्ञप्ति जारी गर्दै आफूले सक्रिय फुटबलबाट सन्न्यास लिने निर्णय लिएको बताए । उनले सन्देशमार्फत् आफ्ना सम्पूर्ण समर्थकहरूलाई धन्यवाद दिँदै बिदा मागेका छन् । रोबेनले ३७ वर्षको उमेरमा खेल जीवन अन्त्य गर्ने निर्णय गरेका हुन् । उनले २१ वर्ष सक्रिय खेलाडीका रूपमा मैदानमा बिताए ।

रोबेनले आफ्नो करिअरमा ६ सयभन्दा बढी म्याच खेलेका छन् । बार्यनमा लामो समय बिताउँदा उनले तीन सय नौ खेलबाट एक सय ४४ गोल गरेका थिए । उनले आफ्नो करिअरको दौडान विगतमा स्पेनिस क्लब रियल मेड्रिड, इंग्लिस क्लब चेल्सीबाट पनि खेलेका थिए । उनले सन् २०१९ मै बार्यन छाडेसँगै सन्न्यास लिएका थिए । तर, पछि उनी पुनः फुटबलमा फर्किएका थिए रोबेनले अन्तर्राष्ट्रिय फुटबलबाट पनि सन् २०१७ मै सन्न्यास लिएका थिए । तर, सन्न्यास फिर्ता लिएर मैदान फर्किएको दुई वर्षपछि उनले सन्न्यास घोषणा गरेका हुन् । सन्न्यास फिर्ता लिएपछि उनले नेदरल्यान्ड्सकै क्लब ग्रोनिनजेनबाट पहिलो सिजन खेलेका थिए । उनले सो क्लबमा गत सिजनमा कुल ७ म्याच खेले ।

उनले डच टोलीका लागि कुल ९६ म्याच खेल्दै ३७ गोल गरेका थिए । उनले आफ्नो करिअरको दौडानमा कुल २९ उपाधि जितेका छन् । उनले बार्यनबाट सन् २०१३ मा च्याम्पियन्स लिग जितेका थिए । राष्ट्रिय टिमका साथमा उनका लागि सबैभन्दा ठूलो सफलता भनेको सन् २०१० को विश्वकपमा उपविजेता र २०१४ को विश्वकपमा तेस्रो स्थान हो ।