गोल्डेन ब्वाई’ को मनोनयन सार्वजनिक


रोम, (एजेन्सी) ।

युरोपियन महादेशमा युवा खेलाडीले पाउने प्रतिष्ठित र चर्चित गोल्डेन ब्वाई अवार्डका लागि शुरूवाती मनोनयन सार्वजनिक भएको छ ।
यस वर्ष दिइने यो अवार्डका लागि शुरूवाती टप–८० को मनोनयन सार्वजनिक गरिएको हो ।

यो अवार्ड इटालीको चर्चित पत्रिका ‘टुट्टो स्पोर्ट्स’ ले हरेक वर्ष प्रदान गर्दै आएको छ । यो अवार्ड युरोपियन महादेश भित्रका २१ वर्षभन्दा कम उमेरका युवा खेलाडीलाई प्रदान गरिन्छ । यस वर्ष यो अवार्डका लागि इंग्लिस क्लब आर्सेनलका बुकायो शाका, अस्ट्रियन क्लब रेडबुल साल्जवर्गका एडेयामी र स्पेनिस बार्सिलोनाका पेड्रीबीच कडा प्रतिस्पर्धा हुनेवाला छ ।

आयोजकले अहिले शुरूवातमा ८० जनाको मनोनयन घोषणा गरेको छ । पछि दोस्रो चरणमा टप–३० को सूची प्रकाशित गरेपछि अन्तिम तथा तेस्रो टप–१० बाट विजेता घोषणा गर्नेछ । यो अवार्ड विजेतालाई उदयीमान खेलाडीका रूपमा लिइन्छ । गत वर्ष २०२० मा यो अवार्ड जर्मन क्लब बोरुसिया डर्टमन्ड तथा नर्वेका अर्लिङ हल्यान्डले जितेका थिए ।