भुक्तानी भए पनि आएन भारतीय खोप


नेपाल समाचारपत्र, काठमाडौं  । 

फागुनमा नेपाल सरकारले २० लाख मात्रा खरिदका लागि अग्रिम भुक्तानी गरे पनि भारत सरकारले १० लाख मात्रा पठाएपछि बाँकी १० लाख मात्रा अहिलेसम्म पठाएको छैन । भारतीय सेनाले नेपाली सेनाका लागि भनेर १ लाख मात्रा निःशुल्क उपलब्ध गराएको छ । विश्व स्वास्थ्य संगठनको समन्वयमा कोभ्याक्सअन्तर्गत ३ लाख ४८ हजार मात्रा कोभिसिल निःशुल्क उपलब्ध गराएको थियो ।त्यसै गरी, चीन सरकारले दुईपटक गरी १८ लाख मात्रा निःशुल्क उपलब्ध गराएको थियो । सरकारले चीनसँग ४० लाख मात्रा खरिद गरेकोमा ८ लाख मात्रा पहिलो खेपमा आइसक्यो भने अन्य खोप आउने क्रम जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत असार २० गतेसम्म पहिलो मात्रा खोप लगाउनेको संख्या २६ लाख ११ हजार ८ सय ०७ रहेको छ भने दोस्रो मात्रा १० लाख ४१ हजार ३ सय ६६ जनाले लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।काठमाडौं असार २९ देखि साउन १ सम्म जम्मा १ लाख ४८ हजार ३ सय ३४ जनाले भेरोसेल खोप लगाएका छन् । २ गतेदेखि खोप नभएर खोप स्थगित गरिएको काठमाडांै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले सूचनामार्फत जानकारी गराउनुभएको थियो ।त्यसै गरी, अमेरिकी सरकारले जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८ सय ५० मात्रा कोरोनाविरुद्धको खोप उपलब्ध गराएको छ । उक्त खोप सोमबारदेखि ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउने स्वाथ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पहिलो मात्रा कोभिसिल खोप लगाएका झण्डै १० लाख जेष्ठ नागरिक र अन्य गरी १३ लाखको हाराहारीमा दोस्रो मात्रा खोपको प्रतिक्षामा ३ महिनादेखि कुरिरहेका छन् । उक्त खोपको दोस्रो मात्राका लागि कोभ्याक्सले जापान सरकारको सहयोगमा यही जुलाई अन्तिमसम्ममा १६ लाख मात्रा उपलब्ध गराउने र लगाउने योजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यता चीन सरकारले पनि थप १६ लाख मात्र भेरोसेल खोप निःशुल्क मात्रा उपलब्ध गराउने प्रतिबद्धता गरेको नेपाल सरकारले जनाएको छ ।