२६ वर्षको उमेर २७.५ इन्च उचाई भएकी महिलामा कोभिडसँगै मुटुमा प्वाल


मोतीराम तिमल्सिना, काभ्रे  । 

२६ वर्षको उमेर हुँदा २७.५ इन्च उचाई भएकी महिलामा कोभिड संक्रमण देखा परेपछि अर्काे संकट निम्तिएको छ । ‘सामान्य ज्वरो आयो, श्वासप्रश्वासमा समस्या देखियो, अक्सिजनको मात्रा पनि कम देखिए पछि अस्पताल ल्याएँ’–बाबु चिरञ्जिवीले भट्टराईले भन्नुभयो–‘अस्पताल आए पछि मात्रै थाहा भयो कोभिडसँगै मुटुमा प्वाल परिसकेको रहेछ ।’

उमेर अनुसारका उचाई नहुँदा छोरी प्रीमलामा देखिएको समस्यामा अर्काे समस्या थपिएको छ । २०७८ असार २५ गते धुलिखेल अस्पताल भर्ना गरिएकी प्रमिलालाई कोभिडसँगै निमोनिया भईसकेको थियो । परिक्षणका क्रममा उनको मुटुमा प्वाल देखिएको छ । ‘फोक्सो र मुटु दुबैमा समस्या देखिए पछि लगातार एक्स रे र औषधीहरु खरिद गर्नु प-यो जसको कारण ३० हजार भन्दा धेरै खर्च भयो’–बाबु चिरञ्जिवीले भन्नुभयो–‘सरकारले कोभिड भएका विरामीको निशुल्क उपचार गर्ने ब्यवस्था त मिलायो औषधी र अन्य परिक्षणका कारण विरामीका आफन्तलाई आर्थिक ब्यवहार पर्ने रहेछ ।’

धुलिखेल अस्पतालको कोभिड वार्डमा ६ दिनको उपचार पछि घरमै अक्सिजन चलाउने गरी विहिबार डिस्चार्ज गरिएको छ । सिन्धुपाल्चोक जिल्ला नवलपुर ईन्द्रावती गाउँपालिका वडा नम्वर ४ घर भएकी प्रमिला भट्टराईको शारिरिक समस्यासँगै देखिएको कोभिड १९ को संक्रमणले थप जोखिम निम्त्याएको हो । ‘कोभिड १९ को उपचार सकाएर विहिबार घर फर्किएका छौं, उपचार सेवा निशुल्क भने पनि उपचारको क्रममा आवश्यक औषधीहरुको खरिदका कारण आर्थिक संकट प¥यो’–प्रमिलाका बाबु चिरञ्जीवी भट्टराईले भन्नुभयो–‘सरकारले अपाङ्गता भएका ब्यक्तिहरुका लागि छुटको ब्यवस्था गरेको भए पनि प्रमिलाका लागि त्यो सहज हुन सकेन ।’ अस्पतालमा औषधी र अन्य परिक्षणमा खर्च भएको बाबु चिरञ्जिवीले बताउनु भयो ।

सिन्धुपाल्चोक नवलपुर स्थित ईन्द्रवति गाउँपालिका ४ निवासी चिरञ्जीवी भट्टराई र श्रीमती सीता भट्टराईको कोखबाट २०५२ सालमा प्रमिलाको जन्म भएको थियो । प्रमिलाको उचाइ हाल २७.५ ईन्च मात्रै छ । जन्मँदा सामान्य भए पनि एक बर्ष पछि मात्रै अपांग रहेको थाहा पाएको आमा सीता भट्टराईले बताउनु भयो । चिरञ्जीवी र सीताका प्रमिला सहित थप २ सन्तान छन । अरु सामान्य छन । प्रमिला अपाङ्ग भएको जानकारी पाएसँगै उपचारका लागि बनेपाको शिर मेमोरियल अस्पताल र बनेपाकै अपांग बाल अस्पतालमा पु¥याईएको थियो । प्रमिलाको ढाड बाङ्गो रहेकोले अप्रेसन गर्नुपर्ने सल्लाह भए पनि विभिन्न समस्याको कारण अप्रेसन हुन नसकेको बाबु चिरञ्जीवी भट्टराईले बताउनु भयो ।

प्रमिला आफै आफै हिडडुल र बोल्न सक्नुहुन्न । उहाँसँग ईसाराले कुरा गर्नु पर्छ । त्यस्तो अवस्था भए पनि प्रमिला २ बर्षको उमेर देखि नै दिसा पिसाब आउँदा संकेत गर्नुहुन्छ । परिवारका सदस्य प्रमिलासँगै हुँदा त बुझ्छन सँगै नहुँदा कपडामै दिसा पिसाव गर्नुको विकल्प छैन । ‘सधै एकनास हुँदैन त्यसकारण पनि उनि आफैलाई पनि असहज भएको हामीले महसुस गरेका छौं’–आमा सीता भट्टराईले भन्नुभयो–‘प्रमिला जिल्लामै उमेर अनुसार कम उचाई भएको नागरिकका रुपमा पुरस्कृत भएकी छिन् ।’ कोभिडसँग जुधिरहेकी प्रमिलाको परिवारले अपाङ्ग भएको नागरिकको सुविधा प्राप्त गर्न नसकेकोमा दुख ब्यक्त गरे ।

‘प्रमिलाको स्याहार सुसारमा कठिनाई छ’– आमा सीता भट्टराईले भन्नुभयो–‘संघ संस्थाहरु आउछन् जान्छन् सहयोग गर्ने आस्वासन मात्रै दिन्छन ।’ प्रमिलाका बाबु आमा र परिवारको एउटै चिन्ता छ प्रमिलाको उपचार गरेर हिँडडुल मात्रै गरि दिए हुन्थ्यो ।बाबु चिरञ्जीवी शिक्षण पेसामा हुनुहुन्छ । आमा कृषि ब्यवसायमा हुनुहुन्छ । दुबैको आम्दानीले परिवार धान्न धौ धौ भएको अवस्थामा प्रमिलाको नियमित उपचारमा समेत समस्या परेको बुबा चिरञ्जीवीले बताउनु भयो । झन थप रोग देखिए पछि उपचारका लागि कठिनाई भएको उहाँले बताउनु भयो ।