नेपाली सेनाद्धारा कर्णाली करिडोरको सडक निर्माण कार्य सम्पन्न


काठमाडौं ।

नेपाली सेनाले निर्माणको जिम्मेवारी पाएको कर्णाली करिडोरकाे खुलालु-लैफु-सलीसल्ला सडक खण्डको कार्य सम्पन्न भएको छ । नेपाली सेना कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी मिलन कार्कीले उत्तर दक्षिण व्यापारिक मार्ग हिल्सा-सिमिकोट सडक आयोजनाकाे योजना प्रमुख बिष्णुदास लामालाई कार्यक्रममा हस्तान्तरण गरेका छन्  ।

२०७१ साल चैत्र ०९ गतेबाट निर्माण शुरु गरिएको कुल १२२.७५ कि.मि. लम्बाई र औसत ६ मिटर चौडाई रहेको उक्त सडक खण्डले कालिकोट, बाजुरा र हुम्ला जिल्लालाई जोडेको छ । यस सडक खण्डको निर्माण पश्चात राष्ट्रिय सडक सञ्‍जालमा जोडिन बाँकी रहेको अन्तिम जिल्ला हुम्लाको ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका समेत उक्त सडक सञ्‍जालमा जोडिएका छन् ।

भौगोलिक विकटता, मौसमी प्रतिकुलता, कडा चट्टानयुक्त भू-बनोट आदिका कारण यस सडक खण्डलाई विशेष परिस्थितीको सडकको रुपमा परिभाषित गरि २०७१ साल चैत्र ०५ गतेको मन्त्रीपरिषद्को निर्णयबाट नेपाली सेनालाई जिम्मा दिईएको थियो ।