कारबाहीमा परेका कागजपत्रबारे एसएमएसबाटै जानकारी


नेपाल समाचारपत्र, काठमाडौं । 

के तपाईं, ट्राफिक प्रहरीको कारबाहीमा परेका कागजपत्रको बारेमा जानकारी लिन चाहनुहुन्छ ? त्यसो हो भने बिहीबारदेखि ट्राफिक प्रहरी महाशाखाले एसएमएसबाटै जानकारी दिने सेवा शुरूवात गरेको छ ।ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेपश्चात् नियन्त्रणमा लिएका कागजपत्रबारे जानकारी लिनका लागि जानकी टेक्नोलोजीले तयार पारेको डकुमेन्ट ट्रयाकिङ सिस्टम मोबाइल एसएमएसमार्फत जानकारी लिन सकिने सेवा शुरू गरेको हो ।ट्राफिक महाशाखाले दिँदै आएको सेवालाई थप प्रभावकारी, सहज एवम् सरल बनाई आम सेवाग्राहीको सुविधालाई ध्यानमा राखी प्रविधिको प्रयोगमार्फत अबदेखि ट्राफिक कारबाहीमा परेर सवारीको कागजपत्र लिन कहाँ जाने, कसरी लिने भन्ने दुविधाबाट मुक्त हुने ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

उहाँले यी सबै जानकारी लिन सेवाग्राहीले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर अंग्रेजीमा ई–चलान स्पेस आर्थिक वर्ष स्पेस चिट नम्बर टाइप गरी ३४००१ मा म्यासेज पठाएर तुरुन्त जानकारी प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाएको समेत जानकारी दिनुभयो ।डकुमेन्ट ट्रयाकिङ सिस्टमले मोबाइल एसएमएसमार्फत तुरुन्त म्यासेज सेवाग्राहीलाई पठाउने गर्दछ । सोहीअनुसार आफ्नो कागजपत्र भएको कार्यालयको जानकारी सजिलै उपलब्ध हुनेछ, कतिपय अवस्थामा ट्राफिक प्रहरीको हटलाइन १०३ व्यस्त हुने हुनाले समस्या हुने गरेको थियो, तर बिहीबारदेखि एसएमएस सिस्टमले सहज हुने उहाँले बताउनुभयो ।उपत्यकाका ४५ वटा ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघनकर्ताको कागजपत्र नियन्त्रणमा लिने गरे तापनि १७ ट्राफिक कार्यालयबाट मात्र कागजपत्र लिन सकिने व्यवस्था भएका कारण कतिपय टाढाबाट आउने चालकलाई पर्ने गरेको असुविधालाई सहज बनाउन यो सेवा प्रभावकारी हुने विश्वास महाशाखाले लिएको छ ।कार्यक्रममा बोल्दै जानकी टेक्नोलोजीका सहायक प्रबन्धक सनमदीप शाक्यले ट्राफिक प्रहरीले प्रविधिको विस्तार गरी सेवाग्राहीलाई दिने सुविधा क्रमशः बढाउँदै लगेको र यस एसएमएस सेवाले सेवाग्राहीलाई थप सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

महाशाखा फ्रि–वाईफाई जोन

वल्र्डलिंक कम्युनिकेसन प्रालिले सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा हाताभित्र फ्रि–वाईफाई जडान गरेको छ । फ्रि वाईफाई जडान भएपछि महाशाखामा आउने सेवाग्राहीले अनलाइन भुक्तानी, अनलाइन सचेतना कक्षा, अनलाइनबाटै आफ्ना परिचयपत्रको विवरण सजिलै लिन फाइदा पुगेको एसएसपी भट्टराईले बताउनुभयो ।सेवाग्राहीले वल्र्डलिंकको फ्रि–वाईफाई प्रयोग गरी एक डिभाइसमा कनेक्ट गरी २४ घण्टामा एक जीबी डाटा निःशुल्क प्रयोग गर्न सकिने वल्र्डलिंकका निर्देशक लक्ष्मण यादवले बताउनुभयो ।