बालविवाह बिरुद्ध एक्सनमा पर्सा प्रहरी


कृष्णउदास खनाल ।

वीरगन्ज, पर्सा प्रहरीले बालविवाह गर्ने बिरुद्ध कारवाहीको अभियान संचालन गरेको छ । सोही क्रममा पर्सामा प्रहरीले बालविवाह गर्ने- गराउनेमा संलग्न बेहुला सहित तीन जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेहुला , उनका बुबा र बेहुलीका बुबा रहेका छन् । बाराको प्रसौनी गाँउपालिका ५ बेलहीयाका महेश सहनीकी १७ वर्षिया छोरीसंग पर्साको पकाहामैनपुर गाँउपालिका १ धोरेका ठग सहनीका २४ वर्षिय छोरा विशाल सहनीको असार १५ गते धोरे स्थित भुटनदेवी मन्दिरमा विहे भएको थियो । नेपालको प्रचलित कानुन अनुसार उमेर नै नपुगी १७ वर्षिया बालिकाको विहे गरिएको भन्दै गाँउलेले प्रहरीमा मौखीक उजुरी दिएका थिए ।

त्यहि उजुरीको आधारमा विहे भएको १३ दिन पछि हिजो जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बेहुला विशाल , उनका बुबा ठग र बेहुलीका बुबा महेशलाइ पक्राउ गरेको पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।विहे असार १९ गते नै भएको भएपनि प्रहरीकोमा उजुरी ढिला गरि आएकाले हिजो तीन जनालाइ नियन्त्रणमा लिइएको खनालले बताउनुभयो ।उमेर नपुगी गरिने विवाह स्वत रद्ध हुने भएकाले बेहुलीलाइ भने बेहुलाको घरबाट उद्धार गरि परिवारजनको जिम्मा लगाइएको खनालले जानकारी दिनुभो ।प्रहरी हिरासतमा राखिएका तीनै जना विरुद्ध पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी मुलुकी अपराध संहिताको दफा १७३ विपरीत विवाह सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको खनालले जानकारी दिनुभयो ।

पर्सा प्रहरीले यसअघि फागुन १५ गते पनि बाल विवाह गर्ने बेहुला र उनका बुबालाइ विहे भएको २५ दिन पछि पक्राउ गरेको थियो । माघ १९ गते पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका १९ वर्षिय बेहुला र त्यहि वडाको लक्ष्मीनारायण टोलकी १७ वर्षिया बालिका बिच विहे भएको थियो । बालविवाह गर्ने १९ वर्षिय बेहुला र उनका ४६ वर्षिय बुबालाइ प्रहरीले फागुन १९ गते पक्राउ गरि मुलुकी अपराध संहिताको दफा १७३ विपरीत विवाह सम्बन्धी कसूरमा मुद्धा चलाएको थियो । जिल्लाका विभिन्न स्थानमा अझै पनि २० वर्ष उमेर पूरा नभएका युवायुतीको वालविवाह गर्ने तथा अभिभावकले गराउने गरेको भन्ने जानकारी आइरहेकाले यस सम्बन्धमा प्रहरीको गम्भीर ध्यानाकर्षण भएको प्रहरी नायव उपरिक्षक खनालले बताउनुभयो ।त्यसैले कहि पनि कसैले वालविवाह गर्न लागेको, गरिरहेको वा बालविवाह भइसकेको भएपनि प्रहरी कार्यालयमा उजुरी वा खबर गर्न आग्रह गरिएको पर्साका प्रहरी प्रवक्ता खनालले जानकारी दिनुभयो ।