नर्भिक अस्पतालको आईपीओ आउने


काठमाडौं, (नेस)

नर्भिक इन्टरनेसनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो ।

नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई बिस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको जनाएको छ ।
योसँगै नर्भिक अस्पतालको नाम यसअघिको नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज प्रालिबाट रुपान्तरित भई नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेड भएको छ ।

पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका लागि साधारण शेयरको प्राथमिक निष्कासन (आईपीओ) समेत गर्नेछ । नर्भिक अस्पताल नेपालको शेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्ने गरी काम अगाडि बढेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।