उद्यमशीलता विश्वकपका विजेता छनोट


काठमाडौं, (नेस)। 

उद्यमशीलता विश्वकप असार २५ गते भर्चुयल माध्यमबाट नेपालमा पहिलोपल्ट आयोजना गरियो । उक्त कार्यक्रममा उत्कष्ट १४ जना अन्तिम चरणका प्रतियोगीहरुले आफ्ना आइडियाहरु छनोट समितिमा राखेका थिए । जसमध्येबाट उत्कृष्ट नौ जना विशेष स्टार्टअप फाइनलका लागि छानिएका थिए । तीमध्ये अफरमाण्डू, प्याड टु गो, निर्माण, लिफ प्लस प्रालि, प्लाज्माड इन्टरप्राइज, जीवी हेल्थ प्रालि, चेली नेपाल, वर्क हब र द ग्रीन रोड । उत्कृष्ट ती सबै नौ फाइनल प्रतियोगीले छनोट समितिबाट अन्तिम चरण पूरा गरेका थिए जसमध्येबाट विजेता, फष्ट रनरअप र सेकेन्ड रनरअपको घोषणा गरिएको थियो ।

छनोट समितिमा सात जना विज्ञहरु हुनु हुन्थ्यो जसमा रुपेशकृष्ण श्रेष्ठ सहायक प्राध्यापक, काठमाडौं स्कूल अफ म्यानेजमेन्ट तथा को–फाउण्डर आइडिया स्टुडियो नेपाल, त्यस्तै जुना माथेमा को–फाउण्डर तथा प्रबन्ध निर्देशक बिल्टज् मिडिया प्रालि, उदीप श्रेष्ठ कार्यकारी निर्देशक पञ्चकन्या ग्रुप, किरण तिमल्सिना सीटीओ तथा को–फाउन्डर अर्बान गर्ल तथा यूजी केक्स, निकोलश पाण्डे– कार्यकारी निर्देशक, कालिका कन्स्ट्रक्सन, सैलजा श्रेष्ठ– निर्देशक तथा मानव संशाधन मेनेजर, नवनेपाल प्लास्टिक प्रालि र सिर्जना प्लास्टिक उद्योग र प्रविना घिमिरे कार्यकारी निर्देशक, मेटल कास्ट प्रालि हुनु हुन्थ्यो ।

नेपाल–भुटान संयुक्त इडब्लूसी २०२१ को उत्कृट नौ जनामध्ये भुटानको कम्पनी ‘द ग्रिन रोड’ विजयी हुन सफल भयो । ‘द ग्रिन रोड’बाट फाउन्डर तथा प्रबन्ध निर्देशक रिकेश गुरुङ हुनुहुन्थ्यो । उक्त कम्पनी भुटानको पहिलो रिसाइक्लिङ कम्पनी हो र जसले खेर गएको प्लास्टिकबाट सन् २०१४ को अक्टोबरदेखि सडक कालोपत्रे गर्ने काम गरिआएको छ । त्यस्ता सडकमा गरिएको कालोपत्रे टिकाउ तथा वातावरण मैत्री रहेका छन् । अहिलेसम्म सो प्रविधिबाट १०० किलोमिटर सडक कालोपत्रे भएको छ र ५४० टन खेर गएका प्लास्टिकको प्रयोग गरिएको छ ।त्यसैगरी फस्ट रनर–अपमा ‘जीवी हेल्थ’ रहन सफल भयो । जसका फाउन्डर तथा सीईओ आभूषण ज्योति कंसाकार हुनुहुन्छ । जीवी हेल्थले स्वास्थ्यसम्बन्धी प्रविधिको विकास गरी स्वास्थ्य सेवामा सुधारत्मक कार्य गरिआएको छ । त्यस्तै सेकेन्ड–रनरअप मा ‘लिफ प्लस’ नामक कम्पनी रहन सफल भयो ।‘लिफ प्लस’बाट कोवितसिंह बानियाँ हुनुहुन्थ्यो । सो कम्पनीले वातावरण तथा समाजमा उल्लेखनीय कार्य गर्दै महिला र विपन्न किसानहरुको उत्पादकत्व वृद्धि तथा प्रवद्र्धनमा संलग्न छ ।

विजेताले विश्व प्रतियोगिताकमा भाग लिन पाउनुको साथै १० लाख युएस डलर नगद पाउनेछन । साथै थप लगानीका अवसरहरुको लागि ७ लाख ५० हजार युएसडी डलर पनि सहयोग प्राप्त हुनेछ । ईडब्लुसीका माध्मयबाट अन्तर्राष्ट्रियस्तरमा लगानी गर्ने र जीवन परिवर्तन गर्न सक्ने पुरस्कार प्राप्त हुनेछ । यसले उद्यमीहरुको विभिन्न चरणहरुको मुल्याङकन गर्दछ । जसमा आईडिया स्टेज, अर्ली स्टेज, ग्रोथ स्टेज पश्चात पनि उनीहरुलाई विभिन्न स्रोत र साधन उपलब्ध गराएर अघि बढ्नका लागि सहयोग गर्दछ ।नोभेम्बर २०२१ मा सय वटा राष्ट्रिय विजेता स्टार्ट अपलाई साउदी अरबको रियाद शहरमा ईडब्लुसीमा भाग लिनका लागि स्टार्टअप बुट क्याम्पमा पठाइनेछ त्यसैका आधारमा फाइनल प्रतियोगिता मार्फत ईडब्लुसीको अन्तर्राष्ट्रिय विजेताको घोषणा हुने छ ।