निर्माण व्यवसायीको ५० अर्ब बढी रकम रोकियो


नेपाल समाचारपत्र, काठमाडौं । 

सार्वजनिक खरिदका निर्माण कार्यको म्याद छ महिना थप गर्ने आर्थिक वर्ष २०७८-७९ को वार्षिक बजेटमा उल्लेख गरिए पनि त्यसको कार्यान्वयन नभएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।आर्थिक वर्ष समाप्त हुनै लाग्दासमेत म्याद थप नभई निर्माण व्यवसायीको ठूलो भुक्तानी रोकिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासंघको भनाइ छ ।

कोभिडको जोखिमका बीच स्वास्थ्यको प्रवाह नगरी व्यवसायी तथा तीनका कामदारले काम गरेका पाँच हजारभन्दा धेरै आयोजनाको म्याद थप नभएर तीनको भुक्तानीसमेत रोकिएको महासंघले जानकारी दिएको छ । वर्तमान अवस्थामा निर्माण व्यवसायीले राज्यबाट पाउनुपर्ने करिब ५० अर्ब रुपियाँभन्दा बढी रकम नपाउँदा उनीहरू पेसाबाटै पलायन हुने अवस्था सिर्जना भइसकेको महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।‘आफ्ना निजी जायजेथा धितोमा राखेर मुलुकको भौतिक पूर्वाधार निर्माण जस्तो महत्वपूर्ण व्यवसायमा लागेका निर्माण व्यवसायीहरू चर्को आर्थिक मारमा पर्दा पनि राज्यबाटै घोषणा भएका नीति नियमहरू कार्यान्वयन नहुनु ठूलो बिडम्बनाको विषय हो’ विज्ञप्तिमा भनिएको छ । निर्माण व्यवसायीहरूले राज्यबाट पाउनु पर्ने भुक्तानी नपाउँदा उनीहरूले सरकारलाई बुझाउनुपर्ने राजस्व कर, बैंक ऋण, यन्त्र उपकरणको किस्ता बुझाउन नसकेको महासंघले जानकारी दिएको छ । त्यस्तै रड, सिमेन्ट, विटुमिन, इँट्टा, गिट्टी बालुवालगायत निर्माण समाग्रीहरूको भुक्तानीसहित आफ्ना कामदार तथा श्रमिकहरूको रकम भुक्तानी पनि व्यवसायीले गर्न नपाएको महासंघले जनाएको छ ।

निर्माण व्यवसायीको ठूलो भुक्तानी रोकिँदा धेरैको रोजीरोटी र त्यसको गम्भीर असर मुलुकको समग्र अर्थतन्त्रमा नै देखिएको महासंघको दाबी छ ।‘सरकारका तालुकदार निकायहरूले बुझ पचाई हालसम्म ५५ दशमलव ८३ प्रतिशतमात्रै पुँजीगत खर्च भएको अवस्था रहेको र व्यवसायीको बाँकी रहेको रकम सरकारले भुक्तानी गर्दा पुँजीगत खर्चमा थप ३० प्रतिशत वृद्धि भई देश विकासमा सकारात्मक टेवा पुग्ने थियो’ विज्ञप्तिमा भनिएको छ । ‘व्यवसायीले समयमै भुक्तानी पाउँदा राष्ट्रिय अर्थतन्त्रमा नगद प्रवाह बढ्ने र यसबाट समग्र अर्थतन्त्र नै चलायमान हुने अवस्था देखिएको थियो ।’ विज्ञप्तिमा अगाडि उल्लेख छ ।बजेट वक्तव्यमा उल्लेख भएअनुसार बैंक जमानत पेश गरेपछि ५० प्रतिशत धरौटी रकम फिर्ता गरिने प्रावधानको कार्यान्वयन गरी गत वर्षदेखि कोभिड–१९ का कारण असहज अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन धरौटी रकम फिर्ता भएमा बैंकमा थुप्रिएको रकम बजारमा आई सरकार र निर्माण व्यवसायी दुवैलाई राहत पुग्ने भएको हुँदा यसमा स्पष्ट गरी उक्त धरौटी रकम चाँडोभन्दा चाँडो व्यवसायीहरूले पाउने गरी आवश्यक निर्देशिका तथा नीतिगत निर्णय गरिनुपर्ने पनि महासंघको माग छ ।

म्याद थपको कार्यान्वयनको लागि यही असार २४ गते अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट निर्णय भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यान्वयन नहुनु अत्यन्त दुःखद् विषय भएको महासंघले जनाएको छ । जसले गर्दा निर्माण व्यवसायीको धरौटी जफत गर्ने, जरिवाना लगाउने, कालोसूचीमा राख्न पठाउनेलगायतका कार्य हुने महासंघको भनाइ छ । कोभिड १९ का कारण राज्य स्वयम्ले म्याद थप गर्ने गरी लिएको नीतिको मूल मर्म नै परास्त भई व्यवसायीलाई हतोत्सायी बनाउने कार्य उपर महासंघको गम्भीर आपत्ति रहेको विज्ञप्तिमा जनाइएको छ । कोभिड—१९ को चर्को कहरबीच पनि कार्य क्षेत्रमा खटिई मुलुक निर्माणमा योगदान दिएका निर्माण व्यवसायीहरूलाई प्रोत्साहित गर्नुको साटो म्याद थप नभई उनीहरूले नियम सङ्गत पाउनुपर्ने रकम भुक्तानी नभएबाट न्यूनतम् मानवीय संवेदनाकै उपहास भएको महासंघको ठहर छ । निर्माण व्यवसायीहरूको ठूलो रकम म्याद थप सहित तत्काल भुक्तानी गर्न सरकारलगायत सरोकारवाला सबै निकायमा महासंघले पटक–पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएकाले केही दिनभित्रमा नै माग सम्बोधन नभएमा देशभरका निर्माण व्यवसायीहरू सबै निर्माण कार्यहरू ठप्प पारी सशक्त आन्दोलनमा उत्रन बाध्य हुने महासंघको विज्ञप्तिमा उल्लेख छ ।