साउन ४ देखि जोन्सन एन्ड जोन्सन खोप लगाइने



काठमाडौं, (नेस)  । 

काठमाडौं जिल्लामा ४४ केन्द्रबाट साउन ४ गतेदेखि ६ गतेसम्म अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने भएको छ ।

कोभ्याक्स सुविधामार्फत प्राप्त एक मात्रा मात्र लगाए पुग्ने उक्त खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकले पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।अमेरिकी सरकारले असार २८ गते जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । खोप प्राप्त भएलगत्तै सरकारले जोन्सन एन्ड जोन्सनको खोप पूर्ण र अति अशक्त अपांगता (वर्ग क र ख) भएका नागरिकहरू, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई समेत दिने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।

मंगलबारदेखि काठमाडौंमा चीनसँग खरिद गरिएको भेरोसेल लगाउन शुरु गरिसकिएको छ । उक्त खोप ५५ वर्षदेखि माथिका नागरिक, विश्वविद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, खोप लगाउन छुटेका अत्यावश्यक सेवामा कार्यरत कर्मचारी, खोप अनिवार्य गरिएका देशमा जाने नागरिकलाई लगाउने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्