सर्वोच्चको फैसलाले विश्वमै अनौठो घटना: ओली


काठमाडौं, (नेस) ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमै पहिलोपटक बहालवाला प्रधानमन्त्रीलाई अदालतले हटाउँदै नयाँ नियुक्ति गरेको बताउनुभएको छ । उहाँले अदालतको निर्णयप्रति तीव्र असन्तुष्टि रहे पनि फैसला स्वीकार भने भएको बताउनुभएको हो । ‘जनताको बीचमा जान आँट नगर्ने । अदालत गएर मुद्दा लडेर करेसाबारीको झगडा हो यो ? विश्वमा पहिलोपटक अदालतबाट प्रधानमन्त्री तोकियो, प्रधानमन्त्री हटाइयो । यही विश्व न्यायिक प्रणालीमा अनुकरणीय भएछ भने विडम्बना भन्नुपर्ला ।’ –ओलीले भन्नुभयो ।

मंगलबार प्रधानमन्त्रीका रूपमा देशवासीलाई सम्बोधन गर्दै ओलीले अदालतको फैसला इतिहासको कडीमा परीक्षित हुन भने बाँकी रहेको बताउनुभयो । ओलीले संवैधानिक इजलासद्वारा संविधानको धारा ७६ को उपधारा ५ को सम्बन्धमा गरेको व्याख्याप्रति पनि असन्तुष्टि जनाउनुभयो । उहाँले उपधारा ५ बमोजिम सरकार बनाउन दलीय ह्विप नलाग्ने संवैधानिक इजलासको फैसलाप्रति आपत्ति जनाउनुभयो । ओलीले अदालतले संविधानको अपव्याख्या गरेको बताउँदै जसबाट राज्यका ३ अंगको सम्बन्ध खलबलिएको पनि बताउनुभयो ।
‘७ दशकदेखि नेपालको लोकतान्त्रिक आन्दोलनको विशेषता दलीय व्यवस्था पनि हो । जनताले राजनीतिक दलका घोषणापत्र हेरेर अभिमत दिएर सत्तामा पु-याउँछन् ।

तर, निर्वाचित भएको व्यक्तिलाई जुनसुकै पार्टीका उम्मेदवार भएको व्यक्तिलाई सत्तामा जान जसले पनि मतदान गर्न सक्छन्, त्यस्तो गर्दा उनीहरूमाथि कुनै ह्विप लाग्दैन जस्ता कुरा र सांसदहरू दलका प्रतिनिधि मात्र होइनन् जस्ता व्याख्याले दलीय व्यवस्थालाई पनि चुनौती दिएको छ । एउटै पार्टीका सांसद सत्ता पक्ष र प्रतिपक्ष कुनै पनि लोकतान्त्रिक प्रणालीले गर्दै गर्दैन ।’ –ओलीले भन्नुभयो ।उहाँले आफ्नो नेतृत्वको सरकार ऐतिहासिकरूपमा सफल भएको दाबी गर्दै अबको डेढ वर्षमा चुनाव हुने भएकाले पार्टीका कार्यकर्तालाई निरास नहुन पनि आग्रह गर्नुभयो ।अब देशलाई खोपको अभाव नरहेको बताउँदै आफ्नो कार्यकालमा प्राप्त खोपको व्यवस्था गरेपछि अब आजभोलिदेखि नै सरकारमा रहेकाहरूले आफंैले खोपको व्यवस्था गरे जसरी तमासा हुने टिप्पणी गर्नुभयो । ओलीले भन्नुभयो– ‘जनादेशले होइन, परमादेशका कारण आफू सरकारको जिम्मेवारीबाट बाहिरिनुपरेको छ ।’

३ वर्ष ५ महिना हाराहारीको आफ्नो कार्यकालमा संविधान कार्यान्वयन, संघीय प्रणालीको संस्थागत विकास, मुलुकको सामाजिक आर्थिक रूपान्तरण र विकास, सामाजिक न्याय, सुरक्षा, राष्ट्रियताको रक्षा र सुशासनका क्षेत्रमा दूरगामी महत्वका काम गरिएको उहाँले दाबी गर्नुभयो ।
ओलीले आफ्नै पार्टीका २६ जना अराजक सांसदका कारण प्रधानमन्त्री पद गुमाउनुपरेको बताउँदै भन्नुभयो– ‘आफ्नै दलका ती २६ जना विद्रोही मात्र नभई अराजक भएर विपक्षीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर लिएर राष्ट्रपतिको जाने काम भो, फुटबल खेलमा आफ्नो पक्षका खेलाडीलाई बल पास गर्नुपर्नेमा विपक्षी दललाई बल पास गरे, मैले राम्रा कामबाट आत्तिएर पार्टीको साधारण सदस्यबाट समेत हटाउने काम गरें ।’ सर्वोच्चको परमादेशसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेकाले ओली पदमुक्त हनुभएको छ । ओली बुधबार आफ्नो निवास भक्तपुरस्थित बालकोटमा सर्ने कार्यक्रम रहेको छ ।