भारतीय कम्पनीलाई तल्लो अरुणको सर्वेक्षण अनुमति


नेपाल समाचारपत्र, काठमाडौं ।

६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमति जारी गर्ने विषयमा लगानी बोर्ड र एसजेभीएन लिमिटेड इण्डियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक नन्दलाल शर्माले हस्ताक्षर गरेका छन् ।

पिकिङ रन अफ रिभरमा आधारित उक्त परियोजनाको अनुमानित लागत १३०० मिलियन अमेरिकी डलर ९सन् २०१७ को दररेट अनुसार० रहेको छ । २०७५ चैत १५ गते सम्पन्न लगानी सम्मेलनका अवसरमा उक्त परियोजना लगानीकर्ताबीच प्रस्तुत गर्न लगानी बोर्डको ३५औं बैठकले अनुमति दिएको थियो ।अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा २०७७ माघ १६ मा बसेको लगानी बोर्डको ४६औं बैठकले परियोजनालाई निर्माण, स्वामित्वकरण, संचालन तथा हस्तान्तरण गर्ने गरी सो प्रस्तावलाई छनोट गर्ने निर्णय गरेको थियो । त्यस्तै २०७८ असार ८ गते बसेको बोर्डको ४७औं बैठकले उक्त समझदारीपत्रको मस्यौदा स्वीकृत गरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई समझदारीपत्रमा हस्ताक्षर गरी सर्वेक्षण अनुमतिपत्र जारी गर्न अख्तियारी प्रदान गरेको थियो । समझदारीपत्रमा हस्ताक्षर भएको मितिले २ वर्षभित्र विस्तृत परियोजना अध्ययन सम्पन्न गरी लगानी बोर्डमा स्वीकृतिको लागि विस्तृत परियोजना प्रतिवेदन पेस गर्नुपर्नेछ ।

हस्ताक्षर कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री एवम् लगानी बोर्डका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले परियोजनाको निर्माण द्रुत गतिमा अघि बढ्ने विश्वास गर्दैं यसका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास दिलाउनुभयो । उहाँले समझदारीले मुलुकको आर्थिक विकासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्दै यसले सरकार मुलुकको आर्थिक विकासमा प्रतिबद्ध रहेको बताउनुभयो ।त्यस्तै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले बोर्डको सहजीकरणबाट अरुण ३ परियोजनाको कार्यान्वयन सहज भएको बताउँदै तल्लो अरुण जलविद्युत् परियोजनाका लागि समेत अधिकतम् सहजीकरण गरिने बताउनुभयो ।

ठूला रुपान्तरणकारी परियोजनामा सार्वजनिक निजी साझेदारीलाई प्रवद्र्धन र निजी लगानीलाई सहजीकरण गरी लगानी आकर्षित गर्न लगानी बोर्ड केन्द्रित रहेको पनि भट्टले बताउनुभयो ।कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक नन्दलाल शर्माले तल्लो अरुण जलविद्युत् परियोजना विकास गर्न एसजेभीएनको प्रस्तावलाई छनोट गरी आफ्नो कम्पनीप्रति विश्वास गरेका नेपाल सरकारलाई धन्यवाद् दिँदै नेपालमा अन्य जलविद्युत् परियोजना विकासमा पनि साझेदारी गर्ने अवसर मिल्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारत र नेपालबीच तल्लो अरुण जलविद्युत् परियोजनाको विकासले पूर्वाधार विकासको लागि थप महत्वपूर्ण योगदान गर्ने बताउनुभयो ।