महालक्ष्मीको बजेट पारित


ललितपुर, नेस ।

महालक्ष्मी नगरपालिकाको १०औं नगर सभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित भएको छ । आगामी आर्थिक वर्षका लागि नगरपालिकाले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १ अर्ब ९४ करोड १ हजार १ सय १६ रुपियाँ २४ पैसा विनियोजन गरिएको नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले बताउनुभयो । कुल विनियोजनमध्ये चालूतर्फ २८ दशमलव ७१ प्रतिशत र पुँजीगत तर्फ ७१ दशमलव २९ प्रतिशत रहेको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय समानीकरण अनुदानबाट १८ करोड ८४ लाख रुपियाँ, संघीय सशर्त अनुदान चालूबाट २१ करोड ५३ लाख २४ हजार रुपियाँ, संघीय सशर्त अनुदान पुँजीगतबाट १ करोड ११ लाख रुपियाँ र राजस्व बाँडफाँडबाट ८ करोड ५२ हजार मात्र रुपियाँ, प्रदेश समानीकरण अनुदानबाट १ करोड ६५ लाख २४ हजार रुपियाँ, प्रदेश सशर्त अनुदानबाट १ करोड ७४ लाख ७८ हजार राजस्व बाँडफाँडबाट २७ करोड ५२ लाख ८६ हजार १ सय १६ रुपियाँ २४ पैसा र आन्तरिक स्रोतबाट १ अर्ब ६ करोड ५१ लाख ९० हजार रुपियाँ व्यहोरिने नगरपालिकाले जनाएको छ ।नगरपालिकाले आगामी आर्थिक वर्षमा कोभिड–१९ का कारण अभिभावक गुमाएका १८ वर्ष मुनिका बालबालिकालाई शैक्षिक सहायता लगायत कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि २ करोड विनियोजन गरेको मेयर रामेश्वर श्रेष्ठले बताउनुभयो ।

त्यस्तै वडास्तरीय योजना कार्यान्वयनका लागि २५ करोड, वडा नं १ स्थित बहुउद्देश्यीय भवन निर्माण योजना र मनमोहन मेमोरियल पार्क निर्माण योजनालाई बहुवर्षीय योजना लागि २० करोड र गणेशमान पार्क निर्माण योजनाको लागि ४० लाख विनियोजन गरिएको छ । ग्वार्को लामाटार मानेदोभान सडक खण्डको आवश्यक स्थानमा यात्रु प्रतिक्षालय निर्माणको लागि ५० लाख, सामुदायिक भवन निर्माण वडा नं ३ को लागि ५० लाख श्रमिकका लागि खाद्यान्न कार्यक्रमका लागि १० लाख रुपियाँ विनियोजन गरेको छ ।त्यसैगरी व्यावसायिक कृषि प्रवद्र्धन, कृषि सामग्री तथा प्रविधि अनुदान, पकेट क्षेत्र विकास कार्यक्रम लगायत कृषि क्षेत्रको व्यावसायिकरण, विविधिकरण, वैज्ञानिकीकरण र बजारीकरणसमेत कृषि विकास कार्यक्रमतर्फ ७३ लाख रुपियाँ, पशु विकास कार्यक्रमतर्फ ३२ लाख ५५ हजार, अन्तर्राष्ट्रिय धार्मिक संग्रहालयका लागि ५० लाख, नेवारी संग्रहालयका लागि ५० लाख र तामाङ संग्रहालय निर्माणका लागि २० लाख विनियोजन गरेको छ ।

नगर क्षेत्रभित्रको आधारभूत स्वास्थ्य सेवा व्यवस्थापनअन्तर्गत विभिन्न कार्यक्रमको सञ्चालनका लागि २ करोड २३ लाख ५० हजार, सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न छात्राको शैक्षिक सहायता कार्यक्रमको लागि १८ लाख, आधारभूत र माध्यमिक शिक्षातर्फको कार्यक्रमको लागि जम्मा २ करोड विनियोजन गरेको पनि नगरपालिकाले जनाएको छ ।सार्वजनिक शौचालय निर्माणको लागि ५० लाख, सार्वजनिक जग्गा संरक्षण कार्यक्रमको लागि ३० लाख, सामाजिक समावेशीकरणका विभिन्न कार्यक्रमका लागि ५४ लाख ५० हजार विनियोजन गरिएको छ ।