इटाली ५३ वर्षपछि युरो च्याम्पियन


लन्डन, (एजेन्सी) । 

इटालीले युरोकप २०२० जित्दै युरोकपमा ५३ वर्षको लामो समयको उपाधि खडेरी समाप्त गरेको छ ।१६औं संस्करणको युरो कपको फाइनलमा ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्यान्डलाई उसैको घरेलु मैदानमा पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरमा हराउँदै इटालीले उपाधि चुमेको हो । इटालीको यो दोस्रो युरोकप उपाधि हो । इटालीले यसअघि सन् १९६८ मा पहिलोपटक युरो कप जितेको थियो । त्यसपछि यो प्रतियोगिता दोस्रोपटक जित्न ५३ वर्ष लाग्यो ।

लन्डन शहरस्थित ६० हजार दर्शक उपस्थित वेम्बली रंगशालामा आइतबार राति भएको फाइनल खेलमा इंग्लिस टिमले खेलको शुरूवातीमै अग्रता लिएको थियो । खेलको दोस्रो मिनेटमा ल्युक शाले गरेको गोलले इंग्ल्यान्ड १९६६ पछि ठूलो उपाधि जित्न अग्रसर भएको थियो । तर, इंग्ल्यान्डले त्यसलाई जोगाउन नसक्दा उपाधि गुमाउनुपरेको हो ।इटालीले दोस्रो हाफमा गोल गर्दै खेलमा पुनरागमन गरेको थियो । ६७ औं मिनेटमा लियोनार्दो बोनुचीले बराबरी गोल फर्काएका थिए । योसँगै निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकियो र खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । तर, अतिरिक्त समयमा पनि दुवैतर्फबाट कुनै गोल नभएपछि विजेताको टुंगो टाइब्रेकरमार्फत भएको थियो ।शुरूवाती ५–५ पेनाल्टीमा घरेलु टोली इंग्ल्यान्डका खेलाडी तीन वटा पेनाल्टीमा चुकेपछि इटालीले खेल ३–२ ले जित्यो । पेनाल्टी सुटआउटमा इटाली दुईवटा पेनाल्टीमा चुके पनि गोलकिपर जियानलुइजी डोनारुम्माले लगातार अन्तिम दुईवटा पेनाल्टी बचाएपछि इटालीले इंग्ल्यान्डलाई घरेलु भूमिमा स्तब्ध बनायो ।

इंग्ल्यान्डका लागि ह्यारी केन, ह्यारी मागुइरेले पेनाल्टीमा गोल गर्दा मार्कुस रासफोर्ड, जाडोन सान्चो र बुकायो साका पेनाल्टीमा असफल भएका थिए । पहिलो पेनाल्टीमा केनले त्यसपछि मागुइरेले गोल गरे । तर, तेस्रो नम्बरमा आएका मार्कुस रासफोर्डको पेनाल्टी प्रहार पोलमा लागेको थियो । चौथो नम्बरमा आएका सान्चो र पाँचौं नम्बरमा आएका साकाको पेनाल्टी प्रहार इटालियन गोलकिपरले रोकिदिए ।
यता, इटालीका लागि पहिलो पेनाल्टीमा डोमेनिको बेराडीले गोल गरे भने दोस्रो नम्बरमा आएका आन्द्रेया बेलोट्टीको पेनाल्टी इंग्लिस गोलकिपरले बचाए । त्यसपछि तेस्रो नम्बरमा आएका लियान्द्रो बोनुचीले गोल गर्दा चौथो नम्बरमा आएका फेडरिका बर्नान्डेचीले पनि गोल गर्न सफल भए । पाँचौं नम्बरमा आएका जर्जिन्होको पेनाल्टी इंग्लिस गोलकिपरले रोकेर टिमको जितको आस जीवितै राखेका थिए ।
तर, बराबरी गोल आवश्यक परेका बेला पाँचौं पेनाल्टी हान्न आएका साका चुके । यदि साकाले गोल गर्न सकेको भए सुटआउट सडन डेथमा जाने थियो । घरेलु मैदानमा तीन जना स्टार युवा खेलाडी लगातार पेनाल्टीमा चुकेपछि पहिलोपटक युरो कप घरेलु मैदानमा जित्ने इंग्ल्यान्डको सपनामाथि तुषारापात भयो ।

पुरस्कार रकम

युरोकपको उपाधि जितेको इटालीले एक करोड युरो पुरस्कारस्वरूप प्राप्त गरेको छ । त्यस्तै, उपविजेता इंग्ल्यान्डले ७० लाख युरो र सेमिफाइनलिस्ट स्पेन र डेनमार्कले समान ५० लाख युरो पुरस्कार प्राप्त गरे । क्वाटरफाइनलसम्म पुगेका चार टोलीले ३२ लाख ५० हजार युरो प्राप्त गरे भने अन्तिम १६ सम्म पुगेका आठ टोलीले प्रतिटोली २० लाख युरो प्राप्त गरेका छन् ।

इटाली ३४ खेलमा अपराजित

इटालीले आफ्नो अपराजित कुल खेल संख्या पनि ३४ पु¥याएको छ । इटालीले २०१८ को सेप्टेम्बरदेखि पराजयको मुख देख्नु परेको छैन । यसक्रममा ११ गोल बेहोरेको इटालीले विपक्षीविरुद्ध ९४ गोल गरेको छ । इटालीले यसअघि १९३५ को अक्टोबरदेखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।

रोनाल्डोलाई गोल्डेन बुट

पोर्चुगलका कप्तानसमेत रहेका फरवार्ड क्रिस्टियानो रोनाल्डोले युरो कप–२०२० को गोल्डेन बुट अवार्ड जितेका छन् । ३६ वर्षका रोनाल्डो कुल पाँच गोल र एक असिस्टसहित गोल्डेन बुट अवार्ड विजेता बनेका हुन् । पोर्चुगल अन्तिम १६ बाटै बाहिरिए पनि समूह चरणमा गरेका पाँच गोलका आधारमा रोनाल्डोले गोल्डेन बुटमा बाजी मार्न सफल भएका हुन् ।आइतबार राति भएको फाइनल खेलमा इटाली र इंग्ल्यान्ड भिड्दा रोनाल्डोलाई गोल्डेन बुटमा माथ दिन सक्ने अनुमान गरिएका इंग्ल्यान्डका केन गोलविहीन बनेपछि रोनाल्डोले गोल्डेन बुट आफ्नो नाममा लेखाए । रोनाल्डोले चार खेलबाट पाँच गोल गर्ने क्रममा सबै गोल समूह चरणमा गरेका हुन् । जसमा तीन पेनाल्टी गोल थिए । उनले पहिलो खेलमा हंगेरीविरुद्ध दुई गोल गरे भने दोस्रो खेलमा जर्मनीविरुद्ध एक गोल गरेका थिए । त्यसपछि समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध दुई गोल गरेका थिए । अन्तिम १६ मा पोर्चुगल बेल्जियमसँग १–० ले हार्दा रोनाल्डो गोलविहीन भएका थिए ।

युरो कप २०२० मा पोर्चुगलले जम्मा सात गोल गर्दा रोनाल्डो एक्लैले पाँच गोल गरेका थिए । पोर्चुगलको सिंगो टिमले गरेका सात गोलमध्ये रोनाल्डो प्रत्यक्ष सहभागी नभएको गोल एउटा मात्रै हो । समूह चरणमा उत्कृष्ट लयमा प्रर्दशन गरेका रोनाल्डोले दबाबपूर्ण खेलमा फ्रान्सविरुद्ध दुई गोल पेनाल्टीमार्फत् गरेका थिए । तर, अन्तिम १६ मा बेल्जियम तगारो बनिदियो ।गोल्डेन बुट होडमा रहेका चेक रिपब्लिकका युवा खेलाडी प्याट्रिक सिकका नाममा पाँच गोल भए पनि एक असिस्ट गरेका आधारमा रोनाल्डो गोल्डेन बुट विजेता बने । युइएफएको नियमअनुसार गोलसंख्या बराबरी भए असिस्ट निर्णायक हुन्छ । चार गोल गरेका फ्रान्सका करिम बेन्जेमा सर्वाधिक गोलकर्ताको सूचीमा तेस्रोमा रहे । चार गोल गर्नेमा युरोको उपविजेता इंग्ल्यान्डका कप्तान ह्यारी केन, बेल्जियमका रोमेलु लुकाकु र स्वीडेनका इमिल फोर्सवर्ग रहेका थिए ।

यसैगरी, युरो कपबाट रोनाल्डोले गरेका पाँच गोलको मद्दतमा उनले फुटबल इतिहासमा इरानका अली दाइका नाममा रहेको सर्वाधिक १०९ गोलको अन्तर्राष्ट्रिय गोल रेकर्डसँग पनि बराबरी गरेका थिए । अब उनले एक गोल गरेमा उनी इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडी बन्नेछन् ।

डोनारुम्मा सर्वोत्कृष्ट खेलाडी

 

इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्मा युरो कप २०२० प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । जियानलुइजी युरोकपमा प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड प्राप्त गर्ने पहिलो गोलकिपर बनेका छन् । यूईएफए युरो २०२० को प्राविधिक समितिले उनलाई सर्वोत्कृष्ट खेलाडी चुनेको हो । २२ वर्षीय डोनारुम्माले फाइनलमा सानदार प्रदर्शन गरेपछि इटालीले दोस्रोपटक युरोको उपाधि जितेको थियो । टाइब्रेकरमा इटालीले जित हासिल गर्दा उनले दुई पेनाल्टी प्रहार रोकेका थिए ।

युरोको सात खेलमा सात सय १९ मिनेट खेलेका उनले तीन क्लिनसिट राख्दै चार गोल मात्र बेहोरेका थिए । उनले यसक्रममा नौ वटा बचाउसमेत गरेका थिए । डोनारुम्माले सेमिफाइनलमा स्पेन र फाइनलमा इंग्ल्यान्डविरुद्ध टाइब्रेकरमा निर्णायक भूमिका खेलेका थिए ।
समूह चरणमा कुनै गोल नखाएका डोनारुम्माले समग्रमा अन्तर्राष्ट्रिय फुटबलमा एक हजार मिनेटभन्दा बढी गोल नखाने कीर्तिमानसमेत बनाएका थिए । उनले व्यक्तिगत र टोलीको महत्वपूर्ण सदस्यको रूपमा गरेको प्रदर्शनलाई आधार मान्दै प्राविधिक समितिले उनलाई उत्कृष्ट खेलाडी चुनेको हो ।

पेड्री उत्कृष्ट युवा खेलाडी


स्पेनिस मिडफिल्डर पेड्री १६औं संस्करणको युरो कप च्याम्पियनसिपको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । क्याटलान क्लब बार्सिलोनाका पेड्री योङ प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएका हुन् । १८ वर्षीय पेड्री यो अवार्ड पाउने दोस्रो खेलाडी हुन् । यसअघि सन् २०१६ मा पोर्चुगलका रेनाटो सान्चेजले यो अवार्ड जितेका थिए । यस विधाको अवार्ड शुरूवात सोही संस्करणबाट नै भएको थियो ।
तथ्यांकमा:

–इटालीले दोस्रो युरोपियन च्याम्पियनसिपको उपाधि जित्न ५३ वर्ष पर्खनुपरेको थियो । यो स्पेनपछि लामो समयपछि उपाधि जितेको अवसर थियो । स्पेनले १९६४ पछि दोस्रो उपाधि जित्न ४४ वर्ष पर्खेको थियो । स्पेन २००८ मा युरो विजेता बनेको थियो ।

–इंग्ल्यान्ड ५५ वर्षपछि कुनै पनि ठूला प्रतियोगिताको (विश्वकप र युरोकप) फाइनलमा पुगेको थियो । १९६६ को विश्वकप जितेपछि इंग्ल्यान्डको युरो २०२० दोस्रो ठूलो फाइनल थियो ।

–ल्युक शाले गरेको गोल युरोपियन च्याम्पियनसिप फाइनलमा सबैभन्दा छिटो भएको गोल थियो । इंग्ल्यान्डको लागि शाले खेल शुरू भएको एक मिनेट ५७ सेकेण्डमा गोल गरेका थिए ।

–इटालीका लियोनार्दो बोनुची युरोपियन च्याम्पियनसिप फाइनलमा गोल गर्ने पाको खेलाडी बनेका छन् । बोनुचीले गोल गर्दा ३४ वर्ष ७१ दिनको उमेरमा थिए । उनी विश्वकप र युरो कपमा गरी फाइनलमा गोल गर्ने युरोपियन राष्ट्रका दोस्रो पाको खेलाडीसमेत बने । यसअघि १९५८ विश्वकप फाइनलमा स्वीडेनका निल्स लिडहोल्म ब्राजिलविरुद्ध गोल गर्दा ३५ वर्ष २६४ दिनका थिए ।

माउरिन्होले सोधे–स्टर्लिङ, स्टोन, शा खोई ?
इंग्ल्यान्डको टिम ५५ वर्षपछि युरोपको ठूलो उपाधि जित्न असफल भएपछि प्रशिक्षक जोजे माउरिन्होले प्रश्न गरेका छन् । म्यानचेस्टर युनाइटेड, चेल्सी, रियल मेड्रिडका मेनेजर भइसकेका माउरिन्होले पाँचौं पेनाल्टी बुकायो साकालाई हान्न लगाउनेमा आश्चर्य प्रकट गरेका थिए । उनले बताए कि युवा खेलाडीलाई महत्वपूर्ण पेनाल्टी हान्न दिनु नै इंग्ल्यान्ड टिम उपाधिबाट विमुख हुनुपरेको थियो ।उनले टक स्पोर्टलाई बताए–‘पाँचांै पेनाल्टी हान्नको लागि अनुभवी खेलाडी आवश्यक थियो । साकाले इटालीका गोलकिपर जियानलुइगी डोनारुमालाई छक्याउन सकेनन् । पाँचांै पेनाल्टीका लागि धेरैजसो टिमले अनुभवी खेलाडीलाई जिम्मा लगाएको हुन्छ । यस्तो स्थितिमा रहिम स्टर्लिङ खोई ? जोन स्टोन्स कहाँ थिए ? अनि ल्युक शा कहाँ थिए ? अतिरिक्त समयसम्म जोर्डान हेन्डरसन वा काएल वाल्कर किन नबसेका ?’

पोर्चुगिज माउरिन्होले यस्तो अवस्थामा बच्चाहरूलाई धेरै नै जिम्मेवारी दिएको बताए । उनले भने–‘म गेरेथ साउथगेटलाई प्रश्न सोध्न चाहन्छु किनभने हुनुपर्ने खेलाडीहरू अन्तिम सम्म रहेनन्, नहुनु पर्ने खेलाडी अन्तिमसम्म रहे, उत्तरदायित्व लिनुपर्ने खेलाडीहरू पनि भागेका छन् । विचरा साकालाई पुरै जिम्मेवारी दिइयो, यो त अति नै भयो । यस नतिजाको लागि उनलाई सरी भन्नेबाहेक अरू शब्द मसँग छैन ।’