जोकोभिच विश्व कीर्तिमान बराबरीमा


लन्डन, (एजेन्सी)। 

सर्बियाका खेलाडी नोभाक जोकोभिचले रोजर फेडरर र राफाल नाडालको विश्व कीर्तिमानीसँग बराबरी गरेका छन् ।विश्व नम्बर एक जोकोभिचले आइतबार विम्बल्डन उपाधि जित्दै स्विट्जरल्यान्डका फेडरर र स्पेनका नाडाल बराबरी गर्न सफल भएका हुन् । उनले फाइनल खेलमा इटालीका मेटियो बेरेटीनीलाई ६–७, ६–४, ६–४, ६–३ ले हराए । यो जितसँगै उनले करियरमा २० ग्रान्डस्लाम उपाधि बटुलेका हुन् । साथै अब मेन्स सिंगल्स टेनिसका बिग थ्री खेलाडी जोकोभिच, फेडरर र नाडाल समान २० ग्रान्डस्लाम उपाधि विजेता बनेका छन् ।

जोकोभिच ओपन इरामा विम्बल्डन उपाधि ६ पटक जित्ने तेस्रो खेलाडी हुन् । फेडररले ८ पटक र अमेरिकाका लिजेन्ड खेलाडी पिट साम्प्रासले ७ पटक विम्बल्डन उपाधि जितेका छन् । जोकोभिचले फेडररलाई ३ पटक (२०१४, २०१५, २०१६) हराएर विम्बल्डन उपाधि जितेका थिए ।

यसवर्ष तीन ग्रान्डस्लाम जिते
जोकोभिचले यस वर्ष भएका तीनै वटा ग्रान्डस्लाम प्रतियोगितामा उपाधि जितेका छन् । हरेक वर्ष चारवटा ग्रान्डस्लाम प्रतियोगिता आयोजना हुन्छन् । यसमध्ये जनवरीमा अस्टे«लियन ओपन, मेमा फ्रेन्च ओपन र जुलाईमा विम्बल्डन आयोजना भइसकेका छन् । यी तीनै ग्रान्डस्लाम ट्रफीमा जोकोभिचले आफ्नो नाम लेखाएका छन् । अब सेप्टेम्बरमा चौथो ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपन हुँदैछ । यो पनि जितेमा उनले एकै क्यालेन्डरमा (एकै वर्ष) चारै वटा ग्रान्डस्लाम जित्नेछन् । यदि, यसो भएमा उनी एकै क्यालेन्डरमा चार ग्रान्डस्लाम जित्ने तेस्रो खेलाडी बन्नेछन् । यसअघि डान बजले १९३८ मा, रड लेभरले १९६२ र १९६९ मा यस्तो अवसर प्राप्त गरेका थिए ।