अप्रिय भए पनि फैसला मान्ने एमालेको निर्णय


काठमाडौं, (नेस) । 

नेकपा एमालेले सर्वोच्च अदालतको फैसला अप्रिय र त्रुटिपूर्ण भए पनि कार्यान्वयन गर्ने निर्णय गरेको छ । अदालतको फैसलापछि बसेको पार्टीको स्थायी कमिटीको बैठकले अदालतको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

एमालेले अदालतको फैसलाले ३२ वर्षअघि समाप्त भएको निर्दलीय व्यवस्थालाई पुनः अहिले जस्केलाबाट छिराउने कुचेष्टा भएको निष्कर्ष निकालेको छ ।एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको आधारभूत संरचनालाई निकै खलबल्याउने काम गरेको बताउनुभयो । उहाँले विधायिका, कार्यपालिका र न्यायपालिकाबीचको सन्तुलन र समन्वयले मात्र लोकतन्त्र दिगो हुने बताउँदै अदालतको फैसलाले शक्ति सन्तुलनको पिलरलाई निकै हल्लाइदिने बताउनुभयो ।

‘अदालतको फैसला अप्रिय भए पनि त्रुटिपूर्ण भए पनि कार्यान्वय गर्छांै, तर जुन दिशातिर र प्रणालीतर्फ राष्ट्रिय राजनीतिलाई लैजान खोजेको छ, एकदमै चिन्तित भएका छौं ।’ –उहाँले भन्नुभयो । मंगलबार बस्ने पार्टीको स्थायी कमिटी बैठकले आधिकारिक धारणा तय गर्ने ज्ञवालीले जानकारी दिनुभयो ।