आखेटोपहारसहित तीन पक्राउ

770
Shares

नेपाल समाचारपत्र, बाँके । 

बाँके प्रहरीले नेपालगन्जको बसपार्कस्थित राप्ती गेस्ट हाउसबाट रेडपान्डाको छाला र भालुको पित्तसहित तीन जनालाई पक्राउ गरेको छ । गेस्ट हाउसको १० नम्बर कोठामा बसेका दाङका तीन जनाको साथबाट एक थान रेडपान्डाको छाला र चार वटा भालुको पित्त फेला परेको हो । पक्राउ पर्नेमा भक्तबहादुर पुन, केशव पुन र रोविन बुढा रहेका छन् ।

संरक्षित वन्यजन्तुको कारोबार भइरहेको छ भन्ने विशेष सूचना पाएको प्रहरीले गेस्ट हाउसमा जाँच गर्दा कालो झोलाभित्र रेडपान्डाको छाला र भालुको पित्त फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

बाँके प्रहरीले पछिल्लो दुई हप्तामा पाटेबाघको दुई थान छाला र चितुवाको एक थान छाला पनि बरामद गरेको छ । असार १७ गते दिउँसो पौने दुई बजे बैजनाथ गाउँपालिका–४ तिलकपुरस्थित भित्री सडकमा हिँडिरहेका दुई जनाको साथबाट दुई थान पाटेबाघको छाला बरामद भएको थियो । अछामका डम्बर बुढा र नन्दु बुढाले बोकेको झोला खानतलासी गर्दा पाटेबाघको छाला बरामद भएको बाँके प्रहरीले बताएको छ ।

असार १५ गते अपराह्न साढे ४ बजे राप्तीसोनारी गाउँपालिका–१ कुसुमबाट चितुवाको एक थान छाला बरामद ग¥यो । दाङ घोराहीका सन्तोष कुँवरले चलाएको रा४प ६५०५ नम्बरको स्कुटीको डिक्कीबाट चितुवाको छाला बरामद भएको थियो । स्कुटीमा दैलेखका जितेन्द्र शाही पछाडि बसेका थिए ।

केही दिनको फरकमै बाँकेमा प्रहरीले यतिका संरक्षित वन्यजन्तुको छाला बरामद गरेको हो । बाँके प्रहरीका अनुसार बाँकेमा बरामद भएका पाटेबाघ, चितुवा र रेडपान्डाको छाला रोल्पा, रुकुम, जाजरकोट र बाजुराबाट ल्याइएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ को दफा २६ (१) मा यी वस्तुसहित पक्राउ परेका व्यक्तिलाई ५ देखि १० लाखसम्म जरिवाना र ५ देखि १५ वर्षसम्म सजाय हुने व्यवस्था रहेको छ ।