प्राकृतिक विपत्ति: सात घरपरिवार जोखिममा, खेतबारी बगरमा परिणत



विनोदसिंह विष्ट, बैतडी ।

लगातारको वर्षाका कारण बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न क्षेत्रमा आएको बाढी–पहिरोले क्षति पु¥याएको छ । वडा नम्बर १ रिमको खोली भन्ने स्थानमा आइतबार बिहान घर माथिबाट पहिरो खस्दा मदन जोशीको परिवार विस्थापित भएको छ । बिहान ३ बजेतिर घरमाथिको भिरालो जमिनबाट एक्कासि पहिरो खस्दा घर पूर्णरूपमा क्षति भएको हो ।

घरभित्रका खाद्यन्नलगायतका सामग्री पहिरोमै पुरिएको स्थानिय शान्तिप्रसाद जोशीले जानकारी दिनुभयो । स्थानीयको सहयोगमा गाईबस्तु भने अन्यन्त्र सारिएको छ । पहिरोबाट कुनै मानवीय क्षति भने भएको छैन । यस्तै, अन्य ७ घर–परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । स्थानीयय यज्ञराज जोशी, नन्दराज जोशी, तुलाराम जोशी, केशव जोशी, महादेव जोशी र जगन्नाथ जोशीको घर पहिरोको उच्च जोखिममा रहेका हुन् । यस्तै, पहिरोले विस्थापित मदन जोशीसँगै अन्य स्थानीयहरुको खेतबारीमा पहिरोले क्षति पुगाएको छ । पहिरोका कारण मकै, धानलगायत सबै बाली तथा तरकारी नष्ट भएको छ । लगातारको झरीका कारण घरमाथिको थाम भन्ने स्थानबाट जमिन भासिएर पहिरो खसेको स्थानीयको भनाइ छ । अझै पनी झरी नरोकिएकाले पहिरो खस्न नरोकिएको उनीहरुले भनाइ छ । घटनास्थलमा प्रहरी चौकी गोकुलेश्वरको टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसै गरी, दोगडाकेदार गाउँपालिका–२ घमालीमा बाढीले स्थानीयहरुको खेत बगाएको छ । शनिबार रातिदेखि परेको वर्षाले ढिकगाड नदी र भकुण्डे खोलामा आएको बाढीले खेत बगाएको स्थानीय जनकबहादुर कार्कीले बताउनुभयो । रातिको समयमा आएको बाढीले खेत पूरै बगाएको छ । घमालीका करिब ३० परिवारको धान रोपेको खेत बाढीले बगरमा परिणत गरेको हो । बाढीले पूरै खेत पुरेको र धान रोपेको खेत बाढीले नामनिसाना मेटाएको कार्कीको भनाइ छ । यस्तै, बाढीले चारवटा पानीघट्ट पनि बगाएको छ ।

२०१८ सालपछि यो वर्ष विनाशकारी बाढी आएको स्थानीयले बताएका छन् । बाढीले खेत बगरमा परिणत गरेपछि स्थानीय किसानहरु चिन्तित बनेका छन् । धान रोपेको खेतमा बाढी पसेपछि बगर भएको स्थानीयहरुले बताएका छन् । बाढीले दोगडाकेदार–२ का कफल्डा, भकुन्या, सेलुन्या, टुपाबगड, टापसेरा, रसीडोल र टुडिपिसा खेत बगरमा परिणत भएको हो । दोगडा मन्दिर र चनैराज मन्दिरमा पनि बाढीले क्षति पुर्‍याएको छ । बाढीले अहिले उक्त क्षेत्रका खेत नचिनिने बनाएको भन्दै स्थानीय प्रताप महरा भन्नुहुन्छ– ‘हरियो धानका सबै खेत बगरमा परिणत भएका छन्, टाढाबाट हेर्दा सबै धान रोपेका हरिया खेत सेता भएका छन् ।’ बर्षा भईरहेकाले नदीमा बाढी आउने क्रम जारी रहेको छ ।

उता दोगडाकेदार गाउँपालिका–८ कालागाउँ वासिलामा पहिरोले ४ घर जोखिमा परेका छन् भने बाढीले खेत बगाएको डम्बर विष्टले बताउनुभयो । बाढी र पहिरोले क्षतिबारे प्रहरी टोलीको खटिएको र त्यसपश्चात् मात्रै विस्तृत विवरण आउने बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

यसका साथै दोगडाकेदार गाउँपालिका–७ छानीमा चट्याङ लागेर १ भैंसी, १ बाख्रा मरेको छ भने विद्युत्को मिटरमा क्षति पुगेको छ । आइतबार बिहान साढे ३ बजेतिर परेको चट्याङले गोठमा रहेका भंैसी र बाख्रा मरेको प्रहरीले जनाएको छ । चट्याङ मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्