टेलिकमको टावर ७ महिनादेखि बन्द

672
Shares

दार्चुला, (नेस) ।

यता, व्यास गाउँपालिकाको छाङ्गरुमा रहेको स्काई फोनको टावर विगत ७ महिनादेखि बन्द अवस्थामा रहेको छ । टावरका सबै संरचनाहरुमा हिउँ परेपछि फोन सेवा बन्द भएको थियो ।

टावरमा जडित रेडियो तथा बीटीएस उपकरणमा समस्या आएका कारण टावर बन्द रहेको नेपाल टेलिकम दार्चुलाका कार्यालय प्रमुख केबि गुरुङले बताउनुभयो । नेपालको बाटोबाट आउन–जान निकै समस्या भएका कारण मर्मत गर्न नसकिएको उहाँको भनाइ छ । मर्मतका लागि आफैं जाने कार्यालय प्रमुख गुरुङले बताउनुभयो । भारतको बाटो हुदै जानका लागी जिल्ला प्रशासनबाट अनुमति पनि बनाइसकेको उहाँको भनाइ छ ।

यस्तै, अपिहिमाल गाउँपालिकाको खण्डेश्वरीमा रहेको नमस्ते फोनको टावर पुनः सञ्चालनमा आएको छ । टावरमा जडित सोलार कन्ट्रोलरमा खराबी आएर १ महिनादेखि बन्द रहेको टावर मर्मतपछि पुनः सञ्चालनमा आएको हो ।

टेलिकमको क्षेत्रीय कार्यालय अत्तरियाबाट आएको प्राविधिकहरुको टोलीले टावर मर्मत गरी नमस्ते मोबाइल सेवा पुनः सञ्चालनमा ल्याएको नेपाल टेलिकम दार्चुलाका कार्यालय प्रमुख केबि गुरुङले बताउनुभयो । सोलार कन्ट्रोलरमा आएका खराबीका कारण फोन सेवा बन्द हुँदा सेवाग्राहीले निकै समस्या भोग्नुपरेको थियो । कन्ट्रोलर परिवर्तन गरेपश्चात् फोन सेवा चुस्त दुरुस्त चलिरहेको उहाँको भनाइ छ ।