कोरोनाबिरुद्धको खोप निरन्तर आउने प्रधानमन्त्रीको दाबी

322
Shares

वीरेन्द्र रिमाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशले अब कोरोनाविरुद्धको खोपको अभाव व्यहोर्नु नपर्ने बताउनुभएको छ । वीर अस्पतालको नवनिर्मित सल्यचिकित्सा भवनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्रीले शनिबार खोपको थप मात्रा प्राप्त भएको, आज सोमबारसमेत आउने र अब निरन्तर ल्याउनका लागि सरकार लागि परेको बताउनुभयो ।

‘कोभिडविरुद्धको खोप गति साथ ठूलो संख्याका जनतालाई दिन विभिन्न देश र कम्पनीहरुसँग सहमति र संवाद गरिरहेका छौं । यसरी लगभग सन् २०२१ भित्र मोटामोटी सबै जनसंख्यालाई हामी खोप लगाइसक्छौं ।’ –उहाँले भन्नुभयो ।

यस अवधिमा सामाजिक दुरी कायम राख्ने, मास्कलगायतका स्वास्थ्य मापदण्ड पालना गर्ने काम भने संसारभरबाट कोभिड–१९ समाप्त नभएसम्म जारी राख्नुपर्ने उहाँले बताउनुभयो ।

सरकारले निरोगी नेपालको मुख्य अवधारणा लिनुका साथै रोग लागि हालेमा प्रभावकारी र सफल चिकित्सा पद्धतिमार्फत उपचार सेवा जनतासमक्ष लैजाने भनाइ पनि उहाँको थियो । यस्तो उपचार जनताको जनताको क्रय शक्तिभित्र रहोस् र खर्चिलो उपचार सेवासमेत बिमाले समेट्दै जाने बनोस् भन्ने पक्षमा सरकार रहेको प्रम ओलीले बताउनुभयो ।

नेपाली भूमि ज्ञानको उत्पत्तिस्थल भएकाले चिकित्साशास्त्र, शल्यक्रिया जस्ता विषयको ज्ञान यही प्रादुर्भाव भएको पनि उहाँले बताउनुभयो । ‘हाम्रा पूर्वज अन्धविश्वासी थिएनन् । अनुसन्धान गरेको आधारमा विभिन्न जडीबुटीका औषधीय गुणका साथै २ हजार वर्षअघि श्रूसुत संहिता, चरक संहिता निस्किसकेका थिए’, प्रधानमन्त्री ओलीले भन्नुभयो–

‘यस्तो शिक्षालाई शासकले अघि नबढाएका कारण शिक्षा निषेध हुन थालेपछि त्यो ज्ञानको प्रसार हुन पाएन परिवारमा सिमित भयो ।’ अब नेपालको चिकित्सा शिक्षा बलियो र भरपर्दाे भएको बताउदै आफ्नै अनुभवमा विदेशको तुलनामा भन्दा नेपालको उपचार धेरै सजिलो महशुस गरेको समेत प्रधानमन्त्रीले ओलीले बताउनुभयो । नेपाललाई चिकित्सा शिक्षाको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने बताउँदै उहाँले दुवाकोटमा समेत वीर अस्पतालको विस्तारले पनि थप ऊर्जा दिने बताउनुभयो ।

नेपालमा जति सस्तो उपचार सेवा अन्यत्र नभएको समेत प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । अस्पतालका स्वास्थ्यकर्मी तथा व्यवस्थापनले कसरी विरामीसँग व्यवहार गर्ने भन्ने सम्बन्धमा सचेत हुनेपर्ने बताउँदै प्रधानमन्त्री ओलीले बिरामीको आधा रोग मनोबल कसरी बढाउँदा नै निको पार्न सकिने कुुरालाई चरितार्थ गरिनुपर्ने बताउनुभयो ।

अस्पताललाई अविलम्बपूर्ण क्षमतामा लैजाने र त्यस क्रममा नचाहिएको सामान किनेर निस्क्रिय बनाउने काम गर्नु नहुने उहाँको भनाइ छ ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जागेश्वर गौतमले २०७४ साल फागुन २५ गते शिलान्यास भएको सर्जिकल भवन समयभन्दा अगाडि नै निर्माण सम्पन्न हुनु खुसीको विषय भएको बताउनुभयो ।

सर्जिकल भवनको निर्माणबाट वीर अस्पतालमा थप ५ सय शैय्या थपिएको बताउँदै अब नयाँ भवनमा कोभिड र पुरानो भवनमा गैरकोभिडको उपचार गर्न सहज भएको बताउनुभयो । अस्पताल पूर्ण क्षमतामा सञ्चालन हुँदा २ सयवटा सघन उपचार कक्ष र १ सयवटा डायलाइसिस सेवा दिने शैय्या बन्ने तथा छुट्टै जेष्ठ नागरिक वार्ड निर्माण गरिने जानकारी उहाँले दिनुभयो ।