आमाको ज्यान जोगाउन बालकले हत्या गरे


न्युयोर्क, (एजेन्सी) ।

अमेरिकाको लुजियानामा एक १२ वर्षीय बालकले हतियारसहित घरमा जबर्जस्ती छिरेर आफ्नी आमालाई धम्क्याउने एक पुरुषको गोली हानी हत्या गरेको स्थानीय निकायले जनाएको छ ।

प्रहरीका अनुसार गत ३० जुनमा क्लिन्टन शहरदेखि पूर्वमा पर्ने आफ्नो घरमा यसरी प्रवेश गर्ने ३२ वर्षीय ब्राड लिब्ल्यान्कबाट आफ्नी आमाको ज्यानै खतरामा परेको देखेपछि ती बालकले शिकार खेल्न प्रयोग हुने राइफलबाट उनको ज्यान लिएका थिए । प्रत्यक्षदर्शीहरूले पनि ती हतियारधारी जबर्जस्ती तिनीहरूको घरभित्र घुसेको देखेको बयान प्रहरीलाई दिएका छन् ।

चिन्ताजनक हालतमा नजिकको अस्पतालमा पु¥याइनासाथ चिकित्सकहरूले लिब्ल्यान्कलाई मृत घोषित गरेका थिए । प्रहरी अधिकारी जेफ ट्राभिसले नाम नखुलाइएका ती बालकलाई हिरोको संज्ञा दिएको वासिङ्टन एकजामिनरले जनाएको छ ।

लुट्ने हिसाबले तिनीहरूको घर प्रवेश गरेको आशंका गरिएका अन्य दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ । ती दुईमध्ये एक जोनाथन बार्करलाई हत्या र डकैती प्रयासको अभियोग लगाइएको छ । आफ्नी आमाको जीवन रक्षा गर्ने ती बालकलाई भने हत्याको अभियोग नलगाइने भएको छ ।