दोहोरो भेरियन्ट संक्रमणबाट वृद्धाको मृत्यु


लक्जम्बर्ग, (एजेन्सी) ।

स्वास्थ्य विशेषज्ञहरूले अब कुनै पनि स्वस्थ व्यक्तिलाई एकै पटक दुई प्रकारको कोभिड–१९ ले आक्रमण गर्न सक्ने खतरनाक तथ्य पनि प्रमाणित भइसकेको दाबी गरेका छन् ।

पहिलोपटक संयुक्त अधिराज्य र दक्षिण अफ्रिकामा देखापरेका कोभिड भेरियन्ट क्रमशः अल्फा र बिटा भाइरसको दोहोरो संक्रमणको कारण एक ९० वर्षीया वृद्धाको मृत्यु भएपछि विशेषज्ञहरूले मानव जगतलाई नयाँ चेतावनी दिएका हुन् । खोप नलगाएका तथा नाम नखुलाइएका ती वृद्धाको सन् २०२१ को मार्चमा बेल्जियममा मृत्यु भएको हो । उनका डाक्टरहरूका अनुसार उनलाई कुनै फरक दुई व्यक्तिबाट कोरोना भाइरस संक्रमण भएको हो ।

तिनीहरूका अनुसार यस्तो घटना घटेको सार्वजनिक भएको पहिलोपटक हो । यद्यपि, यसरी संक्रमण हुने गरेको खबर अन्यत्र पनि सुन्नमा आइरहेको छ । यी वृद्धामाथि घटेको घटनाबारे यस वर्षको चिकित्सकीय माइक्रोबायोलोजी तथा संक्रामक रोगहरू माथिको युरोपेली बैठकमा व्यापक छलफल भइरहेको छ ।

सन् २०२१ को जनवरीमा पनि ब्राजिलका वैज्ञानिकहरूले दुईजना व्यक्ति एकैपटक दुई किसिमको कोरोना भाइरसबाट संक्रमित रहेको जनाएका थिए । तिनीहरूलाई संक्रमित भएको भाइरसमध्ये एउटा गामा भेरियन्ट भएको पनि बताइएको थियो ।

पोर्चुुगलका अनुसन्धानकर्ताहरूले पनि हालै एकजना किशोरको कोरोना भाइरसको सफल उपचार गरेको तर उनी अझै अर्कै भाइरसको पनि संक्रमित रहेकाले उपचार जारी रहेको बताएका छन् ।

ती वृद्धाको घटनाबारे भइरहेको अनुसन्धानको नेतृत्व गरिरहेका बेल्जियमको आलस्टस्थित ओएलभी अस्पतालका डाक्टर एन्ने भ्यान्किवर्घेनले अहिले यी सबै भेरियन्ट बेल्जियममा सक्रिय र रहेका र वृद्धा कसरी संक्रमित भइन् भन्ने थाहा हुन नसकेको बताएकी छन् ।
कारोना भाइरस महामारीका कारण अहिलेसम्म सबैभन्दा बढि अमेरिकी जनताले ज्यान गुमाएका छन् । विश्वका कतिपय मुलुकमा कोरोनाको दोश्रो चरणको महामारीले विनाशलीला मच्चाइसकेको छ भने केही मुलुक अहिले तेश्रो लहरको चपेटा कसरी सामना गर्ने भन्नेबारे चिन्तामा डुबेका छन् ।