आत्मनिर्भर स्थानीय तह बन्न सुर्यविनायक नगारपालिकाले थाल्यो पहल

112
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

उपत्यकासँग जोडिएको नगरपालिका हुनुको लाभ उठाएर आत्मनिर्भर स्थानीय तह कसरी निर्माण गर्ने भन्नेबारे सूर्यविनायक नगरपालिकाले छलफल थालेको छ । शनिबार डोलेश्वर भिलेज रिसोर्टमा भएको ‘सूर्यविनायक नगरपालिका क्षेत्रको आन्तरिक पर्यटन प्रवद्र्धन, सेवा प्रवाह एवं सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, स्थानीयवासी एवं पत्रकारहरुले राजधानीसँग नजिक हुनुको लाभलाई यो क्षेत्रको धार्मिक, सांस्कृतिक एवं पर्यापर्यटनसँग जोड्नुपर्नेमा जोड दिए ।

सूर्यविनायक नगरपालिकाको समन्वयमा राष्ट्रिय सञ्चार केन्द्रद्वारा आयोजित सो कार्यक्रममा नगरपालिकाका प्रमुख बासुदेव थापाले स्थानीय तहमा जनप्रतिनिधि आएर ४ वर्षमा पूर्वाधार क्षेत्रमा निकै ठूलो प्रगति हासिल गरेको भन्दै आफू निर्वाचित भएको ४ वर्षको अवधिमा ६७ किलोमिटर सडक कालोपत्रे र ढलान सम्पन्न भइसकेको बताउनुभयो ।

थापाले आफूहरुले नगरपालिकाबाट प्रवाह गरिने सेवा र पूर्वाधार विकासको क्षेत्रमा निकै ठूलो फड्को मारेको भन्दै अबको १० महिनामा समेत धेरै काम गर्ने बताउनुभयो । नगरपालिकाबाट गएका ९५ प्रतिशत योजना कार्यान्वयन भएको भन्दै केन्द्र र प्रदेशको अलपत्र योजनाका कारण नगरपालिकाले आलोचना खेप्नुपरेको गुनासो गर्नुभयो ।

नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले भक्तपुर नगरपालिका तथा मध्यपुर थिमि नगरपालिकामा भ्रमण गर्न आउने सबैलाई सूर्यविनायक आउने वातावरण बनाउन सके सूर्यविनायकले पर्यटन क्षेत्रबाट ठूलो रोजगारी र आम्दानी सिर्जना गर्नसक्ने अवस्था रहेको बताउनुभयोउहाँले सूर्यविनायक नगरपालिकामाथि संस्कृति मासेको आरोप लाग्ने गरेको भन्दै त्यसमा सत्यता नभएको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता उपेन्द्रराज केसीले नगरपालिकाले ४ वर्षमा गरेका कामहरुको प्रस्तुतीकरण गर्दै नगरपालिकाले हालसम्म १५ वटा ऐन, ५ वटा नियमावली, १३ वटा कार्यावधि, १८ वटा निर्देशिका, २ वटा आचारसंहिता र १ वटा मापदण्ड गरी जम्मा ५३ वटा विभिन्न कानून निर्माण गरी कार्यान्वयनमा ल्याएको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाको वडा नं ८ का अध्यक्ष किरण थापाले सूर्यविनायक नगरपालिकाका १० वटा वडाका ११ शिवालयलाई डोलेश्वर महादेवसँग जोडेर शिव सर्किट बनाउन डीपीआर समेत तयार भइसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाको गतिविधि र सम्भावनाबारे टिप्पणी गर्दै वरिष्ठ पत्रकार जुनारबाबु बस्नेतले नगरपालिकाहरुले कृषि, उद्योग र पर्यटनलाई एकैसाथ जोड्न सके मात्रै अपेक्षित उपलिब्ध हासिल गर्न सक्ने बताउनुभयो।कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव पवन आचार्यले पत्रकारहरु समाचारको विषयमा पानी जस्तै बग्नु पर्ने बताउँदै पत्रकारले आफ्नो भुमिकालाई प्रभावकारी बनाउँदै जानुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशलकुमार आचार्यले राष्ट्रिय सञ्चार केन्द्रले स्थानीय विकास र जनचासोका सम्बन्धमा मिडियाको चासो र सचेतना अभिवृद्धि गर्ने प्रयास गरिरहेको भन्दै यस्ता छलफलले स्थानीय विकासमा सकारात्मक प्रभाव पार्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रकाश धौलाकोटी,नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका सचिव अमर भुजु, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति,महासंघ भक्तपुरका निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुष्करराज बुढाथोकी,संचार केन्द्रका सचिव हेमराज ढकाल लगायतले नगरपालिकाको विकाशका लागि आवश्यक प्रचारप्रसारमा सक्दो सहयोग गर्ने प्रतिवद्धता प्रकट गर्दै नगरपालिकाले गलत गरे त्यसलाई जनतासम्म पुर्याउनु पनि आफूहरुको कर्तब्य भएको स्पष्ट पार्नुभयो ।