आयआर्जनमा जोड्दै सुरक्षित आप्रवासन परियोजना

2.63k
Shares

अमृत अर्याल, स्याङ्जा ।

सुरक्षित आप्रवासन परियोजना (सामी) बारे जिल्ला तहका पत्रकारसँग अन्तत्र्रिmया गरिएको छ । पुतलीबजार नगरपालिकाको आयोजना तथा अन्धाअन्धी सामुदायिक विकास केन्द्रको व्यवस्थापनमा सञ्चालित परियोजनाले अहिलेसम्म गरेका कामका बारेमा पत्रकारलाई जानकारी गराउँदै अन्तरक्रिया भएको हो ।

अन्तरक्रियामा बोल्दै नगर प्रमुख सीमा क्षत्रीले वैदेशिक रोजगारीका लागि जाने र उनीहरूका आश्रित परिवारका लागि परियोजनाले धेरै सहयोग पुर्‍याएको बताउँदै यस्ता परियोजना जिल्लाका सबै पालिकामा लागू गर्न सकेमा धेरै समस्या हटेर जाने बताउनुभयो । परियोजनाले फजुल खर्च कटाएर आयआर्जनतर्फ महिलालाई आकर्षित गराएको उहाँको भनाइ छ । रोजगारका लागि विदेश जानेहरुका समस्या पहिचान भएकाले समाधान गर्न सहज भएको छ । क्षेत्रीले विदेश जाँदा सीप सिकेर जान सुझाव दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी लगायतले परियोजनाले सकारात्मक प्रभाव पारेको बताउँदै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा योजना तथा प्रशासकीय अधिकृत ताराचन्द्र ढकाल र अन्धाअन्धी सामुदायिक स्रोत विकास केन्द्रका परियोजना संयोजक एकनारायण सापकोटाले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

स्वीस सरकार र नेपाल सरकारको सहयोगमा सञ्चालित ३ बर्षे परियोजना स्याङ्जाका पुतलीबजार, वालिङ, गल्याङ नगरपालिका र हरिनास गाउँपालिकामा सञ्चालित छन् । परियोजनाको समायावधि एक वर्ष बाँकी रहेको छ । अन्तर्राष्ट्रिय विकास साझेदार स्वीट्जरल्यान्डले सहयोग गर्दै आएको यो परियोजना जिल्लाका अरु स्थानीय तहमा पनि विस्तार गर्न सके धेरै जना लाभान्वित हुने थिए । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सञ्चालन गरिएको वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजना (सामी) का लागि स्वीट्जरल्यान्ड सरकारले अनुदान दिएको हो । स्वीस सरकारको सहयोगमा शुरु गरिएको कार्यक्रम प्रभावकारी भएपछि नेपाल सरकारले पनि विगत ३ वर्षदेखि यसमा लगानी गर्न थालेको छ । हाल जिल्लाका ४ वटा स्थानीय तहमा सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन भइरहेको छ । वैदैशिक रोजगारीमा जान तयारी र रोजगारीपछि स्वदेश फर्केका युवाको आप्रवासन अधिकार सुनिश्चित गर्न यो परियोजना सञ्चालनमा रहेको छ । जिल्लामा सञ्चालित सामी परियोजना संयोजक एकनारायण सापकोटाले परियोजनाअन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाका लागि सुरक्षित वैदेशिक रोजगार परामर्श कार्यक्रम, कानुनी सेवा र फर्केका युवाका लागि सामाजिक पुनस्र्थपना कार्यक्रम गर्दै आएको बताउनुभयो । ‘सुरक्षित आप्रवासनसम्बन्धी सूचना दिने र सूचनाको पहुँच अभिवृद्धि गर्न सूचना तथा परामर्श केन्द्र सञ्चालन गरिएको छ,’ सापकोटाले भन्नुभयो–‘यो कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यलयमा वैदेशिक रोजगारीका लागि विदेश जान राहदानी बनाउन पुगेका युवालाई विदेश जानुपूर्व गर्नुपर्ने कामका बारेमा जनचेतना दिँदै आइरहेको छ ।’

परियोजना सञ्चालन भएपछि वैदेशिक रोजगारीमा संलग्न आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको सामाजिक, आर्थिक लाभ र आम्दानी वृद्धि भएको सरकारी भनाइ छ । वैदेशिक रोजगारीबाट पीडित र बिरामी भइ फर्केका कामदारको न्यायको पहुँच बढाउन सहजीकरण गर्दै न्यायिक सहयोगको पनि काम गर्दै आइरहेको परियोजनाले जनाएको छ । यसरी नै परियोजनाले वैदेशिक रोजगारीबाट पीडित भई फर्केकाको लागि आश्रयको व्यवस्था गर्दै आएको छ । वैदेशिक रोजगारीका क्षेत्रमा काम गदै आएका सरकारी निकायको कार्यक्षमता र क्रियाशीलता अभिवृद्धिमा पनि परियोजनाले सहकार्य गर्दै आएको छ ।

वैदेशिक रोजगारबाट पीडित व्यक्तिका लागि पुनःस्थापना गृहको सञ्चालन र अनुगमनका लागि आवश्यक व्यवस्था मिलाउन पुनस्र्थापना केन्द्र सञ्चालनमा छन् । परियोजनाले वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई व्यावसायिक सीप र तालिम दिलाउने साथै घरेलु महिला कामदारका लागि निर्धारित तालिम र अन्यको लागि पूर्वप्रस्थान र अभिमुखीकरण तालिम दिने दिलाउने कार्यमा सहयोग गर्दै आएको छ । परियोजना सञ्चालन भएको स्याङ्जा जिल्ला वार्षिक रूपमा ५ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये एक हो । परियोजनाले सुरक्षित आप्रवासनका लागि कानुनी सहायता, तालिम, क्षमता अभिवृद्धि, सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श लगायतका क्षेत्रमा सहयोग पुर्‍याउने जनाइएको छ ।