सगरमाथा टेलिभिजन १५ औँ वर्षमा

322
Shares

नेपालको पहिलो ‘न्युज च्यानल’ सगरमाथा टेलिभिजन १४ वर्षे यात्रा पूरा गरी १५ औं वर्षमा प्रबेश गरेको छ ।

आजदेखि १४ वर्षको यात्रा पूरा गरेर १५ वर्षमा प्रवेश भएको खबर सुनाउन पाउँदा हामीले आफूलाई गौरवान्वित महसुस गरेका छौँ । यस अवसरमा सम्पूर्ण पाठक, समाचार श्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुक सबै सबैप्रति हामी हार्दिक आभार प्रकट गर्दछौँ ।

निरन्तरको यात्राले हामीलाई प्रगतिपथमा लम्काइरहेको जानकारी आम दर्शकलाई गराउन पाउँदा थप गर्व महशुस भएको छ ।

हाम्रो अनवरत यात्राको सफलता तपाईँहरूकै शुभेच्छा, माया, सद्भाव, रचनात्मक सहयोग र खबरदारीले नै सार्थक भएको हो । विगतमा झैँ आगामी यात्रामा पनि संस्थाको लोकप्रियता र प्रतिष्ठा कायम राख्न र अझ उचाइमा पुर्याउन सम्पूर्ण दर्शक, समाचार श्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुकबाट निरन्तर साथ, सहयोग र समर्थनको अपेक्षा गर्दछौँ । तपाईँहरूको साथ सहयोगले थप उर्जा मिल्ने अपेक्षा लिएका छौँ ।

सबैलाई थाहा भएकै विषय हो, कोभिड–१९ को महामारीका कारण सबै क्षेत्रका उद्योग व्यवसायहरू धराशयी बनेको अवस्था छ । यसको असर मिडिया उद्योगहरूमा पनि स्वाभाविकरुपमा परेकै छ । कयौं पत्रिकाहरू बन्द भएका छन् भने पत्रकारहरू बेरोजगार बन्नुपर्ने अवस्था छ । तथापि हामीले कोरोनाको पहिलो लहरलाई सहजै जित्यौं । यो दोस्रो लहरको पनि हामी यसैगरी सामना गर्न र आम पाठकहरूको सेवामा अहोरात्र योगदान गर्न सक्षम छौँ भन्ने सबैमा विश्वास दिलाउन चाहन्छौँ ।

जनआन्दोलन २०६२/६३ को सफलतापछि मुलुकमा आएको आमूल परिवर्तनमा हाम्रो भूमिका दर्शकवृन्दलाई जानकारी गराइरहनुपर्ने विषय होइन । राजनीतिक स्थायीत्वसँगै समृद्ध नेपालको राष्ट्रिय आकांक्षा हाम्रो पनि कार्यभार हो । हामी व्यावसायिक पत्रकारिताको माध्यमबाटै रचनात्मक योगदान पुर्याउनमा कुनै कसर बाँकी राख्ने छैनौँ ।

आवाजविहीनहरूको आवाज बन्ने हाम्रो संकल्प र आम जनताको आधारभूत आवश्यकता परिपूर्तिका लागि दबाबमूलक भूमिका निर्वाह गर्ने हाम्रो दायित्वलाई अझ सशक्त ढंगबाट पूरा गर्ने अठोट लिएका छौँ ।

सत्य, निर्भिक, स्वतन्त्र एवं व्यावसायिक पत्रकारितामार्फत हामी निरन्तर पहरेदारको भूमिका निर्वाह गर्ने दायित्वबाट कदापि बिचलित हुने छैनौँ ।

समाचार सामग्रीहरूको विविधता एवं थप व्यावसायिक र स्तरीय बनाउँदै जाने हाम्रो लक्ष छ । यसका लागि संस्थामा आवद्ध पत्रकार र कर्मचारीहरूको आन्तरिक क्षमता अभिवृद्धिमा जोड दिने हाम्रो नीति रहेको छ । हामीले राष्ट्रिय राजनीतिका साथसाथै सामाजिक एवं आर्थिक मुद्दाहरूमा विशेष ध्यान केन्द्रित गर्दै आएका छौँ । राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताका पक्षमा हामी अग्रमोर्चामा अविचलित छौँ ।

मुलुकको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा तथा क्षेत्रीय, जातीय र धार्मिक सद्भाव संवद्र्धनप्रति हामी समर्पित छौँ । नेपाली जनताको दशकौँदेखिको संघर्ष र त्याग तथा नेपाल आमाका हजारौँ सर्वोत्तम छोराछोरीको बलिदानको बदलामा हामीले संघीय लोकतान्त्रिक गणतन्त्र पाएका हौँ । यो युगीन परिवर्तनको रक्षा र आम नेपालीको भलोका पक्षमा अहोरात्र पहरेदारी गर्न हामी प्रतिवद्ध छौँ ।

विभिन्न आरोहअवरोहको अबिचलित यात्रा पार गर्दै हामी १५ औं वर्ष प्रबेश गरेको यस अबसरमा म पत्रकारिताको मूलभूत मूल्य–मान्यताप्रति हाम्रो अविचलित यात्रा कायमै रहने प्रतिबद्धता व्यक्त गर्दछु । आम दर्शकहरूको आवश्यकता र चाहना नै हाम्रो प्राथमिकता र अर्जुनदृष्टि हो । नेपालमा सञ्चार जगतमा आएको तीव्र प्रतिस्पर्धात्मक अवस्थालाई हामीले अवसरका रुपमा लिएका छौँ ।

विज्ञान र प्रविधिको द्रुत विकासले नयाँ अवसर र सञ्चार क्षेत्रमा व्यापक बदलाव ल्याइरहेको यर्थाथबाट हामी अनविज्ञ छैनौँ । नयाँ सञ्चार आयामको विकाससंगै दर्शकको रुचीमा आइरहेको विविधीकरणलाई ध्यान दिंदै हाम्रो संरचामाध्यम परिमार्जित र विस्तारीत हुँदै जानेमा म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु । हामी नयाँ प्रविधिको विस्तार र नयाँ माध्यम पनि थप गरिँदै जाने प्रतिवद्धता व्यक्त गर्दछु ।

तपाईँको तेस्रो आँखा

आमसञ्चार माध्यम समाजको आँखा हो । आम सञ्चार माध्यमले सत्य, तथ्य सूचना तथा सन्दर्भ सामाग्री संप्रेषण गर्न सक्नुपर्छ ।

राज्यले त्यस्तो सन्तुलित र निष्पक्ष सूचना प्राप्त गर्ने नागरिकको अधिकार कुण्ठित गर्न खोजेमा त्यहीबाट त्यस्तो सरकारको विघटन शुरु हुन्छ ।

यस्तै परिस्थितिमा सगरमाथा टेलिभिजनको औपचारिक प्रसारण यात्रा शुरु भएको हो । जतिवेला मुलुक भर्खरै सकिएको २०६३ सालको ऐतिहासिक जनआन्दोलनबाट प्राप्त उपलव्धी संस्थागत गर्ने दोबाटोमा उभिएको थियो । माघ १९ को शाही कु मार्फत जनताको वाक स्वतन्त्रता माथि पटक–पटक धावा बोल्ने राजसंस्था औपचारीक बिघटनको संघारमा थियो ।

२०६४ साल असार २७ गते बुधवार । समाचारको शिखर–नेपालको गौरव भन्ने नारासहित स्थापित नेपालको पहिलो समाचारमुलक च्यानल सगरमाथा टेलिभिजनले नेपाली टेलिभिजन प्रसारणको इतिहासमा एउटा नयाँ अध्याय थपेको दिन हो । जुन दिनदेखि हामीलाई नेपाली समाजको तेस्रो आँखां बन्ने प्रतिबद्धताले आजसम्म निरन्तर डोर्याई रहेको छ । प्रसारण यात्राको १४ बर्षे यो अनुभवले हामीलाई समाजको आँखा बन्न अभिप्रेरित गरेको छ । जुन प्रतिबद्धता र अठोटबाट हामी कत्ति पनि बिचलित भएका छैनौँ ।

२०६४ सालसम्म नेपालमा समाचार मात्रै बजाएर टेलिभिजन च्यानल चलाउन सकिन्छ भन्ने अहम प्रश्न उठ्ने गर्थ्यो । तर त्यसलाई हामीले जस्तोसुकै चुनौती र जोखिम मोलेर पनि यो अवधीमा सम्भव बनाएका छौँ ।

समाचारमुलक सन्दर्भ सामग्री आमदर्शक तथा विज्ञापनदाताको पहिलो रोजाईमा छ भन्ने सत्य स्थापित गरेका छौँ । हामीले जनताका मुद्दालाई नै प्रमुख बनाउने अभियानमा हामी सफल भएका छौँ ।

सार्वजनिक प्रशारण संस्थाका रुपमा हामीले प्रसारण यात्रा सँगसँगै भाषण शैलीका समाचार र सानातिना गोष्ठी, सभाका समाचारलाई महत्व दिने नीति निरन्तर निरुत्साहित गर्यौं । यो, समाचारको गुणस्तर विकासका लागि पहिलो अनिवार्य सर्त मानिने हाम्रो सम्पादकीय स्वतन्त्रताको परिणाम हो ।

आमसञ्चार माध्यम जनताप्रति उत्तरदायी हुनैपर्छ । सामाजिक उत्तरदायित्वबाट पन्छिन मिल्दैन । यसैलाई मूल मन्त्र बनाएर सगरमाथा टेलिभिजनले आम दर्शकलाई सार्वभौम जनताका रूपमा आत्मसात गर्दै आएको छ ।

जनताको आवाज निष्पक्षरूपमा प्रसारण गर्दै हामीले विगत १४ बर्षयता आवाजबिहीनहरूको आवाज बोल्ने सुनिश्चितता बोकेका छौँ ।

जनताप्रति उत्तरदायी सार्वजनिक टेलिभिजनको सान्दर्भिकता पुष्टि गर्न हामी राजनीतिक आस्था भन्दा माथि छौँ । नेपालमा लोकतन्त्र आएपछि द्रुतगतिमा आमसञ्चार माध्यमको विकास भयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तथ्यांक अनुसार, नेपालमा अहिले कुल एक सय भन्दा बढी टेलिभिजन दर्ता भएका छन् ।

तीमध्ये करिब १ चौथाईं च्यानल विभिन्न माध्यमबाट सञ्चालनमा छन् । मुलुकको सामाजिक, आर्थिक, राजनीतिक र शैक्षिकलगायतका सूचक अनुसार संख्यात्मक रुपमा प्रसारण संस्था बढेपनि भू–उपग्रह मार्फत आफ्नो प्रसारण पहुँचलाई बढावा दिनेको संख्या निकै थोरै छ ।

त्यसमा पनि सगरमाथा टेलिभिजन त्यही सूचीमा रहेको मुलुकको पहिलो समाचार च्यानल हो । प्रजातन्त्र पुनः स्थापना पछि सरकारले अँगालेको खुला प्रसारण नीतिकै परिणाम, अहिले पनि नेपालमा टेलिभिजनको विकासमा संख्यात्मक वृद्धि भईरहेको छ ।

यसले हाम्रो यात्रालाई अरु जिम्मेवार र प्रतिष्पर्धी बनाएको छ । यो अवस्थामा प्रविधिको विकास क्रमलाई हेरेर जनतालाई फरक स्वाद दिन प्रसारण पहुँच र गुणस्तरमा वृद्धिका निम्ति, पत्रकारिताको सिद्धान्त, दर्शक तथा शुभेच्छुकको सद्भाव, विज्ञापनदाताको प्रतिबद्ध सहयोग र प्रजातान्त्रीक खुला समाजको मर्मको सम्मान गर्न सगरमाथा टेलिभिजन परिवार सदैब दृढ संकल्पित छ ।

यो यात्रामा हामीले टेलिभिजनको असीमित प्रभावलाई नजिकबाट अनुभव गरेका छौं । दर्शकलाई आकर्षित गर्नका लागि सामान्य विषयलाई अतिरञ्जित गर्ने, छिटो सूचना दिने नाममा अपरिपक्व सूचना प्रवाह गर्ने होडमा हामी कहिल्यै उत्रिएका छैनौं ।

नेपालमा २०४१ सालमा भीएचएस प्रविधिबाट उत्पादन शुरु भएको टेलिभिजन प्रसारण यात्रा अहिले यू–म्याटिक, बेटा–क्याम एसपी, बेटाक्याम एसएक्स, डिभी–क्याम र डिजिटल प्रविधि हुँदै अहिले एसडी प्रविधिबाट एचडी प्रविधिमा रूपान्तरण भईरहेका छन् ।

मुलुक संघीय संरचनामा गएपछि तल्लो तहसम्मका गतिविधिलाई राष्ट्रिय प्रसारणमा जोड्न, प्रदेश प्रदेशमा व्यूरो तथा साधनश्रोत सम्पन्न जनशक्ति व्यवस्थापन भईरहेको छ । प्रसारण यात्राको आजसम्मको अनुभवमा उभिएर हामी पनि यो घडीमा प्राविधिक गुणस्तरमा ठूलो फड्को मार्ने जमर्को गरिरहेका छौं ।

पूर्णतः एचडी उपकरण र त्यहाँबाट उच्च गुणस्तरका कार्यक्रम र समाचारको प्रस्तुती अवको हाम्रो लक्ष्य हो । साथै हाम्रो सञ्चार माध्यमलाई समय सापेक्ष र आम दर्शकको रोजाइ अनुसार युट्युव च्यानल अनलाइन कबनबचmबतजब।तख सञ्चालन गरिरहेका छौँ ।

जसबाट प्रविधिको रूपान्तरणसँगै नेपाली जनताको चाहना र आवश्यकता अनुरूपका विविधतापूर्ण नेपाली समाजका विविध संस्कृतिको सम्बद्र्धन र प्रवद्र्धन गर्ने कार्यक्रम सिर्जनात्मक रुपमा हामी निरन्तर पस्किरहने प्रण गर्दछौं ।

नेपालीको सभ्यता, संस्कृति, पुरातत्व, कला, भाषासाहित्य, लोकसंगीत, पूर्वाधार, प्राकृतिक स्रोत, पर्यटनलगायतका विषयमा निरन्तर राष्ट्रिय भावधारामा पस्किने छौँ । कमी कमजोरीलाई सच्याएर वास्तविक राष्ट्रिय प्रसारकका रूपमा स्थापित हुनेछौँ ।

अन्त्यमा, सगरमाथा टेलिभिजन १५ औं वर्ष प्रवेशको उपलक्ष्यमा हामीलाई प्रत्यक्ष, अप्रत्यक्ष या परोक्ष सहयोग गर्नुहुने देश विदेशमा रहनुभएका हाम्रा तमाम दर्शक, पत्रकार तथा कर्मचारी, शुभेच्छुक, विज्ञापनदाता, विज्ञापन एजेन्सी, केबल अपरेटरप्रति सगरमाथा टेलिभिजन परिवारका तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

धन्यवाद ।

निर्मल गुरुङ,
अध्यक्ष
सगरमाथा टेलिभिजन