करोडौँ पाउन्डको चिठा जित्न दिदीबहिनीको हत्या


लन्डन, (एजेन्सी) ।

एकजना उन्नाइस वर्षीय युवकलाई मंगलबार बेलायतको राजधानी लन्डनको एउटा पार्कमा बर्थ डे मनाउँदै गरेका दिदीबहिनीलाई हत्या गरेको अभियोगमा अदालतले दोषी साबित गरेको छ । डानियल हुस्सेन नामक ती व्यक्तिले हत्या गर्दा आफूले लटरी ज्याकपट जित्न सक्ने अन्धविश्वासमा सो अपराध गरेको बयान दिएका छन् ।

सन् २०२० को जुनमा फ्रेयन्ट कन्ट्री पार्कमा यो घटना घटेको थियो । ४६ वर्षीया बिबा हेनरी र २७ वर्षीया निकोल स्मलम्यानलाई निर्मम तरिकाले छुरा प्रहार गरी हत्या गरेको अभियोग साबित गर्न लन्डनको केन्द्रीय आपराधिक अदालतमा आठ घन्टा लामो बहस भएको थियो ।

हुस्सेनले ती पीडित महिलालाई चिनेका थिएनन् । उनले ३२ करोड १० लाख पाउन्ड बराबरको सुपर ज्याकपट चिठ्ठा जित्ने विश्वासमा प्रत्येक छ महिनामा ६ जना महिलाको हत्या गर्ने किरिया खाएका थिए ।

तन्त्र–मन्त्रमा चुर्लुम्म डुबेको देखिने हुस्सेनले पौराणिक पात्र किङ लुसिफ्युजको मूर्तिमा लेखिएको सो किरियामा आफ्नो रगतले हस्ताक्षर गरेका थिए । घटनास्थलमा आक्रमणको क्रममा हुस्सेनलाई पनि चोट लागेपछि त्यहाँ उनको रगत चुहेको थियो । सोही रगतको डिएनए परीक्षणमार्फत प्रहरीले उनलाई पक्रन सफल भएको थियो । हुस्सेनले हेनरीलाई आठ र स्मलम्यानलाई २८ पटक छुरा प्रहार गरेका थिए ।
ती पीडित महिलाका आमा मिना स्मलम्यानले आफ्नो छोरी हराएको उजुरी गर्न जाँदा आफूहरू काला जाति भएकाले नै आफूप्रति पूर्वाग्रह राखेर उजुरीप्रति आवश्यक मात्रामा गाम्भीर्यता नदेखाएको गुनासो गरेकी छन् ।