हाइटीले विदेशी फौज गुहार्‍यो


पोर्ट ओ प्रिन्स,(एजेन्सी) ।

हाइटीले राष्ट्रपति जोभनल मोइसेको हत्यापछि त्यहाँका महत्वपूर्ण पूर्वाधारहरूको रक्षाका लागि विदेशी फौज पठाउन अनुरोध गरेको छ । हाइटी सरकारले संयुक्त राष्ट्र संघ र संयुक्त राज्य अमेरिकासमक्ष यो अनुरोध पत्र पठाएको हो । तर, अमेरिकाले भने वर्तमान परिस्थितिमा आफ्नो सैनिक सहयोग गर्ने कुनै योजना नरहेको जनाइसकेको छ ।

राष्ट्रपति जोभनलको उनकै निवासमा भएको सांघातिक आक्रमणमा गोली लागेर ज्यान गएको हो । सो आक्रमणमा प्रथम महिला पनि गम्भीर घाइते हुन पुगेकी छिन् ।

यसअघि नै हाइटीका प्रहरीले विदेशी २८ जना हिटम्यानले बुधबार राष्ट्रपति हत्या गरेको जनाइसकेको छ । राजधानी पोर्ट ओ प्रिन्समा प्रहरीसँगको गोली हानाहानको क्रममा तिनीहरूमध्ये १७ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार तिनीहरूमध्ये केही कोलम्बियाका पूर्वसेना थिए भने उनीहरूमध्ये केहीलाई तिनीहरूले प्रयोग गर्दै आएको घरबाट र अन्यलाई ताइवानको कुटनीतिक परिसरबाट नियन्त्रणमा लिइएको हो । तीमध्ये सुरक्षा कारबाहीमा तीनजना मारिएका छन् । त्यसैगरी, बाँकि आठ जनाको अझै व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तर, अमेरिकाले राष्ट्रपतिको हत्याकाण्डमाथिको छानबिनमा मद्दत पुर्‍याउन संघीय जाँचबुझ ब्युरो (एफबीआई) र मातृभूमि सुरक्षा विभागका अधिकारीहरू पठाइदिने वचन हाइटीलाई दिएको छ ।

यसैगरी, संयुक्त राष्ट्र संघको नीति नियमअनुसार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले हाइटीमा अन्तर्राष्ट्रिय फौज पठाउने कुनै पनि योजनामाथि अनुमोदन गर्न सक्दछ । बिहीबार पक्राउमा परेका हत्यारा समूह र तिनीहरूबाट बरामद भएको भनिएका हातहतियार सार्वजनिक गरिएको थियो ।

हाइटीमा अझैसम्म पनि हालै घोषित संकटकाल स्थिति कायम रहेको छ । तर, अझैसम्म पनि कसले कुन उद्देश्य पूर्तिका लागि हत्या गर्न लगायो भन्ने तथ्य खुलेको छैन ।