वैदेशिक रोजगारीको विषयमा कुटपिट हुँदा एकको मृत्यु



सप्तरी ।

वैदेशिक रोजगारीमा भने जस्तो काम नपाएका विषयमा भएको विवादले उग्र रुप लिँदा यहाँ आज एक जनाको मृत्यु भएको छ । कुटपिटबाट घाइते खडक नगरपालिका –९ लालपट्टीका ५८ वर्षीय दाउद मियाँको उपचारका क्रममा आज मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीमा पठाएको व्यक्तिसँग भने जस्तो काम नपाएकाले पैसा फिर्ता मागेपछि दुई पक्षबीच बिहीबार राति विवाद भएको थियो । सोही विषयमा कुटपिट हुँदा दाउराको प्रहारबाट टाउकामा चोट लागेका दाउदको राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो । राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आजै परीक्षण भएको छ ।

आरोपितको पहिचान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्