‘तेस्रो लहर आउन सक्छ, सतर्कता अपनाउनुस्’

2.4k
Shares

भगवती तिमिल्सिना, काठमाडौं ।

अधिकांश नागरिकलाई खोपले समेट्न नसकेको बेलामा तेस्रो लहरको कोरोना फैलिने निश्चित भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई कडाइका साथ स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयले रोगको सामाना गर्न र आवश्यक उपचारका लागि नागरिक तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन नै दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोरोना भाइरसविरुद्ध कुनै पनि औषधि नबनेको र खोपको विकल्प नहुँदाको अवस्थामा नेपालले एकैपटक सबै नागरिकलाई खोप उपलब्ध गराउन सक्ने अवस्था नरहेकाले सतर्क रहन सबैलाई अनुरोध गर्नुभएको हो । उहाँले सुरक्षा मापदण्ड अपनाउँदाअपनाउँदै पनि कोरोना संक्रमण हुन पुगियो भने परीक्षण गरी थप सुरक्षा अपनाई अरूमा सर्न नदिन सतर्कता अपनाउन र स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा रहन अनुरोध गर्नुभएको छ ।

डा. पौडेल भन्नुहुन्छ– ‘कोरोना संक्रमण फैलिएको र सक्रिय संक्रमितको अवस्थालाई नियाल्दा तेस्रो लहरको संक्रमणको जोखिम छिटै आउन सक्ने संकेत देखापरेको छ । संक्रमणलाई कम गर्न नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्यकर्मी तथा नेपाल सरकारले गरेको अनुरोधलाई हल्का ढंगले नलिनुहोस् । लकडाउन खुकुलो नगर्दा एक हप्ता अगाडिसम्म २० प्रतिशतभन्दा कममा संक्रमणदर झरेकोमा लकडाउन खुकुलो गरेपछि ३ दिनअघिको रिपोर्ट नियाल्दा २६ प्रतिशतभन्दा माथि पुगिसकेको छ । यो स्थितिमा सुधार नआउने हो भने नेपालमा पनि कोरोना संक्रमणको तेस्रो लहर नआउला भन्न सकिन्न ।’

कोरोना संक्रमण नियन्त्रणका लागि पीसीआर परीक्षण अनिवार्य भएको बताउँदै डा. पौडेलले पछिल्लो समय देखिएको डेल्टा ए वाई वान र कप्पा भेरियन्टलगायतको कोरोना भाइरस हावाबाट पनि सर्न सक्ने भएकाले कार्यास्थलहरूमा सकेसम्म खुला ठाउँमा रहन तथा सतर्कता अपनाउन समेत आग्रह गर्नुभएको छ ।

उहाँले संक्रमणको जोखिम कायमै रहेको तर निषेधाज्ञा खुकुलो गरेसँगै सार्वजनिक यातायात, उद्योग, कल–कारखाना, कार्यालय सबै खुलेको र नागरिकले लकडाउन खुकुलो भनेको मास्कसमेत फुकालेर खुला हिँड्ने तथा स्यानिटाइजर पनि लगाउनुनपर्ने, भीडभाड, भेला गर्न मिल्नेजस्ता गलतरूपमा बुझेकाले संक्रमणको दर बढ्दै गएको दाबी गर्नुभयो ।

यति बेला कोरोना भाइरस संक्रमणको परीक्षण कम भएका कारण मात्र संक्रमितको संख्या कम देखिएको हो । धेरै संक्रमितहरू जटिल अवस्था नआउँदासम्म घरमै परिवार र समाजमा घुलमिल गर्दै बसेका छन् । त्यस्ता व्यक्तिबाट धेरैमा कोरोना फैलन सक्ने चेतावनी विशेषज्ञहरूले दिइसकेका छन् ।

काठमाडौंमा सोचे भन्दा बढीले लगाए खोप

काठमाडौं जिल्लामा असार २२ गतेबाट ३ दिनका लागि शुरू भएको भेरोसेल खोपको दोस्रो मात्रा लगाउने अभियानमा ८ हजारभन्दा बढीले खोप लगाएका छन् । काठमाडौंका ३२ वटा खोप केन्द्रमा सञ्चालन गरिएको खोप अभियानमा ६७ हजार २ सय ८४ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा २ दिनमै लक्षित मात्रा सकिएकोले तेस्रो दिन थप खोप मगाएर अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार खोपको दोस्रो मात्रा लगाउन शुरु भएको थाहा पाएका अन्य जिल्लाका नागरिक पनि कार्ड लिएर आएका र उनीहरूलाई पनि खोप लगाइएको थियो । बिहीबार साँझ ५ बजेसम्ममा काठमाडौं महानगरपालिकाका १२ वटा खोप केन्द्रबाट ८ हजारभन्दा बढीले खोप लगाएको जानकारी प्राप्त भएको छ ।

अन्य जिल्लामा खोप शुरु नहुँदा कतिपयले काठमाडौंमा आएर दोस्रो मात्रा लगाएका थिए । काठमाडौंका नागरिकका लागि स्वास्थ्य सेवा विभागले काठमाडौं स्वास्थ्य कार्यालयलाई ७० हजार मात्रा खोप उपलब्ध गराएकोमा बुधबार थप १५ हजार मात्रा उपलब्ध गराइएको थियो । मंगलबार र बुधबारको अनुपातमा बिहीबार बिहानैदेखि झरि पर्नुका साथै अन्य क्षेत्रबाट खोपका लागि आउनेहरूको संख्या अघिल्ला दिनको दाँजोमा कम भएको बताइएको छ । सरकारले तीनदिने अभियानमा छुटेकालाई अर्को खोप कार्यक्रममा समेट्ने लक्ष्य लिएको छ ।