आत्मसमर्पण गर्ने पूर्वराष्ट्रपति जेल चलान


जोहान्नेसबर्ग, (एजेन्सी) ।

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोव जुमाले आफूलाई सुनाइएको १५ महिना लामो कारावास सजाय भुक्तानी गर्न प्रहरीसमक्ष बुधबार आत्मसमर्पण गरेका छन् । अदालतको अवहेलना गरेको अभियोगमा उनलाई सो कैद सजाय तोकिएको थियो । उनलाई उनकै ग्रह प्रान्त क्वाजुलु–नातालस्थित एस्टकोर्ट सुधार केन्द्रमा चलान गरिएको छ ।

प्रहरीले बुधबार मध्यराति सम्ममा आत्मसमर्पण नगरेको खण्डमा गिरफ्तार गर्ने चेतावनी दिएपछि अन्ततः जुमाले आत्मसमर्पण नै गर्ने निर्णय लिएका हुन् । भ्रष्टाचारको अभियोगको अनुसन्धानका लागि उपस्थित नभएका कारण गत साता अदालतले ७९ वर्षीय जुमालाई सो कैद सजाय सुनाएको थियो ।

कैद सजायको कारण दक्षिण अफ्रिकामा अप्रत्यासित नाटक मञ्चन हुन पुगेको छ । यसअघि, दक्षिण अफ्रिकाको इतिहासमा कहिल्यै पनि राष्ट्रपतिलाई जेल सजाय भएको थिएन । जुमालाई सन्् २०१८ मा उनको आफ्नै पार्टी अफ्रिकन नेसनल कंग्रेस (एएनसी) ले पद छाड्न बाध्य पारेको थियो ।