भारतमा ३६ करोडभन्दा बढीलाई कोभिड–१९ खोप प्रदान


इन्डियन न्युज नेटवर्क ।

भारतमा मंगलबारसम्म ३६ करोडभन्दा बढी नागरिकलाई कोभिड–१९ खोप प्रदान गरिएको छ । बुधबार बिहान ७ बजेसम्मको अस्थायी प्रतिवेदनअनुसार ४७ लाख ७ हजार ७ सय ७८ स्वास्थ्यकर्मीमार्फत कुल ३६ करोड १३ लाख २३ हजार ५ सय ४८ खोप खुराक प्रदान गरिएको छ ।

विगत २४ घण्टामा मात्र ३६ लाख ५ हजार ९ सय ९८ खोप खुराक प्रदान गरिएको छ । देशव्यापी खोप अभियानको नयाँ चरण जुनको २१ तारिखदेखि शुरू गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार केन्द्र सरकार देशव्यापी रूपमा प्रत्येक नागरिकलाई निःशुल्क खोप प्रदान गर्न प्रतिबद्ध छ । यसैबीच, गत २४ घण्टामा ४३ हजार ७ सय ३३ जना नयाँ संक्रमित बिरामी थपिएका छन् । लगातार १० दिनयता संक्रमितको संख्या ५० हजारभन्दा कम भेटिने गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार केन्द्र सरकार, राज्य सरकार र केन्द्रशासित प्रदेशको संयुक्त प्रयासको नतिजास्वरूप कोरोना भाइरस महामारी केही हदसम्म नियन्त्रित भएको हो।

देशको सक्रिय संक्रमित संख्या पनि घट्दो क्रममा छ । हाल देशको सक्रिय संक्रमित संख्या चार लाख ५९ हजार ९ सय २० पुगेको छ । गत २४ घण्टामा ४ हजार ४ सय ३७ ले घटेर सक्रिय संक्रमित संख्या देशको कुल संक्रमित संख्याको जम्मा १ दशमलव ५० प्रतिशत पुगेको छ । लगातार ५५ दिन दैनिक नयाँ संक्रमित बिरामीभन्दा दैनिक निको हुनेको संख्या पनि बढी देखिएको छ । विगत २४ घण्टामा ४७ हजार २ सय ४० जना संक्रमित निको भएका छन् ।

गत २४ घण्टामा निको हुनेको संख्या नयाँ संक्रमित बिरामीभन्दा ३ हजार ५ सय ७ ले बढी देखिएको छ । हालसम्म देशमा २ करोड ९७ लाख ९९ हजार ५ सय ३४ जना निको भइसकेका छन्। यसका साथै देशको कुल निको हुने दर ९७ दशमलव १८ प्रतिशत पुगेको छ ।

त्यस्तै, देशमा गत २४ घण्टामा १९ लाख ७ हजार २ सय १६ वटा नमुना परीक्षण गरिएको छ । हालसम्म देशभरि ४२ करोड ३३ लाख ३२ हजार ९७ वटा नमुना परीक्षण भइसकेका छन् ।

साप्ताहिक संक्रमण दर हाल २ दशमलव ३९ प्रतिशत पुगेको छ भने दैनिक सो दर २ दशमलव २९ प्रतिशत पुगेको छ । लगातार १६ दिन सो दर ३ प्रतिशतभन्दा कम कायम रहँदै आएको छ भने एक महिना पाँच प्रतिशतभन्दा कम कायम रहँदै आएको छ ।