बागमतीमा भीआरएस लागू हुँदै

3.3k
Shares

हेटौंडा, (नेस) ।

यातायातका सम्पूर्ण राजस्व भुक्तानी, नवीकरण, जरिवाना, अन्य दस्तुर तथा बीमासम्बन्धी कार्यलाई अनलाइन प्रणालीमार्फत् भुक्तानीको व्यवस्था मिलाइने भएको छ । बागमती प्रदेश सरकारले ‘विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवाप्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८’ स्वीकृत गरी अपग्रेटेड भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) सहित ट्रान्सपोर्ट म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम विकास र कार्यान्वयन गर्न स्वीकृत गरेको हो ।

साउन १ गतेदेखि यातायात क्षेत्रको सेवा र राजस्व भुक्तानी कार्यालयमा नपुगी विद्युतीय माध्यमबाट लिनसक्ने बनाइएको छ । सवारीसाधन नवीकरण तथा राजस्व तिर्न घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता अब अन्त्य हुनेछ । सवारी साधनको राजस्वसँगै तेस्रो पक्ष बीमा रकमसमेत अनलाइनमार्फत् भुक्तानी गर्न सकिने छ । कर्मचारी व्यवस्थापन सेवाग्राहीले विद्युतीय माध्यमबाट यातायात क्षेत्रका सेवा र राजस्व भुक्तानी कार्यालयमा नपुगी लिन सक्नेछन् । सरकारको डिजिटल नेपाल र बागमती प्रदेश सरकारको डिजिटल बागमती प्रदेश कार्यान्वयनको प्रतिवद्धता पूरा हुने विश्वास छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रकाशन गरेको सूचनाअनुसार यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री बनाउँदै राजस्व भुक्तानी, नवीकरण, जरिवाना, अन्य दस्तुर तथा बीमा सम्बन्धी कार्यलाई अनलाइन प्रणालीमार्फत् भुक्तानीको व्यवस्था मिलाउन लागिएको छ ।

विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवाप्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८ को नियम ५ र ७ अनुसार बागमती प्रदेश यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमा दर्ता भएका वा नवीकरण गरिएका सवारी साधनको विवरण अद्यावधिक गर्ने कार्य शुरु भएको हो । मन्त्रालयको यातायात व्यवस्था सूचना प्रणालीको वेबसाइट आफ्नो मोबाइल नम्बर भेरिफाइ गरी सवारी साधन सम्बन्धी विवरण प्रविष्ट गर्न सकिनेछ ।