पुँजीगत लाभकर मात्रै पौने ८ करोड संकलन

728
Shares

बासुदेव शर्मा, जाजरकोट ।

मालपोत कार्यालय जाजरकोटले राजस्व संकलनमा गुणात्मक उपलब्धि हासिल गरेको छ । विगतका वर्षभन्दा चालू आर्थिक वर्षमा कार्यालयले घरजग्गाको पुँजीगत लाभकरमा उपलब्धि प्राप्त गरेको हो ।

चालू आर्थिक वर्षको जेठसम्म ७ करोड ८५ लाख ६८ हजार १ सय ८१ रुपियाँ पुँजीगत लाभकर संकलन गरेको थियो । नलगाड हाइड्रोपावर कम्पनीले चालू आर्थिक वर्षमा ४ हजार ६ सय ५ रोपनी जग्गा अधिकरणबाट ७ करोड ८५ लाख ६८ हजार १ सय ८१ रुपियाँ पुँजीगत लाभकर संकलन भएको मालपोत कार्यालय जाजरकोटले जनाएको छ ।

कम्पनीले ३ हजार ९ सय ३३ कित्ता जग्गा अधिकरण गरेको छ । ५ वर्षभन्दा अगाडि जग्गाधनीको नाममा पुर्जा बनेका व्यक्तिबाट साढे दुई प्रतिशत र ५ वर्षभन्दा कम समयमा पुर्जा भएका व्यक्तिबाट ५ प्रतिशत पुँजीगत लाभकर संकलन भएको मालपोत कार्यालय जाजरकोटका प्रमुख डिल्लीबहादुुर केसीले बताउनुभयो ।

प्रतिवर्ष ८५ लाख रुपियाँ बराबर घरजग्गा रजिष्ट्रेसन राजस्व संकलन गर्दै आएको कार्यालयले चालू आर्थिक वर्षमा १ करोड १२ लाख २१ हजार २ सय ९० रजिष्ट्रेसनबाट राजस्व संकलन गरेको थियो । नलगाड हाइड्रोपावर कम्पनीले गरेको जग्गा अधिकरणबाट मुआब्जा बुझेका नागरिकले चालू वर्षमा जग्गाको कारोबारमा वृिद्ध भएको कार्यालय प्रमुख केसीले बताउनुभयो ।

कोभिड–१९ को संक्रमणले प्रभावित भए पनि घरजग्गा खरिद बिक्री कारोबारमा असर नपरेको कार्यालयले जनाएको छ । सात वटा पालिका रहेको जाजरकोटमा भेरी नगरपालिकामा ६१ लाख ९४ हजार ५ सय १८, नलगाड नगरपालिकामा २९ लाख ९६ हजार ८ सय ४, छेडागाड नगरपालिकामा ६ लाख ७१ हजार ६ सय ५५, बारेकोट गाउँपालिकामा ६ लाख ६१ हजार ३ सय २६, कुशेमा ३ लाख ४० हजार ६ सय ८१, शिवालयमा २ लाख २९ हजार ७ सय ५३ र जुनीचाँदे गाउँपालिकामा १ लाख २७ हजार ३ सय ५३ घरजग्गा रजिष्ट्रेसन भएर राजस्व संकलन भएको हो । रजिष्ट्रेसन राजस्व संकलनको ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत सम्बन्धित पालिकाको खातामा जम्मा हुने गरेको छ ।

महिलाको नाममा जग्गा रजिष्ट्रेसन गरे ३ प्रतिशत पुरुषको नाममा रजिष्ट̯ेशन गरे ४ प्रतिशत राजस्व दस्तुर लाग्दै आएको छ । तयस्तै एकल महिलालाई ३५ प्रतिशत, दलित वर्गलाई २५ प्रतिशत राजस्व छुट रहेको कार्यालय प्रमुख केसीको भनाइ छ ।