सवा ९ करोड राजस्व छली

210
Shares

काठमाडौं, (नेस) ।

खाद्य उद्योगका सञ्चालकले ९ करोड रुपियाँभन्दा बढीको राजस्व छली गरेको रहस्य खुलेको छ । चितवनको रत्ननगर–८ देवौलीस्थित शिवशक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेशकुमार अग्रवालसहित तीन जनाको मिलेमतोमा राजस्व छली भएको भन्दै राजस्व अनुसन्धान विभागले उनीहरुविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार कैफियत गरेर ९ करोड २७ लाख ३७ हजार बिगो बराबरको राजस्व छली गरेकाले जरिवाना र कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको हो । विभागले सञ्चालकद्वय दिनेशकुमार र सीमा अग्रवाल तथा थपलिया ट्रेड सप्लायर्सका प्रोपाइटर रामप्रसाद थपलियाले वास्तविक खरिद तथा बिक्री नदेखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकरसमेत राजस्व चुहावट गरेको जनाएको छ । उनीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधन २०७६) को दफा ३ ले निषेधित गरेको तथा सोही ऐनको दफा ४ को खण्ड (क), (ख) र (छ) बमोजिम कसुर गरेको विभागको दाबी छ ।

उनीहरुमाथि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधन–२०७६) को दफा २ (छ १) बमोजिम मूल्य अभिवृद्धि करतर्फ रु छ करोड ८६ लाख सात हजार र आयकरतर्फ २ करोड ४१ लाख ३० हजार राजस्व छली गरेको आरोप छ ।