ऋषिराज पर्दा पछाडिको हिरो

560
Shares

कुनै समयमा आफूले लेखेको कथामा चलचित्र बन्दा कस्तो होला भन्ने सोच्दै निर्माता तथा निर्देशककहाँ धाउने निर्देशक ऋषिराज आचार्य अहिले स्थापित निर्देशक भएका छन्। ऊ बेला कति निर्देशकले उनको कथा लिनै मानेनन् भने कतिले पछि हेरौँला भन्थे, पछि यो त मैले बनाउनेजस्तो विषय होइन भनेर टारिदिन्थे। पछि तीनै निर्देशक त्यही कथामा फिल्म बनाउँथे र फिल्म सुपरहिट पनि हुन्थे।

आचार्यलाई लाग्यो ‘यदि मेरो कथा अरूले चोरेर फिल्म बनाउँछन् भने किन म आफैँ निर्देशक नबन्ने?’ यही सोचले उनले फिल्म निर्देशन शुरू गरें। कक्षा ७ मा पढ्दै गर्दा हिरो बन्छु भन्ने सोचले दाङबाट भागेर काठमाडौं आई थुप्रै निर्माता निर्देशकको ढोका ढकढक्याउन पुगेका आचार्य जसरी भए पनि हिरो बन्ने धुनमा थिए।

उनी स्कुल पढ्दा आफू हिरो भएको कल्पना गरी पर्खालबाट हाम फाल्ने, लामो कपाल पाल्ने, संवाद बोलेर अभ्यास गर्ने गर्थे। ‘त्यो देखेर शिक्षक तथा साथीहरू यो त पक्कै फिल्ममा जान्छ भन्थे। कोही आफ्नो मान्छे नभई कसरी फिल्ममा खेल्छ? तर मलाई लाग्थ्यो म जसरी भए पनि फिल्ममा काम गरी छाड्छु’ उनी सम्झिन्छन् ‘फिल्म काठमाडौंमा बन्छ भन्ने थाहा पाएपछि साँढे ५ सय लिएर भागी काठमाडौं आएँ।

पत्रपत्रिका पढेर निर्माता निर्देशकको ठेगाना पत्ता लगाई उहाँहरूको घर पुग्न पाँच दिन लाग्थ्यो। दिनभरि ठेगाना खोज्ने अनि राति बसपार्कको होटेल साहुलाई अनुरोध गरेर डाइनिङ हलको भुईंमा सुत्थेें। मुस्किलले भेटेका निर्माता निर्देशकले अहिले तिमी सानै छौ हिरो हुने उमेर भएको छैन। ठूलो भएपछि आउ भनेपछि दाङ फर्केर पढ्न थालेँ।’

ऋषिराजका अनुसार एसएलसी सक्काएपछि क्याम्पस पढ्न काठमाडौं आएका उनलाई निर्माता निर्देशककहाँ धाएर सानो—तिनो भूमिका गर्नुभन्दा पर्दा पछाडि बसेर फिल्म निर्देशन गर्ने निर्देशक नै हिरो लाग्न थाल्यो। जसअनुसार उनी कथा लेखन तथा सह निर्देशनमा सक्रिय हुन थाले। त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका उनले २०६३ सालदेखि पाँच वर्षसम्म निर्देशक शम्भु प्रधानको सहायक भएर सहायक निर्देशनको काम गरे। त्यसपछि मुम्बईबाट फिल्म निर्देशनसम्बन्धी १ बर्षको अध्ययन गरेर नेपालमा फर्की आफ्नो निर्देशनमा आफन्त, यात्रा जिन्दगीकोजस्ता सुपरहिट टेलिसिरियल निर्देशन गरे। उनले निर्देशन गरेको सन्जिवनी, विश्वासजस्ता सिरियल पनि मन पराइए।

यस क्रममा उनले हास्य टेलिसिरियल झट्का र अर्के सिरियल ममता निर्देशन गरे। करिब १५ सय एपिसोड जति टेलिसिरियल निर्देशन गरिसकेपछि भने उनले ठूलो पर्दाको फिल्म मिस्टेक निर्देशन गरे। मिस्टेकपछि सपना तिम्रो मेरो निर्देशन गरे। जुन भूकम्प पछिको पहिलो सुपरहिट फिल्म बन्न पुग्यो। त्यसपछि, उनले जारी प्रथामा आधारित फिल्म सुन्तलीलाई भगाई लग्यो झिल्केले निर्देशन गरे। फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पायो भने विभिन्न संघ संस्थाबाट प्रशंसा र पुरस्कार पाउन सफल भयो।

त्यसो त उनले थाइल्यान्डसम्म पुगेर ड्रिम गर्ल नामक फिल्म पनि निर्देशन गरे। नेपालमा समेत छायाँकन गरिएको फिल्म दर्शकबाट अत्यन्तै मन पराइयो भने नेपालसँगै विभिन्न देशमा पनि प्रदर्शन भयो। ड्रिम गर्लपछि आचार्यले हास्य कलाकारहरूलाई लिएर हास्यप्रधान फिल्म चुरीफुरी निर्देशन गरेका छन्। यो फिल्मको अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको छ।

फिल्म क्षेत्रमा गरेको कामका आधारमा लोकतान्त्रिक खेलकुद परिषद,चलचित्र पत्रकार संघजस्ता संघसस्थाबाट सम्मानित भएका निर्देशक आचार्य नयाँ-नयाँ विषयवस्तुमा त्यसमाथि विभिन्न रीति कुरीतिको उजागर गर्दै फिल्म बनाउन चाहन्छन्। ‘तर कोभिडको कारण अहिले माहोल बिग्रेको छ । स्थिति सामान्य भए धेरै काम गर्ने योजना छ’ उनी भन्छन्। फिल्म निर्देशन गरेबापत २५ लाख रुपियाँ पारिश्रमिक लिने गरेका बताउने उनी आरबी मुभिजबाट अभिनय प्रशिक्षण पनि दिइरहको छन्।