सट्टेबाजी गर्ने ८ पक्राउ

0
Shares

काठमाडौं, (नेस) ।

खेलप्रेमीहरुका लागि महान् उत्सव बनिरहेको युरोकप–२०२० र कोपा अमेरिका कप–२०२० मा सट्टेबाजी गर्ने एउटा गिरोहलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।

प्रहरीको लामो अनुसन्धानपछि सट्टेबाजीका लागि राखिएको नगद र सट्टेबाजीका लागि प्रयोग भएका मोबाइलसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुकेधारा बस्ने राजेन्द्र श्रेष्ठ प्रधान, ढोकाटोल बस्ने जीवन लामा, कुलेश्वर बस्ने पर्सा वीरगन्ज महानगरपालिका–७ घर भएका सुरज टिवडेवाल, भारत विहार पूर्वीचम्पारण घर भएका अशोककुमार गुप्ता, धापासी बस्ने चितवन खैरहनी नगरपालिका–५ टरौलीका गोविन्दप्रसाद आचार्य, इन्द्रचोक बस्ने भारत हरियाणाका राजेशकुमार अग्रवाल, क्षेत्रपाटी बस्ने भारत राजस्थान झुनझुन सुरजगढ घर भएका सुचित डालमिया अग्रवाल र मरुटोल बस्ने मोरङ विराटनगर नगरपालिका–७ का अमरनाथ गुप्ता रहेका छन् ।

युरोकप र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइनमार्फत ठूलो रकमको बाजी राख्न लगाई काठमाडौंका विभिन्न स्थानमा सट्टेबाजी गराएर खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौंको इन्द्रचोक, मरुटोल, न्युरोड, क्षेत्रपाटी, गौरीघाटलगायतका विभिन्न स्थानबाट अनलाइन बेटिङ गरी नगदी कारोबारसमेत गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

साथै विभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको रकम आईएमईबाट पठाउने र लिने गरी कारोबार गर्ने गरेको पाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो ।