छाउपडी प्रथा अन्त्यको अठोट

0
Shares

सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रमा महिलाहरूले रजश्वला र सुत्केरी भएका बेला घरका कुनै पनि सरसामान छुनुहुँदैन भन्ने अन्धविश्वास कायम छ । त्यसैले यस्तो बेलामा सुत्केरी वा रजश्वला भएकी नारीलाई घरभन्दा केही पर बनाइएको झुपडीमा बस्न लगाइन्छ । यस्तो गोठलाई छाउपडी कुडी भनिन्छ ।

छुई अथवा छाउपडी, महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहरूलाई कसैले छुन नहुने र घर परिवारदेखि बेग्लिएर बस्नुपर्ने परम्परा हो । यो प्राचीनकालदेखि नै चलिआएको बताइन्छ । मुलुकका अन्य जिल्लाका अतिरिक्त मध्य तथा सुदूरपश्चिम, पश्चिम नेपालका विकट पहाडी जिल्ला जुम्ला, कालिकोट, दैलेख, डोल्पा, बझाङ, अछाम र बाजुरालगायतका दुई दर्जनभन्दा बढी जिल्लामा यो प्रथा कायमै छ । छुईका कारण अलग्गै बसेका बेला महिलाहरूमा पटक–पटक अप्रिय घटना हुन थालेपछि यहाँका महिला चिन्तित छन् ।
विशेष गरी बाहुन, क्षत्री, मगर, ठकुरी परिवारका महिला यो परम्पराबाट पीडित छन् । सुत्केरी भएको २२ दिनसम्म र महिनावारी भएको नौ दिनसम्म घरदेखि टाढाको छाप्रोमा बस्नुपर्ने हुन्छ । छाउपडी बस्ने महिलाले दही, दूध खाएमा र घर तथा भाँडाकुडा छोएमा देउता रिसाउँछन् भन्ने जस्तो अन्धविश्वास रहेको छ । सुत्केरी तथा रजश्वला भएकी नारीलाई झन् सफा राख्नुपर्ने तथा प्रशस्त पोषिलो आहार खुवाई आराम गराउनुपर्ने अवस्थामा शिक्षित, सम्पन्न र सभ्य भनिने घरका छोरी, बुहारीसमेत रजश्वला हुँदा घरका गाईभैँसीको दूध खाँदैनन् । यस्तो बेलामा घरमा पालेको गाईभैँसीको दूध खाए तिनले दूध दिन छोड्छन् भन्ने अन्धविश्वास छ ।

अहिले भने छाउपडी प्रथा अन्त्य गर्नका लागि विभिन्न सामाजिक संघसंस्थाहरू आन्दोलनमा उत्रेका छन् । परम्परागत जनविश्वासका कारण यस्ता महिलालाई छोएको खण्डमा वा कुनै लसपस भएमा अशुद्ध हुने भएकाले छोए पनि सुनपानीको छिटो हाल्ने, गहुँत खुवाउने, घरका कुलदेवता चोख्याउनेजस्ता चलन छ । प्राचीनकालदेखि चलिआएको परम्परालाई लत्याएर महिलाहरू महिनावारी तथा सुत्केरी भएको अवस्थामा छुइछाइ गरेमा, घरका कुलदेवता रिसाउने र परिवारमा हानि नोक्सानी पुग्ने, शरीर सुक्दै जाने, अन्नबाली नफल्ने अन्धविश्वास छ ।

छाउपडी प्रथाका कारण विभिन्न विकृतिहरू देखा पर्ने गरेका छन् । जस्तो कि छाउपडी बसेका बेला बलात्कार हुने, सर्पले टोकेर मर्ने लगायतका घटनाहरू विभिन्न सञ्चारमाध्यमबाट सुन्नमा आउँछन् । कतिपय महिला छाउपडीमा बसेका बेला चिसोले कठ्याङ्ग्रिएर र कतिपय बढी रक्तस्राव भएर पनि मर्ने गरेका छन् ।

पश्चिम नेपालका धेरैजसो क्षेत्रमा छाउपडी प्रथा त्यहाँको धर्म र सस्कृति हो । संस्कृतिको आडमा महिलाहरूमाथि गरिने यस्ता अमानवीय व्यवहार मानव अधिकारका विरुद्धमा छन् । सुत्केरी होस् वा महिनावारी महिलाका प्रजनन अंगबाट रातो पदार्थ निस्केपछि उनी अछूत हुन्छिन् । सुत्केरी अवस्थामा लामो समयसम्म रजश्वला भइरहने हुनाले सुत्केरी हुँदा महिलाले जाडो वा गर्मी होस्, छाउ अर्थात् गोठमा घर र परिवारबाट अलग भएर बस्नुपर्दछ । यस्तो नाजुक अवस्थामा उनले बच्चा र आफ्नो स्याहार आफैंले गर्नुपर्दछ । यति मात्र नभई सुत्केरी अवस्थामा उनलाई दही, दुधजस्ता तागत लाग्ने खानेकुराहरुसमेत छुन र खान दिइँदैन । पर्याप्त कपडा र ओछ्याउने सरसामानसमेत दिइँदैन । धारा, खोला तथा दहहरुका पानी छुन दिइँदैन । उनले कसैलाई छुनसमेत हुँदैन । महिनावारी पनि यसै गरी बारिन्छ तर यो भने पाँच दिन मात्र बारिन्छ ।

छाउपडी प्रथाजस्तो भेदभावपूर्ण व्यवहारका विरुद्घ सम्मानित सर्वोच्च अदालतले नेपाल सरकारका नाममा २०६२ साल वैशाख १९ गते छाउपडी प्रथालाई कुरीति घोषणा गरी यो प्रथा अन्त्य गर्न आवश्यक निर्देशिका बनाई लागू गर्न आदेश जारी गरेको छ ।

छाउपडी प्रथा समाजमा व्याप्त अन्धविश्वाससँग सम्बन्धित छ । मानवीय तथा सामाजिक विकासको स्तर अग्रस्थानमा भएका समाजमा महिनावारीसम्बन्धी कुरीतिहरु क्रमिकरूपमा हट्दै गएका छन् । सामाजिक विकासको गति धिमा भएका र विकासमा पछि परेका समाजमा महिनावारीसम्बन्धी अझै पनि कुरीतीहरु रहिरहेका छन् । तर अब धेरै ठाउँमा क्रमशः यस प्रथाको अन्त्य गर्ने अठोटले नयाँ पिँढी अगाडि बढिरहेका छन् ।

– पूर्णिमा मल्ल, बझाङ ।

सरुवा रोगमा लामखुट्टेको भूमिका

डेंगु विषाणुबाट संक्रमित पोथी लामखुट्टे एडिस एजिप्टी र एडिज अल्वोपिक्टसको टोकाइबाट डेंगु लाग्छ । लामखुट्टेविना मानिसबाट मानिसमा डेंगु रोग सर्दैन र सबै लामखुट्टेले टोक्दैमा पनि रोग लाग्दैन । बाघजस्तै टाटेपाटे देखिने भएकाले एसियन टाइगर पनि भनिने यस लामखुट्टेले सूर्योदय भएको दुई घन्टापछि मध्यान्तरसम्म वा दिउँसो टोक्छ ।

डेंगु फैलाउने लामखुट्टेले जिका, चिकनगुनिया, यलो फिवरसमेत सार्छ । लामखुट्टेले टोकेपछि मानिसलाई टोकेको स्थानमा चिलाउँछ । संक्रमित मच्छडको आयु ३० दिनको हुन्छ भने जमेको सङ्लो पानीमा अण्डा, लार्भा र प्युपा हुन १० दिन लाग्छ । पानी सुके पनि अण्डा वर्षदिनसम्म रहिरहने भएकाले रोग नियन्त्रण गर्न मुस्किल पर्छ । कुनै किसिमको पानी जम्ने ठाउँ, प्राकृतिक–अप्राकृतिक भाँडालाई बग्ने बनाउने, पुर्ने, सुकाउने, गाड्ने वा जलाउने गर्नुपर्छ । घरका झ्यालढोकामा मसिनो जालीको प्रयोग गर्ने, सुत्दा कीटनाशक झुलको प्रयोग गर्ने, पंखा, एयरकुलर, एयरकन्डिसन प्रयोग गर्नुपर्छ ।

जाली र झुलको व्यवस्था हुन नसक्ने ठाउँमा लामखुट्टे भगाउने धूप, झोलको प्रयोग गर्ने, घरबाहिर जाँदा शरीरको खुला भागमा लामखुट्टे धपाउने मलम प्रयोग गर्ने वा तोरीको तेल, नीमको तेल वा लामखुट्टे रिपेलेन्ट दलेर बस्ने र सुत्ने र प्रभावित क्षेत्रमा जाँदा वा बस्दा पूरै शरीर ढाकिने गरी लामो बाहुला भएको सेतो हलुका रङ्गको कमिज र प्यान्ट लगाउनुहोस् । जनचेतनामा अभिवृद्धि गर्नुपर्छ ।

डेंगुको खोप विकसित देशमा उपलब्ध भए पनि हामीकहाँ छैन । मानिसबाट मानिसमा नसर्ने भएकाले डेंगु रोग सार्ने प्रमुख कारण संक्रमित लामखुट्टेको टोकाइ भएकाले लामखुट्टेको टोकाइबाटै जोगिनु तथा लामखुट्टे निर्मूल गर्नुपर्ने समग्रमा रोकथाम हो । तसर्थ क्षति न्यूनीकरण गर्न हामी आफैं विभिन्न तह र तप्काबाट लाग्नुपर्छ ।

– समीर रायमाझी, रौतहट ।