उड्ने कारको सफल परीक्षण


ब्राटिस्लाभा, (एजेन्सी) ।

स्लोभाकियाको एउटा कम्पनीले प्रोटोटाइप उड्ने कारको सफल परीक्षण उडान सम्पन्न गरेको छ । स्लोभाकियाका दुई शहरबीच गरिएको सो परीक्षणको दौरानमा कार ३५ मिनेट आकाशमा उडेको थियो ।

‘क्लेइन भिजन’ नामक सो कम्पनीले एयर कार प्रोटोटाइप–१ सोमबार निटा र राजधानी ब्राटिस्लाभा शहरबीच उडाएको हो । यसरी दुई शहरबीच सफलतापूर्वक कार उडाइएको पहिलोपटक भएको यस कम्पनीका प्रवक्ताले बताएका छन् ।

कम्पनीका अनुसार उडान परीक्षणमा यो कारको अधिकतम गति १ सय १८ माइल प्रतिघण्टा रहेको र यसले सामान्य कारबाट सोही दूरीबीच लाग्ने समयभन्दा आधा समय मात्र लिएको जनाएको छ ।

क्लेइन भिजनका सह–संस्थापक एन्तोन जाजाकले पत्रकार सम्मेलनमा भनेका छन्– ‘अब एयर कार एउटा परिकल्पना मात्र रहेन । यस परीक्षणले विमान परिकल्पनालाई वास्तविकतामा बदलिदिएको छ । ’

एयर कारमा बीएमडब्ल्यू कारको १ सय ६० हर्स पावरको इन्जिन प्रयोग गरिएको छ । बटन थिचिएको तीन मिनेटभित्र यो पुनः एयरबाट स्पोर्टस कारमा परिणत हुने गर्दछ ।

कम्पनीले अब एयर कार प्रोटोटाइप–२ मा काम भइरहेको र ३ सय हर्स पावरको इन्जिन प्रयोग हुने उक्त कारको अधिकतम गति १ सय ८६ माइल प्रतिघन्टा हुने जनाएको छ ।