यातायातमा लगाइएको जोरबिजोर हट्यो

1.8k
Shares

सुनील महर्जन, काठमाडौं ।

उपत्यकाका तीनवटै प्रशासनले निषेधाज्ञामा रोक लगाइएका केही क्षेत्रबाहेक अधिकांश प्रावधान हटाएको छ ।

आइतबार बसेको उपत्यकाका तीनवटै प्रशासनले मंगलबारदेखि निषेधाज्ञा अझ खुकुलो बनाउँदै लग्ने निर्णय गरेको हो । सार्वजनिक यातायातमा लगाइएको जोरबिजोर नियम हटाउँदै सबै सार्वजनिक यातायात चलाउने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार अब सबै निजी तथा सार्वजनिक सवारीसाधन स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाइने भएको छ ।

‘सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने यात्रुलाई मास्क अनिवार्य गरिएको छ । चालक र सहचाकलले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ भने ढोकामा स्यानिटाइजर राख्नुपर्नेछ । हरेक दिन सवारीसाधन निसंक्रमण गर्नुपर्नेछ’ –उहाँले भन्नुभयो ।

यस्तै सफा टेम्पो र नीलो माइक्रोबसको हकमा तेर्सो सिटमा चार÷चार जना र चालक छेउमा एक जना यात्रु राख्न पाइनेछ । तर, सवारीसाधनको मध्य भागमा दुईतर्फका यात्रु छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्ने मापदण्ड तोकिएको छ । वैशाख १६ देखि निषेधाज्ञा लगाएको स्थानीय प्रशासनले जोरबिजोरका आधारमा असार ७ देखि निजी र १५ गते २५ सिटभन्दा माथिका बस मात्र चल्न दिएको थियो ।

उपत्यकामा पसल खोल्ने समय पनि बढाइएको छ । अब सबै पसल साँझ ६ बजेसम्म खुला गर्न पाइनेछ । तर, व्यवसाय सञ्चालन गर्दा दुई मिटरको भौतिक दुरी, स्यानिटाइजर, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।

यसअघि, दुध फलफूल, खाद्यान्नबाहेकका पसलहरू बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म मात्र खुला गर्न पाइने व्यवस्था थियो । औषधि र स्वास्थ्य सामग्रीसम्बन्धी पसल भने जुनसुकै समयमा सञ्चालन गर्न पाइनेछ । त्यस्तै, बैठकले भौतिकरूपमा परीक्षाहरू सञ्चालन गर्नसमेत अनुमति दिएको छ । बढीमा २५ जना नबढ्ने गरी भौतिकरूपमा परीक्षा सञ्चलन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी निरौलाले भन्नुभयो ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले असारको पहिलो सातादेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लगेको थियो । मंगलबारदेखि लागू हुने निषेधाज्ञामा ६ क्षेत्रमा मात्र रोक लगाइएको छ ।

प्रशासनले सबै प्रकारका सभा–सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, स्विमिङ पुल, खेल स्थललगायतका भीड हुने क्षेत्रमा रोक कायमै राखेको छ । खुला स्थानमा मानिसको भेला, जम्मा हुन, सभा जुलुस र जात्रा महोत्सव गर्न अझै रोक लगाइएको छ ।

विवाह व्रतबन्ध तथा सामूहिकरूपमा गरिने सांस्कृतिक कार्यहरू होटल तथा पार्टी प्यालेसमा गर्न पाइने छैन । पुजारीबाट हुने पूजाबाहेकका धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ । भौतिक उपस्थितिको पठनपाठनमा अझै रोक लगाइएको छ । स्थानीय ढुवानीका गाडी ९ बजेदेखि ११ बजेसम्म र अपराह्न चार बजेदेखि सात बजेसम्म सञ्चालन गर्न पाइने भनिएको छ ।

साथै काठमाडौं उपत्यका प्रवेश गर्नलाई स्थानीय प्रशासनको पास अनिवार्य चाहिने र उपत्यका छोड्दा पनि रिसिभ पास अनिवार्य चाहिनेछ । लामो दुरीका सवारीसाधन नचल्ने गरी निषेधाज्ञा खुकुलो बनाएको र जारी निषेधाज्ञा आगामी असार ३१ गतेसम्म थप्ने निर्णय भएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि तीनवटै जिल्लाका प्रशासनले वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरेको थियो । पटकपटक निर्णय गरी निषेधाज्ञाको अवधि लम्ब्याइएको थियो ।