खानिखोलामा कांग्रेस परित्याग गरी एमाले प्रवेश



मोतीराम तिमल्सिना, काभ्रे ।

नेकपा एमाले भित्रको विवाद सल्टिएको छैन तर जिल्लाका विभिन्न पालिकामा अन्य पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गराउने क्रम रोकिएको छैन । कोभिड संक्रमणका बीच खानीखोला गाउँपालिकामा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा ७० जना नेपाली काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

खानिखोला गाउँपालिका वडा नम्वर ६ र ७ मिल्चे महाँकालमा नेपाली काँगेस परित्याग गरी शनिबार एकै दिन ७० जना प्रवेश गरेको वडा अध्यक्ष समेत रहेका एमाले नेता मानबहादुर गोलेले जानकारी दिनु भयो । सोहि वडाबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट अध्यक्ष पदको उम्मेदवार उठी पराजय भोगेका गोपाल दर्लामी मगरको स्थायी बसोबास हो । मिल्चेका विभिन्न स्थानबाट नेकपा एमाले प्रवेश गरेका कार्यकर्ताहरुलाई स्वागत गर्न एमाले जिल्ला नेता एवं गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलाल पुग्नु भएको थियो । गाउँपालिका अध्यक्ष कृष्ण खुलालले विकट क्षेत्रको विकास र समृद्धी नेकपा एमालेको नेतृत्वमा मात्रै सम्भव भएकाले संघ, प्रदेश र स्थानीय तहको सरकार मार्फत भएका विकास निर्माणबाट लााभन्वित भएका नागरिकहरु सबै नेकपा एमालेमा सहभागि हुनु पर्ने बताउनु भयो ।

एमालेले २०५४ सालको स्थानीय निकायको निर्वाचन पनि खानिखोला जाने खोपासी ताल्ढुंगा सडक निर्माण शुरु गरेको थियो । उक्त सडक २०७४ सालको स्थानीय तहको निर्वाचन पछि सूचारु भएको छ । उक्त सडक निर्माणका लागि प्रदेश र संघ सरकारले करोडौ रकम विनियोजन गरेको छ । वर्षातका केहि दिन बाहेक १२ महिना नै सवारी सञ्चालन गर्ने गरी सडक निर्माण कार्य सम्पन्न भएको छ । उक्त सडक पक्कि निर्माण गर्ने गरी आगामी वर्षका लागि बजेट विनियोजन भएको छ । ताल्ढुङ्गा जानका लागि विभिन्न स्थानका सडक निर्माण कार्य शुरु भएको छ । उक्त कार्यक्रममा एमाले नेतृ एवं गाउँपालिका उपाध्यक्ष रुकमणी गुरुङ्गले महिला तथा बालबालिकाहरुको अधिकारका लागि पालिकाले विनियोजन गरेका कार्यक्रम प्रभावकारी भएको बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष दुर्गा तिमल्सिना तथा अन्य जनप्रतिनिधि र एमाले नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नेकपा एमाले खानिखोला गाँउ कमिटीले पार्टी प्रवेश कार्यक्रम सबै वडामा शुरु गरेको जानकारी दिएको छ । अध्यक्ष कृष्ण खुलालले ७ वटै वडाहरुमा पार्टी प्रवेश कार्यक्रम राखेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्