‘खोप नलगाउनेलाई अस्पतालको जागिरबाट निकालिनु ठीक’


ह्युस्टन, (एजेन्सी) ।

अमेरिकाको टेक्सासस्थित ह्युस्टन मेथोडिस्ट अस्पतालमा कोभिड–१९ विरुद्धको खोप लगाउन नमान्ने एक सय जनाभन्दा बढी स्वास्थ्य कर्मचारीलाई जागिरबाट निकालिएको थियो । तिनै जागिरबाट निकालिएकाहरूले गरेको अपिल उपर निर्णय गर्ने क्रममा अदालतका न्यायाधीशले अस्पतालसँग तिनीहरूलाई जागिरबाट निकाल्ने अधिकार रहेको जनाएको छ ।

‘जेनिफर ब्रिजेज’ नामक एक अनुमतिप्राप्त नर्सले अब जागिरबाट निकालिएकामध्ये १ सय ३७ जना नर्स लगायतका अन्य स्वास्थ कर्मचारीहरू न्यायका लागि सर्वोच्च अदालत जाने बताएकी छन् ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूका वेबसाइटमा मुलुकभरिका स्वास्थ्य उपचार संघ संस्थाले भाइरस फैलिन नदिन आफ्ना कर्मचारीलाई खोप लगाउनुपर्ने सूचना उल्लेख गरिएको छ ।

जर्ज वासिङ्टन युनिभर्सिटीका जनस्वास्थ्य प्राध्यापक डा. लिएना बेनले आफूलाई बिरामी हुन नदिनु र रोग फैलाउन रोक्नु सम्पूर्ण स्वास्थ्य कर्मचारीहरूको जिम्मेवारी भएको बताएकी छन् ।

टेक्सास ट्रिब्युनका अनुसार ब्रिजेज गत साता अस्पतालको जागिरबाट निकालिएका कुल १ सय ५३ जना कर्मचारीमध्ये एक हुन् । अमेरिकी सरकारले अस्पतालका कर्मचारीहरूले कोभिड–१९ विरुद्ध खोप लगाउनुपर्ने नीति गत १ अप्रिलमा घोषणा गरेको थियो ।