बाढीपहिरोमा परी ३८ को मृत्यु, अझै तीन दिन वर्षा हुने

938
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

असारको पहिलो साताबाट शुरू भएको वर्षाका कारण हालसम्म ३८ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् । बाढी र पहिरोमा परी ३९ जना घाइते भएका छन् ।

अविरल वर्षाका कारण ४८ जिल्ला पूर्णरूपमा प्रभावित भएका छन् । सोही अवधिमा चार सय ८९ घर पूर्णरूपमा भत्किएका छन् भने एक सय १२ घर आंशिकरूपमा भत्किएका छन् । गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी मानवीय र भौतिक क्षति सिन्धुपाल्चोकमा भएको छ । त्यहाँ बाढी र पहिरोमा परी पाँचको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा तीन सय ३८ वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।

अहिलेसम्म बाढी र पहिरोका दुई सय दुईवटा घटना भएका छन् भने मनाङमा आएको बाढीबाट ५९ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार बाढी र पहिरोमा पारी ३६ वटा सरकारी भवन पनि पूर्णरूपमा ध्वस्त भएका छन् । यसका साथै बाढीले २२ वटा झोलुङ्गे पुल बगाएको छ भने १४ वटा पक्की पुल क्षतिग्रस्त भएका छन् ।

२५ वटा साना तथा ठूला जलविद्युत् आयोजनामा क्षति पुगेको तथा सातवटा सामुदायिक भवन तथा विद्यालय भत्किएका छन् । बाढीले सातवटा मोटरेबल काठेपुल बगाएको छ भने दुईवटा वित्तीय संस्थामा क्षति पुगेको पनि प्रवक्ता दाहालले जानकारी दिनुभयो । यही अवधिमा ३९ अर्ब बराबरको भौतिक क्षति भएको सरकारले दाबी गरेको छ । अविरल वर्षाका कारण मुलुकका मुख्य राजमार्ग अवरुद्ध हुने क्रम जारी रहेको छ भने हजारौं मानिस गन्तव्यमा पुग्न नसकेर बाटोमा नै अलपत्र परेका छन् । सडकमा अलपत्र परेका मानिसलाई स्थानीय प्रशासनले गन्तव्यमा पु¥याउने प्रयास गरिरहेको मन्त्रालयले जनाएको छ ।

बाढी र पहिरोबाट वागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ भने प्रदेश नम्बर १ र २ मा विभिन्न नदीमा आएको बाढीका कारण पूर्वी र मध्य तराईका अधिकांश भाग ढुबानमा परेका छन् ।

बाढीपहिरोबाट गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसमेत प्रभावित भएका छन् । यस वर्ष मुलुकका विभिन्न जिल्लामा अत्यधिक वर्षा हुने र १८ लाखभन्दा बढी मानिस प्रभावित हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिलेसम्म बाढी र पहिरोमा परी एक लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।

अझै तीन दिन वर्षा हुने

देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकाले वर्षा हुने क्रम जारी रहेको छ हाल तराईका भू–भाग नजिक मनसुनी न्यूनचापीय रेखा सक्रिय रहेकाले प्रदेश नम्बर १, २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा भारी वर्षा हुने भएको छ । आगामी सोमबारसम्म ती स्थानमा सामान्यदेखि भारी वर्षा हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । मुलुकभरका ठूला तथा साना नदीमा पानीको बहाव बढ्ने क्रम तीव्र रहेकाले सकभर नदी किनारा तथा जोखिमयुक्त पहाडी क्षेत्रमा भ्रमण नगर्नसमेत विभागले आग्रह गरेको छ ।

प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश–२ र वागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।