सांसद्ले पोखे सिन्धुपाल्चोकको पीडा, काठमाडौंलाई पानी नदिने चेतावनी

532
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

‘राजधानीको तिर्खा मेटाउने पानीको मुल भएको स्थानमा विपद्मा सहयोगको विशेष व्यवस्था नभए मेलम्चीबासीले काठमाडौंमा पानी झर्न दिने छैनन् । दुवै सरकारले बेवास्ता गरे हेटौंडामा रहेको बागमती प्रदेशका मुख्यमन्त्रीको निवास र काठमाडौंको प्रधानमन्त्री निवास बालुवाटार कब्जा गर्नु नपरोस्,’ बागमती प्रदेशसभामा उक्त क्षेत्रका सांसद् निमा लामाले स्थानीयको पीडा प्रस्तुत गर्नुहुँदा सभाका सहभागी सांसद्हरुले समर्थन जनाए । सांसद् लामाले सिन्धुपाल्चोकको पीडामा मल्हम नलगाउने हो भने प्रधानमन्त्री र मुख्यमन्त्री कार्यालय घेर्न पछि नपर्ने चेतावनी दिनुभयो ।

उहाँले केन्द्र र बागमती प्रदेश सरकारले बेवास्ता जारी राखे काठमाडौंमा खानेपानी आपूर्ति ठप्प पारिने चेतावनी दिनुभयो । सभामा सिन्धुपाल्चोकबाट निर्वाचित राहत र पुनर्निर्माण थाल्नुपर्नेमा उक्त उहाँले माग गर्नुभयो । प्रदेशसभामा सांसद् लामाले राजधानीको तिर्खा मेटाउने मेलम्ची र पाँचपोखरीमा अर्को पार्टीको स्थानीय सरकार भयो भनेर बेवास्ता गरिएको दाबी गर्नुभयो । ‘राजधानीको तिर्खा मेटाउने मेलम्चीको पीडामा सरकारले वास्ता नगर्दा लाजमर्दाे स्थिति छ,’ लामाले प्रधानमन्त्री केपी शर्माओलीले दुःखमा नाकमुख नदेखाएकोमा आक्रोश व्यक्त गर्नुभयो ।

भन्नुभयो–यो देशकै लागि लज्जास्पद विषय हैन र, स्थानीय जनप्रतिनिधि ओली पक्षका भएनन् भन्दैमा यसरी पक्षपात गर्न पाइन्छ र । उहाँले प्रश्न गर्नुभयो–हेलम्बुका स्थानीय सरकार कांग्रेसको, मेलम्ची र पा“चपोखरीको स्थानीय सरकार माधव नेपाल पक्षका भएका कारण न प्रधानमन्त्री ओलीको प्राथमिकता प-यो न त बागमती प्रदेश सरकारको । ‘कैयौंका व्यापार/व्यवसाय सखाप भए । कैयौंका सपना लेदोसहितको बाढीमा बिलिन भएको देख्दा कसको मन दुख्दैन होला ?,’ उहाँले पीडा पोख्दा केही सांसद्का आँखा रसाएका थिए ।

संसद्मा सांसद् लामाले भन्नुभयो–के मेलम्ची बागमतीको गौरवको परियोजना हैन र । प्रदेश सरकारले हालसम्म सिन्धुपाल्चोक बाढीपीडितका लागि कुनै योजना र कार्यक्रम नल्याएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।सम्बन्धित प्रदेशका सदस्यसँग सल्लाह नगरी खल्तीका मन्त्रीलाई खुशी बनाउन त्यहाँ बजेट हालेर कभर्डहल बनाउनु सरकारको गल्ती भएको आरोप लगाउँदै सांसद् लामाले भन्नुभयो–वर्ष दिनअघि कभर्ड हल बन्दै गर्दा ८ कामदारको मृत्यु भएको थियो । सायद, त्यही नै पूर्वसूचना थियो कि प्रकोपको । हाल जनताले बगरमा संरचना बनाए भनेर पीडित जनतामाथि पीडा थप्ने काम भएको उहाँको कथन छ ।

‘जोखिमको प्रतिवेदन थियो भने किन त्यो प्रतिवेदन जनतालाई देखाइएन । जनतालाई सचेत किन गराइएन’ आक्रोश व्यक्त गर्दै लामाले भन्नुभयो–देशकै ठूलो र खर्चिलो परियोजना मेलम्ची बनेको क्षेत्रमा बाढीपहिरोको मूल्याकन पहिले नै भएकै थियो होला । सरकारको खेला“चीले हाल मेलम्ची खानेपानी परियोजनासमेत अनिश्चित बनेको उहाँको टिप्पणी छ ।

बिहीबार प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशबराज पाण्डेले सिन्धुपाल्चोकमा बाढीपहिरोले २ सय ९३ घर परिवार विस्थापित र ४ सय ९४ घर परिवार जोखिममा परेको जानकारी दिनुभएको थियो । मन्त्री पाण्डेले वर्षाका कारण पाँचपोखरी थाङ्पालका ६५ परिवार, हेलम्बुमा २ सय ४ परिवार र मेलम्चीमा २४ घरपरिवार गरी २ सय ९३ घरपरिवार विस्थापित भएको बताउनुभयो ।

मन्त्री पाण्डेले पाँचपोखरीमा ४ घर, हेलम्बुमा १ सय २० घर, मेलम्चीमा २० घर र भोटेकोशीमा ३ सय ५० घर गरी ४ सय ९४ घरपरिवार जोखिममा रहेको भन्दै बाढीमा हालसम्म २० जना सम्पर्कबिहीन रहेको जानकारी दिनुभएको थियो । उहाँले प्रभावितका लागि तत्काल प्रदेश सरकारबाट ५० थान टेण्ट र १ सय थान त्रिपाल पठाइएको, प्रदेश विपद् व्यवस्थापन समितिले मेलम्ची र हेलम्बुलगायतमा उद्धार सामग्री तथा खाद्यान्न पु-याउने काम गरेको दाबी गर्नुभएको थियो ।

मन्त्री पाण्डले तत्काल विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले ५ करोड दिने निर्णय गरेको बताउनुभयो । मन्त्री पाण्डेले भन्नुभयो–तत्काल विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले ५ करोड रुपियाँ दिने निर्णय गरेको छ । १ करोड सिन्धुपाल्चोकको विपद् व्यवस्थापन समितिमार्फत् खर्च हुने गरी रकम पठाइएको छ ।