क्वार्टरफाइनल समीकरण पूरा


युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ चरणको सबै खेल समाप्त भएसँगै क्वार्टरफाइनलको समीकरण पूरा भएको छ । अब दुई दिन विश्रामपछि क्वाटरफाइनल चरणको खेल शुरू हुनेछ ।

राउन्ड अफ १६ बाट डेनमार्कले वेल्समाथि ४–० को फराकिलो जित दर्ता गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ । इटालीले पनि अतिरिक्त समयमा अष्ट्रियालाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गर्न सफल भयो । समूह चरणमा शत प्रतिशत नतिजा निकालेको नेदरल्यान्ड्सलाई भने २–० ले हराएर चेक रिपब्लिक पनि अन्तिम आठमा पुग्यो । त्यस्तै, क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई १–० ले हराउँदै बेल्जियमले पनि अन्तिम आठमा स्थान सुरक्षित गर्‍यो ।

त्यस्तै, स्पेनले विश्वकपको उपविजेता क्रोएसियालाई अतिरिक्त समयमा पराजित गर्दै क्वाटरफाइनल यात्रा गरेको थियो । विश्वकप विजेता फ्रान्सको यात्रामा पनि स्विट्जरल्यान्डले पूर्णविराम लगाएर क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

इंग्ल्यान्डले पनि पहिलो पटक युरोको नकआउट चरणमा जर्मनीलाई हराउँदै क्वाटरफाइनल यात्रा तय गर्‍यो । राउन्ड अफ १६ कै अन्तिम खेलमा युक्रेनले पनि स्वीडेनलाई स्तब्ध पार्दै पहिलोपटक क्वाटरफाइनलमा स्थान बनायो ।

क्वार्टरफाइनलका खेलहरू (नेपाली समयअनुसार)

शुक्रबार, २ जुलाइ

स्विट्जरल्यान्ड विरुद्ध स्पेन (राति ९ः४५ बजे, सेन्ट पिटर्सवर्ग)
बेल्जियम विरुद्ध इटाली (राति १२ः४५ बजे, म्युनिख)

शनिबार, ३ जुलाइ

चेक रिपब्लिक विरुद्ध डेनमार्क (राति ९ः४५ बजे, बाकु)
युक्रेन विरुद्ध इंग्ल्यान्ड (राति १२ः४५ बजे, रोम)