पाँच महिना अघि अर्थमन्त्रीले शिलान्यास गरेको सडक अझै शुरू भएन

938
Shares

यमलाल भुसाल, बुटवल ।

पाँच महिना अगाडि अर्थमन्त्री विष्णु पौडेलले निर्माण शिलायान्स गरेको बुटवलका सडक अझै निर्माण शुरू भएको छैन ।

राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक छ लेन बनाउने गरी सडक किनारका घरसमेत भत्काइएको छ । तर, काम अगाडि बढेको छैन । मंगलबार जनता समाजवार्दी पार्टीले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलको मुख्य सडक खण्डअन्तर्गतको राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडकमा ठूला–ठूला खाल्डा र सडक अव्यवस्थित भएको भन्दै मुख्यमन्त्रीलाई प्रश्न गर्दै ब्यानरहरू टाँगिदिएका थिए । बुटवल बेलहिया सडक खण्डको बुटवलको मुख्य बजार क्षेत्रमा पर्ने साढे ३ किलोमिटर सडकको निर्माणको लागि अर्थमन्त्री पौडेलले माघ १४ गते शुभारम्भ गर्नु भएकोे थियो । तर, दोस्रोपटक शुभारम्भ गरेको आधा वर्ष बितिसक्दा समेत सडकमा काम शुरू नभएको स्थानीय भरत खड्काले गुनासो गर्नुभयो ।

निर्माणको ठेक्का पाएको कञ्चनजंगा विरुवा जेभीले समयमै काम सक्ने प्रतिबद्धता जनाएको थिए । तर, त्यस दिनयता कुनै काम नगरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, व्यापारिक मार्ग विस्तार आयोजना, बेलहिया बुटवल सडकले स्पष्टिकरण सोधेका छ । प्रमुख सडक डिभिजिन बुटवल, व्यापारीक मार्ग विस्तार आयोजना, बेलहिया बुटवलका प्रमुख जयलाल मरासिनीले, म्यादभित्रै निर्माण कार्य सम्पन्न नभए कारबाहीको अर्को विकल्प नभएको स्पष्टिकरण पत्रमा उल्लेख गर्नु भएको छ ।
लामो समय विवादित यो सडक निर्माणको लागि सर्वोच्च अदालतले निर्माण कार्य गर्न मार्ग प्रसस्त गरेपछि सरकारले २०७९ असार मासन्तसम्म म्याद थप गरेको छ । विगतमा घर टहरा नहटेकाले सडक विस्तारको काम हुन सकेको थिएन । हाल घर–टहरा हटाएर ठेकेदारलाई पटक–पटक मौखिक ताकेदा गर्दा पनि काम नगरेपछि कार्यालयले पत्राचार गर्नुपरेको हो । ठेकेदार कम्पनी कन्चनजंगा विरुवा जेभीले ४७ करोड २७ लाखमा ठेक्का लिएको थियो । ८ करोड २६ लाख रुपियाँ एड्भान्स स्वरुप लगेको छ । अब पनि समयमै काम सकिने गरी तत्काल देखिने गरी काम नथाले केही दिनमै ठेक्का भंगसम्म गर्ने र एड्भान्स स्वरुप लगेको रुकम फिर्ता ल्याउने चेतावनी दिएको प्रमुख मरासीनीले बताउनुभयो ।

सडक विस्तारको लागि लकडाउनमै डोजर समेत प्रयोग गरी सडक किनारका घर–टहरा हटाए पनि ठेकेदारको लापरबाहीका कारण निर्माण कार्य अलपत्र भएको हो । घर–टहरा भत्काउने काम गत वर्ष केही समय रोकिए पनि अदालतको आदेशपछि पुनः शुरु गरिएको थियो । यो सडक निर्माणका लागि कञ्चजंगा विरूवा जेभीले २०७३ चैत्र १७ ठेक्का पाएको थियो ।